हेटौंडा विद्युतीय सवारीको माग बढ्दो तर, चार्जिङ स्टेसन नपुगेको गुनासो

पालिका डायरी
२ चैत्र २०७९
हेटौंडा विद्युतीय सवारीको माग बढ्दो तर, चार्जिङ स्टेसन नपुगेको गुनासो

हेटौंडा / पछिल्लो समयमा नेपालका शहरहरुमा विद्युतिय सवारी साधनहरु बाक्लो देखिन थालेको छ। केही समय अघिसम्म विद्युतीय सवारी पनि हुन्छ भन्ने समेत थाहा नभएको मुलुकमा डिजेल, प्रेट्रोलको मुल्य आकाशियपछि मानिसहरुको विद्युतीय सवारी प्रति आकर्षण बढ्दै गएको देख्न सकिन्छ। त्यसोत, प्राइभेट गाडीहरु गुडेपनि सार्वजनिक सवारीकै रुपमा विद्युतीय गाडी चलाउन सरकार समेत असक्षक देखिएको अवस्थामा हेटौंडाका युवाहरुले हेटौंडाबाट मधेस प्रदेशको विरगंज सम्म पुग्नको लागि विद्युतीय गाडि सञ्चालनमा ल्याएका छन्।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा १० बसपार्कबाट पछिल्लो समय मधेस प्रदेशको विरगंज सम्म पुग्ने विद्युतीय भ्यान लाग्ने गरेको छ। डिजल र प्रेट्रोलको मुल्य आकाशिय पछि विद्युतीय सवारी तर्फ आकर्षित भएका गाडी व्यसायी र चालकहरु विद्युतीय गाडीले फाइदै फाइदा पुगेको भन्दै दंग छन्। डिजल गाडी चलाउँदा एक टिपमा ५÷६ हजार सम्म खर्च हुने गरेकोमा विद्युतीय गाडीमा जम्मा ५ देखि ६ सय रुपैंयाले पुग्ने गरेको चालक विकास कार्की बताउँछन्।

हेटौंडा १० बसपार्कमा रहेको छहारी यातायात प्रा.लि बाट विद्युतीय भ्यान विरगंज जानको लागि छुट्छ। वातावरणमैत्री भ्यानमा बसेर यात्रा गर्नको लागि यात्रुहरु पनि उत्साहित देखिने गरेको उनीहरुको अनुभव छ। गाडीमा बस्दा भाइब्रेसन नआउने, डिजल प्रेट्रोलको गन्ध नआउने तथा एसीको समेत सुविधा रहेको विद्युतीय गाडीमा यात्रा गर्न रुचाउनेको संख्या समेत बढिरहेको यातायात कम्पनीको दाबी छ।

‘मैले डिजेल गाडी चलाएको लगभग २५ बर्ष भयो। सुरुवात नै डिजेल गाडीबाटै गरेको हुँ। पछिल्लो समय यो इलेक्ट्रिक गाडी आएपछि यसतर्फ ध्यान गयो,’ कार्कीले भने। उनका अनुसार विरगंज गएर हेटौंडा फर्कदा लगभग ५५ सय ६ हजारको तेल हाल्न पर्ने थियो । तर विद्युतीय गाडी चलाउन थालेपछि अहिले चार्जिङको लागि ५ देखि ६ सय रुपैंया मात्रै खर्च हुने गरेको छ। ‘डजेल हाल्ने पैसाले किस्ता तिर्न पुग्छ। यात्रुहरु पनि गाडी आरामदायी रहेको भन्दै फोन गरी गरी बुक गर्ने गरेका छन्,’ कार्कीले भने।

विद्युतीय गाडीको माग बढेसँगै स्थानीय युवा व्यवसायीको पहलमा चार्जिङ स्टेसन समेत सत्तचालनमा ल्याइएको छ। यात्रीहरुको सहजताको लागि चार्जिङ सेन्टर सञ्चालनमा ल्याउँदा मकवानपुर सहित आसपासका जिल्लाहरुमा समेत विद्युतिय सवारीको माग पनि उत्तिकै बढेको गाडी किनबेच गर्दै आएको इभी कार्स एण्ड मोटर्स हब प्रा.ली को दाबी छ। तर विद्युतीय सवारीको माग बढे अनुसार सरकारले पनि चार्जिङ प्वोइन्टहरु निर्माण गर्न तदारुकता देखाए वातावणमैत्री विद्युतीय सवारी प्रयोगकर्तामा थप सहजता पुग्ने हेटौंडा ११ मा रहेको इभी कार्स एण्ड मोटर्स हब प्रा.लीका म्यानेजर शुलभ श्रेष्ठ बताउँछन्।

‘हामीले अहिले सिजीको केवाईसी ब्राण्ड बेचिरहेका छौं। अहिले यो गाडीको माग अत्याधिक छ। साथै हामीले आफ्नै कम्पनीको चार्जर पनि राखेका छौं। तर अहिले मार्केटको डिमाण्ड अनुसार र गाडीको फ्लो अनुसार चार्जर पुगिरहेको छैन,’ उनले भने। उनका अनुसार यसको व्यवस्थापन सरकारले पनि गरिदिए थप सहजता पनि हुने र वातावरणमैत्री सवारी पनि भित्रने छ।

सार्वजनिक सवारीकै रुपमा प्रयोग हुन थालेको मात्रै होइन, हेटौंडाका केही विद्यालय भ्यानहरुको रुपमा समेत सोही विद्युतीय गाडीहरु गुडाउन थालिएको छ। प्रति युनिट १५ रुपैंयाको दरले शुल्क लाग्ने गरेको छ । एउटा इलेक्ट्रिक गाडीको व्याट्रिको चार्ज फुल हुन लगभग ३० देखि ४५ मिनेट लाग्छ। चितवन, विरगंज लगाएत ठाउँहरुको सेन्टरमा हेटौंडा पर्ने भएकोले विद्युतीय सवारीको चार्ज बाटोमै सकिने समस्यालाई मध्यनजर गरेर चार्जीङ सेन्टर समेत स्थापना हुँदा यात्रीहरुलाई सहजता हुने गरेको छ। यद्यपी, गाडीको संख्या अनुसार भने चार्जिङ सेन्टर कम भएको चालकहरुको गुनासो छ। राज्यलाई फाइदा पुग्ने सवारी तर्फ संघ, प्रदेश र स्थानीय सरकारकै ध्यान जान जरुरी रहेको विद्युतीय सवारी व्यवसायीहरु बताउँछन्।

 

प्रतिक्रिया