चितवनमा सत्ता गठबन्धन र एमाले दुवैको प्रतिस्पर्धी रवि मात्र

पालिका डायरी
२१ चैत्र २०७९, ०९:५३

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ताका क्रममा रोचक दृश्य देखिए। मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको विजय आफ्नो पार्टीको पोल्टामा ल्याउन नेपाली कांग्रेस र नेकपा एमालेका केन्द्रीय नेताहरू नै मनोनयन दर्तास्थलमा पुगे।

उम्मेदवारले मत माग्न भ्याए/भ्याएनन् पत्तो छैन, तर उनीहरूका पक्षमा भोट तान्न चितवन आइपुगेका कांग्रेस र एमालेका नेताहरू रास्वपालाई हराउनैपर्ने भन्दै गर्जिए।

उक्त क्षेत्रमा सत्ता गठबन्धन दलका साझा उम्मेदवार कांग्रेस नेता जितनारायण श्रेष्ठले उम्मेदवारी दिँदै गर्दा उनको पक्षमा माहोल बनाउन पार्टी महामन्त्री विश्वप्रकाश शर्मा चितवन आइपुगेका थिए। उनले श्रेष्ठका पक्षमा मत माग्दै चितवन–२ का १८ हजार मतदाता आफ्नै घर (पार्टी) मा फर्किने दाबी गरे।

गठबन्धन दलको सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सदस्यसमेत रहेका कांग्रेस महामन्त्री शर्माले भने, ‘मंसिर ४ मा एकातिरको व्यवस्थापन गर्दा अर्कोतिर हामी पनि चुक्यौँ होला। तर, वैशाख १० गतेको निर्वाचनबाट चितवन–२ का १८ हजार मतदाता पुरानै घर फर्किँदै छन्।’ शर्माले कांग्रेसका उम्मेदवार श्रेष्ठका पक्षमा मत दिएर रास्वपालाई हराउन अपिल नै गरे।

यता, एमालेबाट चितवन-२ का उम्मेदवार रामप्रसाद न्यौपानेलाई हौसला दिन पूर्वसञ्चार मन्त्रीसमेत रहेका एमाले नेता गोकुल बास्कोटा पनि सोमबार उम्मेदवारी दर्ता स्थलमा आइपुगेका थिए। उनीसँगै उपाध्यक्ष सुरेन्द्र पाण्डेलगायत एमालेका प्रदेश सांसदहरूको पनि उल्लेख्य सहभागिता देखियो। एमालेका नेताहरूले पनि आफ्नो प्रतिस्पर्धी रास्वपा मात्रै रहेको र रास्वपाले मंसिर ४ मा जसरी मत पाउने सम्भावना न्यून रहेको भन्दै आफ्नै जित सुनिश्चित रहेको दाबी गरे।

आफ्ना उम्मेदवारलाई आड-ढाडस दिन केन्द्र र प्रदेशदेखि चितवन ओइरिएका नेताहरू कसरी मतदातालाई आफ्नो वशमा पारौँ भन्ने दाउमा देखिएका छन्। मनोनयन दर्ताकै दिन चितवन क्षेत्र २ को चुनावी माहोल रोचक देखियो। उम्मेदवारी दर्ताकै दिन दलबलका साथ निर्वाचन अधिकृतको कार्यालय आइपुगेका गठबन्धन र एमालेका नेतामा रास्वपा (रवि लामिछाने) सँग पराजय हुने त्रास झल्किरहेको देख्न सकिन्थ्यो।

त्यहाँ निर्वाचन कार्यालयले चार दलका लागि उम्मेदवारी दर्ताको समय छुट्टाछुट्टै निर्धारण गरेको थियो। सबैभन्दा पहिले बिहान १० बजे रास्वपा सभापति लामिछानेकै पालो थियो। यसकारण उनी बिहान १० बजे नै उम्मेदवारी दर्ता गराएर हतारहतार तनहुँतर्फ लागे। चितवन–२ मा उम्मेदवारी दर्ताका लागि रास्वापलाई बिहान १० बजे, नेपाली कांग्रेसलाई दिउँसो २ बजे, नेकपा एमालेलाई दिउँसो ३ बजे र राप्रपालाई अपराह्न ४ बजेको प्रदान गरिएको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एकैचोटि सबै दलका उमेदवार पुगेर भीडभाड नहोस् भनेर त्यसो गरिएको थियो।

प्रतिक्रिया