बागमतीमा ७० अंकमा लाइसेन्स पाउने व्यवस्थाप्रति पूर्वमुख्यमन्त्री पाण्डेको आपत्ति

बागमती प्रदेशका निर्वमान मुख्यमन्त्री तथा संघीय सांसद राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशमा मंगलबारबाट लागू भएको ७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधि सभामा बोल्दै पाण्डेले मोटरसाइकल, स्कुटर र भ्यानमा ७० नम्बर ल्याए पनि लाइसेन्स पाउने तर ट्रक, बस, डोजरमा भने १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्थाले एउटै सडकमा गाडी चलाउनेसँग दुईथरी लाइसेन्स हुने बताए।
सांसद पाण्डेले प्रतिनिधिसभामा बोल्दै ट्राफिक लाइटमा गाडी गुडाउँदा, युटर्नमा बत्ती नबाल्दा र अस्वाभाविक रुपमा गाडी गुडाउँदा पनि लाइसेन्स दिने मापदण्ड बनेको भन्दै उक्त मापदण्ड माथि आपत्ति जनाएका छन्।
आफू बागमती प्रदेशको मुख्यमन्त्री हुँदा यो निर्देशिका बागमती प्रदेशमा लागू गर्न नमानेको भन्दै यदि लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्ने पाण्डेले बताए।
यो व्यवस्था लागू गर्न सम्पूर्ण मापदण्ड पूरा भएपनि तत्कालिन मुख्यमन्त्री पाण्डेले सहमती नजनाएकै कारण पूरा हुन सकेको थिएन ।
प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठले मंगलबार यो व्यवस्था कार्यान्वयनमा ल्याएका हुन्।
मंगलबार बिहान मुख्यमन्त्री जम्मकट्टेलले राधेराधे स्थित ट्रायल सेन्टरबाट उक्त प्रणालीको शुभारम्भ गरेका थिए भने प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले सतुंगलस्थित ट्रायल सेन्टर ठूलो भर्याङ कार्यालयबाट सेवा शुभारम्भ गरेका थिए।
