रवि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र

पालिका डायरी
१५ माघ २०७९, १३:५८
रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान file photo

सर्वोच्च अदालतको आदेशपछि गैरनागरिक ठहर रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।

२०५० सालमा लिएको नागरिकता त्यागेका उनी अमेरिकी नागरिक भएका थिए। तर २०७५ नेपाल फर्किएका उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन्।

२०५० सालमा लिएर बीचमा त्यागिसकेको नागरिकता नै पेश गरेर उनले नेपाली राहदानी निकालेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए।

त्यसपछि चितवन क्षेत्र नम्बर २ बाट सांसदमा उठ्दा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेश गरेको खुलेको छ। यस्तोमा उनको यो सबै प्रक्रियालाई खारेज गर्दै सर्वोच्चले उनलाई नेपाली नागरिकता लिने प्रक्रिया अघि बढाउन पाउने गरी आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि उनी आइतवार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगे। त्यहाँ उनले नेपाली नागरिकताका लागि निवेदन पेश गरेकाभ हुन्।  यससँगै उनले दोसरो पटक नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेपछि उनले नेपाली नागरिकता लिएका हुन्। उनका सहयोगी प्रकाश सिग्देलले रविको नाममा नागरिकता जारी भइसकेको बताए।

रविले अमेरिकी नागरिकता लिएपछि स्वत: खारेज भएको नेपाली नागरिकता नै प्रयोग गरेकाले उनले सबै पद गुमाएका थिए। चितवन २ बाट निर्वाचित सांसद, गृहमन्त्री र रास्वपा सभापति पदसमेत गुमाएका उनले अब नेपाली नागरिककमा रुपमा सक्रिय हुन सक्नेछन्।

प्रतिक्रिया