लालझाडीका ६ घरबाट ठूलो परिमाणमा अवैध काठ बरामद

पालिका डायरी
९ माघ २०७९, १२:१७
लालझाडीका ६ घरबाट ठूलो परिमाणमा अवैध काठ बरामद

कञ्चनपुरको लालझाडी गाउँपालिकाका वनबाट काठ चोरी–तस्करी बढिरहेको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि सामुदायिक तथा संरक्षित वन क्षेत्रबाट काठ चोरी–तस्करी रोकिएको छैन ।

आइतबार मात्रै डिभिजन वन कार्यालयको टोलीले लालझाडी– ४ देखतभूलीबाट ठूलो परिमाणमा काठ बरामद गरेको छ । स्थानीय ६ घरबाट झन्डै २११.१७ क्युफिट काठ बरामद गरिएको सवडिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरिनारायण यादवले बताए ।

उनका अनुसार चिरानको ७४.८ क्युफिट र गोलिया १३६.३७ क्युफिट बरामद गरिएको हो । सुविता रानाको घरबाट ६.८७ चिरान र ३८.२८ गोलिया, मोती रानाको घरबाट १५.१८ चिरान र ३८.०१ गोलिया, मोलो रानाको घरबाट ३३.७४ चिरान, काली रानाको घरबाट १९.०१ चिरान, विक्रम रानाको घरबाट २७.१४ क्युफिट चिरान र भङगी रानाको घरबाट ३२.९४ क्युफिट गोलिया बरामद भएको बताइएको छ ।

वन, प्रहरी र जनप्रतिनिधिसहितको टोलीले विशेष अपरेसन गर्दै घर, आँगनबाटै काठ बरामद गर्दासमेत शंकास्पद कुनै पनि व्यक्तिलाई पक्राउ नगरिएको विषयमा स्थानीयले वन कार्यालयमाथि शंका व्यक्त गरेका छन् । काठ तस्कर भगाएर काठ मात्रै बरामद गरेर पछि बेवारिसे देखाउने हो कि भन्ने स्थानीयको आशंका छ ।

प्रतिक्रिया