पदका लागि मरिहत्ते गर्ने पार्टीमा बस्न मन नलागेर एमालेमै फर्किएँ : मुकुन्द न्यौपाने (अन्तर्वार्ता)

पालिका डायरी
२० बैशाख २०८०
पदका लागि मरिहत्ते गर्ने पार्टीमा बस्न मन नलागेर एमालेमै फर्किएँ : मुकुन्द न्यौपाने (अन्तार्वार्ता)

सुनिता विष्ट

 

हेटौंडा / नेकपा (एकीकृत समाजवादी) परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमालेमै फर्किएका छन्। उनी शनिबार नेकपा एमाले प्रवेश गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन्। उनले केही दिनअघि एकीकृत समाजवादी छाडेका थिए।

उनले गत चैत २५ गतेमात्रै पार्टी परित्यागको घोषणा गरेका न्यौपाने एकीकृत समाजवादीमा तेस्रो वरियताका नेता थिए। एमाले टुक्रिएर नेकपा एकीकृत समाजवादी बनेपछि एकीकृत समाजवादीमै लागेका न्यौपाने एमालेमै फर्किएका हुन् । पार्टी परित्याग गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टीको सदस्य हुनुभन्दा देशको असल नागरिक भएर बस्ने उचित हुने निष्कर्ष निकालेको बताएका थिए। यिनै बिषयमा केन्द्रित रहेर न्यौपानेसँग गरेको कुराकानी :

नेकपा एकीकृत समाजवादी छोडेर एमालेमै समाहित हुनुभयो नि, किन ?

नेपालमा २००६ सालमा कम्यिुनिष्ट पार्टी बन्यो। ६ सालमै राणाशासनहरु ढल्यो। अनेक पार्टीहरु अगाडि आए। अहिले ७५ बर्ष भैसक्यो पार्टीहरु बनेको। अहिले संसदीय गणतन्त्रको लागि आन्दोलन भयो। २०६२/०६३ को जनआन्दोलनले गणतन्त्र पनि आयो। तर देश जस्ताको त्यस्तै छ। जनताको आर्थिक स्तर, जीवनस्तर उकालो लाग्ने भन्दा पनि ओराललो लागिरहेको छ। देश संकटको घडिमा छ। यो संकटको घडिबाट देशलाई मुक्त गर्ने हो भने १०/१२ वटा कम्यिुनिष्ट पार्टी बनाएर अध्यक्ष भएर न कम्यिुनिष्टहरु सुध्रिढ भएर जान्छन्। न यो देश अगाडि जान्छ। त्यसैले मैले आजको आवश्यकता, एमालेसँगको एकता र एक देश एक कम्यिुनिष्ट पार्टी भनेर मैले नेकपा एसमा माघको २१/२२ गते पार्टीभित्र फरक मत राखेको थिए। यसलाई छलफलको रुपमा पनि अगाडि बढाएको थिएँ। अब पार्टी यसमा तयार पनि भएन। एकीकृत कम्यिुनिष्ट पार्टी बनाउने भन्दा पनि साना साना कम्यिुनिष्ट पार्टीमै रमाइरहने र पदका लागि मरिहत्ने गर्ने प्रवृत्तिका कारण मलाई एकीकृत समाजवादीमा बस्न मन लागेन। हामी एमालेमै समाहित भयौं।

अलि अगाडि झलनाथ खनाल पनि तँपाई सँगै एमालेमै फर्कनुहुन्छ भन्नुभएको थियो, उहाँ पनि एमालेमा फर्कने सम्भावना कत्तिको छ?
एउटा कुरा के हुन्छ भने जस्ले पद खोज्छ नि, अझै १ नम्बरकै पद खोज्ने मान्छे १० जनाको भएपनि म अध्यक्ष नै हुन्छु भन्ने चाहना हुन्छ कोहि साथीहरुको। मेरो चाहना त्यस्तो होइन, मैले देश र जनताको लागि गर्नुपर्छ भन्ने सोच राख्ने साथीहरु एक ठाउँमा आउँछन्। म अध्यक्ष हुन्छु कि हुन्न। मैले अध्यक्ष पद पाउँछु कि पाउँदिन यस्तो खालको सोच भएका साथीहरु देशकै समस्या हुन्। उहाँले (झलनाथ खनाल) ले चाहिँ के गर्नुहुन्छ म भन्न सक्दिनँ। उहाँसँग मैले पार्टी फुटाउनु उचित होइन भनेर छलफल गरेको थिएँ। यो कुरामा सकारात्मक हुनुहुन्थ्यो। तर पछिल्लो समय मेरो र झलनाथ जीसँग कुरा भएको छैन। त्यसकारण उहाँ तुरुन्तै फर्कनुहुन्छ कि फर्कनुहुँदैन म यो कुरामा जानकार छैन।

नेकपा एसमा तँपाई शिर्ष नेताको तेस्रो वरियताको नेता हुनुहुन्थ्यो, कहीे कुरामा चित्त नबुझेको कि एमालेमै बस्न रहर जागेको ?

मैले यो वरियता मागेको होइन। मलाई वरिष्ठ उपाध्यक्ष जस्ता पद जोड्ने कुरासँग मेरो मनले मान्दैन। हामी जुन देशमा जन्मियौं। हाम्रा बा आमाले हामीलाई हुर्काए। जनताले हामीलाई माथि उठाए। आखिरी हामीलाई माथि उठाउने जनता कहाँ छन् भन्ने नसोच्ने अनि आफूले पद पाउँछु कि पाउँदिन भन्ने मात्रै हिसाबले मात्रै सोच्न थालेँ भने मलाई समयले एक्लो बनाइदिन्छ। त्यसैले पहिलो पार्टी हो । दोस्रो भनेको जनता हो। पार्टी बलियो भए जनतालाई संगठित गर्न सक्छ। पार्टी बलियो भएर जनता बलियो भयो भने देशको रक्षा गर्न सकिन्छ। अहिले देश संकटको भुमरीमा छ। देशका सीमा मिचिन छोडेको छैन। मेरो पद कहाँ रहन्छ? मैले पद पाउँन के गरौं? भन्ने भन्दा पनि पार्टी एकजुट रहेर वर्गिय अवधारणालाई आत्मासाथ गरेर जान हामी सक्छौ कि सक्दैनौं भन्ने ठुलो कुरा हो। हामी एक ठाउँमा उभियौं। जनता र राष्ट्रलाई योगदान गरौं। वरियताको आधारको पछि लागेर नबसौं भनेर म एमालेमा फर्किएको हुँ। एमालेमै बस्न रहर जागेको भन्दा पनि फरक पर्दैन।

डेढ बर्षको अवधिमा एमालेमै फर्कनुभएको छ, कस्तो रहन्छ तँपाईको अबको यात्रा ?

अब हुने चुनावमा एमालेले मलाई लाग्छ अहिले जसरी एमालेको सक्रियता छ। गाउँगाउँमा मिसन ग्रासरुट अभियान चलाएको छ। एमालेसँग जनताको एकता आजको आवश्यकता भन्ने कुरा तलतल सम्म पनि पार्टीको लगेको छ। अब आउँदो चुनावमा एमाले पहिलो हुने मैले देख्दै आएको छु। अब रह्यो एमालेमा मेरो यात्राको कुरा। पहिले देखि नै म एमाले हुँ। मदन भण्डारी देखिको पालामा पनि पार्टीको हितका निम्ती भूमिगत देखि विभिन्न कालखण्ड पार गरेको मान्छे हुँ। पदको लोभ छैन। एमालेमा छु भन्न पाउनु नै गर्वको कुरा हो। अब सशक्त ढंगले एमालेको हितको निम्ती सक्रिय भएर लाग्ने छु।

पछिल्लो समय एमालेमै रहेका केही शिर्ष नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले अवसर नदिएको गुनासो बढिरहेको अवस्थामा तँपाई कहिले एस कहिले एमाले गर्ने व्यक्तिलाई अवसर देलान् त ?

त्यस्तो चर्चा, हल्ला चल्नु गलत हो। एमालेमा रहेका साथीहरुले अवसर नपाएको भन्ने कुरै छैन। एमालेमा उपाध्यक्ष पनि छन्। महासचिव पनि छन्। अध्यक्ष केपी ओली नै छन्। अवसर भनेको कस्तो हो? विभिन्न विभागहरु छन्। त्यो विभागमा पनि धेरै जना सार्थीहरुलाई अवसर दिएका छन्। कुनै पनि मान्छेले आफ्नो क्षमता अनुसार जिम्मेवारी लिन्छ। त्यो जिम्मेवारी पूरा गर्छ। हामी भूगोलमा पर्छौं। कोही जिल्लामा पर्छौं। उनीहरुको हिसाबले हिड्न सक्ने, डुल्न सक्ने जस्तोलाई त्यसै अनुसारको जिम्मेवारी दिन्छन्। मेरो त उमेर र स्वास्थ्यले पनि यसरी जान सक्दिनँ। समय र उमेर अनुसारको पनि जिम्मेवारी हुन्छ। त्यसले गर्दा पनि हामीले के बुझ्नुपर्छ भने ७० बर्षमा रिटायर गर्ने र युवाहरुलाई अगाडि ल्याउँदै लगेर हामी अभिभावम भएर युवालाई राजनीति हस्तान्तरण गर्नुपर्छ। आफ्ना अनुभवहरु सिकाउनुपर्छ भन्ने मेरो मान्यता हो।

तँपाईको गृहजिल्ला मकवानपुरमा तँपाईहरुकै अनुहारको पछि लागेर नेकपा एसमा लाग्नेको संख्या धरै थियो, के अब ती सबै एमालेमै फर्किएलान् ?

अब मकवानपुरमा मात्रै होइन, हरेक जिल्लामा नेकपा एस छोड्नेको लर्को लाग्छ। हिजो पार्टी प्रवेश गर्नेहरुमा पनि स्याङ्जा, कास्की, ललितपुर, रसुवा लगाएतका जिल्लाका साथीहरु धेरै जना जानुभयो। बार र धनुषाका पनि यसअघि धेरै साथीहरु एमाले प्रवेश गरिसक्नुभएको छ। अब एउटै पार्टी बनाउन जो सोच्दैन, त्यो झन् सानो हुँदै जान्छन्। एउटै कम्यिुनिष्ट पार्टी बनाउन हामीेले आत्मासाथ गरेर गएनौं भने पार्टी बिलीन हुन्छ। त्यसकारण मकवानपुरका पनि धेरै साथीहरु बिस्तारै एमालेमै फर्कन्छन्। यसमा कुनै दुईमत छैन।

तँपाईका अनुसार एकीकृत समाजवादीमा रहेका सदस्यहरुलाई एमालेमै फर्काउन तँपाईको भूमिका रहन्छ ?

एमाले बनाउने मदन भण्डारी, मनमोहन अधिकारी सँग सँगै माले बनायौं। मदन भण्डारी र मनमोहन अधिकारी आएपछि २०४७ सालमा एकीकरण गरेर एमाले कमायौं। एमाले भनेको सबैभन्दा पहिलो निर्वाचनबाट आएको प्रधानमन्त्री मनमोहन अधिकारी भएको पार्टी हो एमाले। भनेपछि एमाले आफै लोकप्रिय छ। एमालेप्रतिको लगाव बढेको छ। यसको अर्थमा पनि मैले भूमिका बाँधेर एमालेमा फर्काइरहन पर्छ भन्ने लाग्दैन। विस्तारै बुझ्दै आएपनि आउने भनेको एमालेमै हो। त्यसैले मेरै अनुहार हेरर एमालेमा फर्कन चाहाने पनि नभएका भने होइनन्। एमालेलाई सशक्त बनाउन लाग्ने प्रण गरेको मैले एकीकृत समाजवादीबाट दिक्क भएकाहरुलाई एमालेमा ल्याउने कोसिस भने राख्ने नै छु।

 

 

प्रतिक्रिया
Mukunda-Neupane