एउटै पासोमा झुन्डिएर प्रेमी-प्रेमिकाले गरे देहत्याग !

पालिका डायरी
११ माघ २०७९
एउटै पासोमा झुन्डिएर प्रेमी-प्रेमिकाले गरे देहत्याग !

झापाको कचनकवलका एकजोडी प्रेमी-प्रेमिकाले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेका छन् । परिवारको दबाबमा प्रेम सफल नभएपछि कचनकवल-४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

राजेशकुमार र पवित्रा प्रेम सम्बन्धमा थिए, परिवारले बिहे नगरिदिने भएपछि उनीहरुले एक वर्षअघि भागी बिहे गरे । केटीका परिवारलाई उनीहरूबीचको सम्बन्ध मन परेको थिएन । बिहेपछि पनि उनीहरुलाई परिवारले स्वीकारेन । केटीको परिवारले उनलाई मुद्दामामिला गर्न दबाब दिए । दबाबमा परेर उनले राजेशविरुद्ध प्रहरीमा उजुरी दिइन् । प्रहरीले मिलापत्र गराइदियो अलग-अलग बस्ने शर्तमा ।

युवतीका अभिभावकले छोरी नाबालिग भएको भन्दै आफ्नो घर फर्काएको प्रहरीले बताएको छ । केटाविरुद्ध मुद्दा पर्दा साढे ६ लाख रुपैयाँमा मिलाइएको थियो । मुद्दापछि दुवै आ-आफ्नो घरमा बसेका थिए । तनको दूरी टाढा भए पनि उनीहरूबीचको मनको दूरी टाढा हुन सकेको रहेनछ । परिवार, समाज र कानुनले उनीहरूबीचको तनको दूरी बढाए पनि मनको मायाको पिरामिड थप चुलिँदै गएको थियो ।

परिवार र समाजको आँखा छलेर सोमबार राति उनीहरूले भेटे । तर, आफूहरूको प्रेम विरोधी समाज र परिवारमा कहिले नफर्किने निर्णय गरेर अस्ताए । उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरे ।

परिवारका मानिसले दुई आत्मालाई अलग नगरिदिएको भए उनीहरूको यस्तो दुखद् अन्त्य नहुने कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी बताउँछन् । प्रहरीले पनि उनीहरूको आत्महत्याको कारण प्रेम असफल हुनु नै रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया
Jhapa-death-girls-boys-1024×576-1