रविले प्रचण्डलाई भने- साँझसम्म गृह मन्त्रालय नपाए सरकार छाड्छौं

पालिका डायरी
१७ माघ २०७९, ११:०५
रविले प्रचण्डलाई भने- साँझसम्म गृह मन्त्रालय नपाए सरकार छाड्छौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने भएको छ। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्दै लामिछानेले आफ्नो पार्टीको भागमा परेको गृहमा पुनः नियुक्त गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिएको र सल्लाह गर्छौं भनेपछि उनले आज बेलुकीसम्मको डेडलाइन (समयसीमा) दिएको रविको सचिवालय स्रोतले जनाएको छ।

‘हाम्रो सभापति बेलुकीसम्म निर्णय गर्न प्रधानमन्त्रीलाई भन्नुभएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘हामीलाई गृह मन्त्रालय नदिए आजै बेलुकी पत्रकार सम्मेलन गरेर सरकारमा नरहेको घोषणा गर्छाैं र समर्थन पनि फिर्ता लिन्छौं।’

नागरिकता विवादमा गत शुक्रबार सर्वोच्च अदालतले आदेश दिएपछि उनी मन्त्री, सांसद र सभापति पदबाट बाहिरिएका थिए।

लगत्तै आइतबार नागरिकता लिएका लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फर्किसकेका छन्। यद्यपि उनी गैरसांसद मन्त्रीको रुपमा क्याबिनेट पुनः प्रवेश गर्न दौडधुप गरिरहेका छन्।

सोही विषयमा छलफल गर्न मंगलबार बिहान उनी बालुवाटार पुगेका थिए।

प्रतिक्रिया