राज्यको ढुकुटी जोगाउन मन्त्री नबन्ने बताएका मकवानपुरका दीपक सिंह राज्यमन्त्री !

पालिका डायरी
४ माघ २०७९
राज्यको ढुकुटी जोगाउन मन्त्री नबन्ने बताएका मकवानपुरका दीपक सिंह राज्यमन्त्री !

सुनिता विष्ट

हेटौंडा / मकवानपुरबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई हराएर ख्याती कमाएका सिंह उर्जा तथा जलश्रोत राज्यमन्त्रीमा मंगलबार नियुक्त भए । राज्यको ढुकुटी रित्याउन मन्त्री समेत नबन्ने बताएका सिंह सत्तामा पुगेपछि राज्यमन्त्रीमा नियुक्त भए ।

जम्मा दुई वटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा दुवै क्षेत्र लोकतान्त्रिक बाम गठबन्धनको हातबाट फुत्किदा राप्रपाले ३ दशकपछि मकवानपुरमा विजयी भयो । मकवानपुरबाट प्रभावशाली नेताहरु क्षेत्र नम्बर १ मा विजयी भएका सिंह निर्वाचन प्रणालीमा पाचौँ प्रयासमा सफलता मिल्यो । पटक / पटकको हार व्यहोरेका सिंह पाँचौं पटकमा निर्वाचनमा सफल भए । उनको यो पहिलो सफलताले राज्यमन्त्री सम्मको उचाईमा पुर्यायो ।

संघीय संसदमा विजयी भएपछि सिंहले भष्ट्रचार नगर्ने र राज्यको ढुकुटी रित्याउने फोहोरी खेलमा राप्रपा नलाग्ने वचन दिदैं मतदाताहरु सामु भेटघाटमा घरदैलो पुगेका थिए । संघीय संसदमा पुगेर देशमा भैरहेको बेथितीका बिरुद्ध आवाज उठाउने बताउँदै आएका सिंह सत्तामा पुगेपछि राज्यमन्त्रीको पद केहि नबोली लिए । राजसंस्था र हिन्दुराष्ट्रको संरक्षक बनेर चुनावी माहोलमा होमिएका राप्रपा सत्तामा पुगेपछि राजनीतिक खेलमा कमन्युनिष्टहरु सँगै माहोल बनाएर लागिरहेको छ । राज्यको ढुकुटी जोगाउने एजेन्डा बोकेका सिंह केन्द्रमा पुगेपछि त्यो सबै बिर्सिएका त होइनन् ? भन्ने प्रश्नले यतिबेला चर्चा पाइरहेको छ ।

मेयर हारेका सिंह राज्यमन्त्री

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिको मेयर पदमा पराजित भएका सिंह मंगलबार राज्यमन्त्री बने । राम्रो मत प्राप्त गरेकै कारण सत्ता गठबन्धनमा रहेका उम्मेदवारहरूलाई गठबन्धनका उम्मेदवारहरू भन्दा पनि सिंह सँगको भिडन्त चुनौती पूर्ण हुने आकंलन गरिएको थियो । गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा मात्रै सिंहले २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो बनेका थिए । दोस्रोमा रहेको एमालेका उम्मेदवार अनन्त पौडेल भन्दा ३ सय मत मात्रै कम पाएका सिंहले राप्रपाको मात्रै नभई गठबन्धनमा रहेका र एमालेकै मत तानेको राजनीतिज्ञहरूको दाबी छ ।

त्यसोत, गत आम निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई २३ सय ९३ मतले हराउँदै सिंह विजयी भए । सिंह २७ हजार ८ सय १६ मतले विजयी भएका हुन् । उनका प्रतद्वन्द्वी २५ हजार ४ सय २३ मत ल्याएर दोस्रो भएकी हुन् । सूर्य चुनाव चिन्हबाट उम्मेदवारी दिएका कमल थापाले २५ हजार ४ सय २० मत ल्याएर तेस्रो भएका छन् । यस क्षेत्रमा ९१ हजार ४ सय ८६ मत खसेको थियो ।

यस्तो छ राजनीतिक यात्रा

विभिन्न संघसंस्थामा आबद्ध उनी सुरुवातदेखि नै राप्रपाको संस्थापन पक्ष हुन् । ०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका राप्रपाको तर्फबाट उम्मेदवार रहेका उनले प्रत्याशी डोरमणि पौडेलसँग १२ सय मतान्तरले पराजित हुन परेको थियो । त्यस्तै, ०५६ सालको संविधानसभाको निर्वाचनमा समेत राप्रपाबाट उम्मेदवारी दिएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेलसँग लगभग १३ सय मतान्तरले पराजित भएका थिए भने ०७० सालको क्षेत्रीय निर्वाचनमा पनि नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका साथ पराजित हुन परेको थियो ।

त्यस्तै, ०७३/०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फका समेत उम्मेदवार बनेका थिए भने वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर सिंह तेस्रो हुँदै पराजित भएका हुन् । राप्रपाका उम्मेदवार सिंहले २० हजार ३१ मत प्राप्त गरेर पराजित हुन परेको थियो भने मेयरमा विजयी भएकी मीनाकुमारी लामाले २३ हजार ६७ मत पाएकी थिइन् । निर्वाचनमा सिंहको पाँचौँ पटकको सफलता हो ।

को हुन् उर्जा राज्यमन्त्री सिंह ?

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाबाट विजयी हुन् दीपक बहादुर सिंह । बुवा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहको कोखबाट विं.स. २०१५ सालमा धनकुटामा जन्मिएका हुन् उनी । दीपकबहादुर ७/८ वर्षको हुँदा आमाबाबुले उनलाई लिएर हेटौंडा आएका थिए । त्यसयता सिंह परिवारको स्थायी बसोबास हेटौंडा बन्यो ।

माध्यमिक शिक्षा भुटनदेवी विद्यालयबाट लिएका सिंहले विरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका हुन् । दीपकका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण राजनीतिक यात्रामा थिएनन् । तर दीपकको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भयो ।
२४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अनवरत चलिरहेको छ । यस क्रममा विभिन्न संघसंस्थामा आबद्ध उनी सुरुवात देखि नै राप्रपामा आबद्ध छन् । उनी हेटौंडाका सफल उद्योगी व्यवसायी समेत हुन् ।

प्रतिक्रिया