कर्णालीमा आज मुख्यमन्त्रीकाे दाबी पेस हुँदै, एमाले आलाेपालाेकाे अडानमा

पालिका डायरी
२७ पुष २०७९
कर्णालीमा आज मुख्यमन्त्रीकाे दाबी पेस हुँदै, एमाले आलाेपालाेकाे अडानमा

कर्णाली प्रदेश सरकार गठनका लागि आज मुख्यमन्त्रीकाे दाबी पेस हुँदैछ । २१ पुसमा प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीकाे दाबी पेस गर्न आह्वान गरेका थिए ।

आज सहमति जुटाएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी सत्ता गठबन्धनले गरेकाे छ । माओवादी केन्द्रका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले बिहान ११ बजे दलहरूबीच छलफल हुने र साँझ पाँच बजेअगावै माओवादी संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने बताए ।

गठबन्धनमा रहेका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच अझै सहमति जुट्न सकेको छैन । एमालेले आलोपालो सरकार बनाउनुपर्ने अडान लिएको बुझिएको छ ।

माओवादीका शर्मालाई एमालेले समर्थन गरेमात्रै सरकार बनाउने बहुमत पुग्छ । ४० प्रदेशसभा सदस्य रहेकाे कर्णालीमा सरकार गठनका लागि २१ जनाकाे समर्थन चाहिन्छ । माओवादी केन्द्रका १३ र एमालेका १० तथा राप्रपाका एक गरी गठबन्धका पक्षमा २४ सांसद छन् ।

कर्णाली प्रदेशसभामा एक स्वतन्त्रसहित पाँच दलको प्रतिनिधित्व रहेको छ । नेपाली कांग्रेस १४ जना सांसद छन् । यस्तै एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पाटीका एक–एक सांसद छन् । एक जना स्वतन्त्र छन् ।

प्रतिक्रिया