कालो गहुँको खेती हराउँदै, माग धान्न भारतको भर

पालिका डायरी
४ माघ २०७९
कालो गहुँको खेती हराउँदै, माग धान्न भारतको भर

जुम्ला चन्दननाथ नगरपालिका ८ का भैरबहादुर धरालाले कालो गहुँ (उवा)को खेती गर्न छाडेको तीन वर्ष भयो । तीन वर्ष पहिलेसम्म बर्सेनि बारीमा कालो गहुँको खेती गरिरहेका हुन्थे । उनको बारीमा अहिले कालो गहुँको खेती हुँदैन ।

‘कालो गहुँ सुगर फ्री भएकोले अहिले अत्यधिक माग छ । तर लगाउनै छाडेकोले पछुतोमा छु’ उनले भने ‘जुम्लाबाटै व्यापारीले कालो गहुँ प्रतिकेजी २ सय ६० रुपैयाँमा खरिद गरेर लैजान्छन्’ भैरबहादुरले भने, ‘कालो गहुँले पैसा पनि धेरै भित्र्याउन सकिँदो रहेछ ।’ कालो गहुँ जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाको ६० वटा वडामै खेती गरिन्छ । अहिले पनि सिंजा, कनका सुन्दरी, हिमा र पातारासीका किसानले कालो गहुँको उत्पादन गरेर बेचिरहेका छन् । सिंजा २ का टिकराज धितालले गत वर्ष मात्रै जुम्लादेखि १५ क्विन्टल कालो गहुँ खरिद गरेर चितवन पुर्‍याए । उनले किसानलाई घरदैलोमै प्रतिकेजी २ सय ६० रुपैयाँ उपलब्ध गराए । टिकराजले भने, ‘कालो गहुँको देशका शहर र अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ । तर कम उत्पादन भएकोले पुर्‍याउन सकिएको छैन ।’

जुम्लामा सडक पुगेसँगै कालो गहुँको खेती लोप हुँदै गएको स्थानीय बताउँछन् । चन्दननाथ नगरपालिकाको ५ नम्बर वडाले कालो गहुँको निर्यातका लागि दिएको सिफारिस देखाउँदै टिकाराजले भने, ‘कालो गहुँ जुम्लीको लागि राम्रो आम्दानीको स्रोत हो ।’ टिकराजले खरिद गरेर चितवनमा पुर्‍याएको गहुँ विनोद गिरीले जापान, अमेरिका र श्रीलंकाको बजारमा समेत लैजाने गर्छन् । कालो गहुँबाट बियर तथा मदिराजन्य पेय पदार्थ समेत बन्छ । जुम्लाको उत्पादनले माग नधानेकाले भारतबाट खरिद गरेर ल्याउने गरिएको व्यापारीहरुको भनाइ छ । टिकराजले भने, ‘बजारको माग धान्नकै लागि भएपनि बाँकेको रुपैडिहा नाका हुँदै भारतबाट भित्र्याएर नेपाली बजारमा पुर्‍याउन बाध्य छौं । ’

अहिले भने चन्दननाथ ८ कै आउसी रोकाया कालो गहुँको खेती गर्न हौसिएकी छन् । उनले पहिले खाजाको लागि मात्र खेती गर्ने भएपनि अब व्यावसायिक रुपमा खेती गर्न थालेकी हुन् । कालो गहुँ मंसिरमा छरेर जेठ महिनामा उत्पादन भित्र्याइन्छ । कालो गहुँमा उच्च जिंक तत्व, सुगर फ्री हुने भएकाले यसको रोटी मधुमेहका बिरामीका लागि फाइदाजनक हुने बुझाइ छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुने र क्यान्सरका बिरामीलाई पनि फाइदा पुर्‍याउने बताइन्छ ।

कान्तिपुरबाट साभार ।

प्रतिक्रिया