मकवानपुरमा लोप हुँदै खरले छाएका घर, सुनसान बन्दै चौतारी र गोरेटा

पालिका डायरी
५ माघ २०७९

हेटौंडा / पछिल्लो समय मकवानपुरमा ढुङ्गा माटो जडान गरेर माटोले लिपिएका र खरले छाएर चिटिक्क पारेका परम्परागत घर लोप हुँदै गएका छन् । जिल्लाको अत्यन्तै विकट क्षेत्रका घरहरु भन्दा बाहेकका क्षेत्रमा ढुङ्गा माटो र खरले छाएको घरलाई पछिल्लो समय जस्ता, इँटा र सिमेन्टको घरले विस्थापित गर्दै आएको हो ।

खरले छाएका घरहरु हेटौंडा उपमहानगरपालिकाका अधिकांस वडामा छैनन् । त्यसैगरी मकवानपुरगढी, बकैयाँ गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका मनहरी गाउँपालिकाका धेरैजसो वडामा खरले छाएका घरहरु विस्थापित भएका छन् । केही वडा र टोलहरुमा मात्र खरले छाएका घरहरु अहिले पनि देख्न सकिन्छ ।

जिल्लाको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा खरले छाएका घरहरु देख्न सकिन्छ । तर, यी दुइ गाउँपालिकाका धेरै परिवारले जस्ताको छानोको घर छाइसकेका छन् ।

२०७२ सालको बिनासकारी भूकम्पले प्राय सबै पुराना परम्परागत घरहरु भत्किएपछि पुनर्निमार्णको क्रममा बनेका अधिकासं घरहरु इट्टा, सिमेन्ट र जस्तापाताको छानो प्रयोग गरि निमार्ण गरिएको मकवानपुरगढीका स्याम थापा वताउनुहुन्छ । त्यले पनि खरले छाएका घरहरु विस्थापित हुन पुगेका हुन् ।

यस्तै मकवानपुरबाट वैदेशिक रोजगारिको लागि जाने संख्यामा बृद्धि भएको छ । यसले यहाँको आर्थिक अवस्था उकासेकोसँगै नयाँ पक्की घर बन्न थालेका छन् । यस्तै खरको छाना भएका घरहरु दुई तीन वर्षमा मर्मत गरिरहनुपर्ने, खर नै नपाइने, छानो छाउने सीप भएको मिस्त्री नै भेटिन मुश्किल पर्ने भएकाले पनि पुराना परम्परागत घरहरु छाडेर नयाँ आधुनिक किसिमका घरहरु निमार्ण हुने क्रम बढेको हो ।

सडक सञ्जालको विस्तार भएसँगै निर्माण सामग्री गाउँगाउँसम्म पुग्न थाले । सिमेन्ट, छड र इँटा गाउँसम्म पुग्ने भएपछि सबै नागरिकको रोजाइमा सिमेन्टको पक्की घर पर्न गयो । जलवायु परिर्वतनको कारण गाउँमा वर्षातको समयमा समेत पानी कम पर्न थालेपछि घर छाउन प्रयोग गरिने खर उत्पादनमासमेत कमी हुँदै आएको स्थानीय वासिन्दाहरुको भनाई छ ।

गाउँमा खर पाउनै छाडेपछि घर छाउन समस्या एकातिर हुँदै आएको छ भने अर्कोतिर खरको छानो भएको घर आगलागीको हिसाबले अत्यन्तै जोखिम समेत मानिने भएकाले खरको छानो विस्थापत गरेर अन्य विकल्पको खोजीमा लागेको स्थानीय वासिन्दाहरु बताउँछन् । यस्तै परम्परागत ढुङ्गा माटो र खरले छाएको घर स्वास्थ्यको हिसाबले धेरै राम्रो मानिने गरिन्छ ।

परम्परागत घर गर्मीको समयमा चिसो र जाडोको समयमा न्यानो हुँदा ज्येष्ठ नागरिक, बालबालिका र सुुत्केरी महिलालाई धेरै फाइदा पुुग्छने हेटौंडा अस्पतालका डाक्टरहरु वताउँछन् ।

परम्परागत घरहरु मात्र लोप भएनन् । पछिल्लो समय गोरेटा बाटा र चौताराहरु मकवानपुरका गाउँ गाउँमा सुनसान छन् । मकवानपुरको दश वटै स्थानीय तहका चौताराहरु र गोरेटो बाटोहरु सुनसान बन्न थालेका हुन् । तत्काल गाडी आइहाल्ने र चौतारमा कुर्नुपनि नपर्ने, गोरेटो बाटो भएर मुल बाटमै पुग्नु नपर्ने भएपछी गोरेटो बाटोहरु मुल सडक बन्दै गएकाले सुनसान बनेको मनहरी गाउँपालिकाका स्याम सापकोटा वताउनुहुन्छ ।

जनपत्रबाट ।

प्रतिक्रिया
kharako ghar