श्रृंखलासँगको सम्बन्धबारे सिसनले भने : त्यो अध्याय सकियो, पाना पल्टाइदिनुहोस्

पालिका डायरी
२९ माघ २०७९
श्रृंखलासँगको सम्बन्धबारे सिसनले भने : त्यो अध्याय सकियो, पाना पल्टाइदिनुहोस्

चर्चित भ्लगर सिसन बानियाँले आफ्नो पुरानो सम्बन्धबारे चासो नदिन सबैलाई आग्रह गरेका छन् ।  उनले आफ्नो जीवनको त्यो अध्याय अब समाप्त भइसकेको र पाना पल्टाउन पनि भनेका छन् । उनले इन्टाग्रामको स्टोरीमा यसबारे लेखेका छन् । उनले लेखेका छन्, ‘मानिसको विकास हुन्छ, परिवर्तन अपरिहार्य छ । यो असाध्यै साधारण कुरा हो ।’

सिसनको अघिल्लो सम्बन्ध तोडिएकोलाई धेरैले ठुलै विषय ठानेर उचालिरहेको र यसमा कसैलाई दोष दिइरहेको भन्दै उनले आपत्ति व्यक्त गरेका छन् । उनले भने, ‘यो कुरालाई उनीहरुले बिगारिरहेका छन् । मैले निकै राम्रो समय बिताएँ । त्यो मेरो आफ्नो करियरका लागि छुट्टीको समय जस्तो थियो । यसका धेरै मिठा सम्झना छन् ।’

उनले आफ्नो पछिल्लो सम्बन्धमा रहेको व्यक्तिप्रति कुनै रिस, घृणा नरहेको र जोसँग भए पनि सफलता, खुसी र मुख्यतः शान्तिको चाहना गर्ने पनि बताए ।

उनले यसअघि पनि आफू गहिरो सम्बन्धमा रहेको बताउँदै आफ्ना सबै पूर्व प्रेमिकाहरूप्रति सदैव माया र सम्मान रहिरहने बताए । उनले भने, ‘अहिले म जे छु, त्यो हुनमा उनीहरूको पनि भूमिका छ । सबैप्रति सम्मान छ ।’

उनले अन्तिममा लेखेका छन्, ‘मेरो जीवनको त्यो अध्याय सकियो । पाना पल्टाउनुहोस् ।’

स्मरण रहोस्, सिसन बानियाँ र पूर्व मिस नेपाल शृङ्खला खतिवडाको प्रेमबारे व्यापक चर्चा चलेको थियो । उनीहरूका भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल हुने गर्दथे । यद्यपि, यी दुईले आफ्नो सम्बन्धलाई कहिले पनि आधिकारिक रूपमा भने पुष्टि गरेनन् ।

पछिल्लो समय शृङ्खला अमेरिका गएपछि भने यी दुईको सम्बन्ध चिसिएको खबर निकै फैलिए । यो पोस्टमा सिसनले कसैको नाम नलिए पनि पूर्व सम्बन्धबारे कुरा गर्दा उनले शृङ्खलालाई नै इङ्गित गरेको धेरैले अनुमान गरेका छन् ।

प्रतिक्रिया
sisan-baniya_DjKebeDaWy