अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट र एप नेपालमा बन्द गर्न निर्देशन

पालिका डायरी
२५ पुष २०७९, १२:५३
अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट र एप नेपालमा बन्द गर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने  व्यवस्था गर्न निर्देशन दिएको हो।

नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ।

‘नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी/नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोवार हालका दिनमा बढ्दै गएको हुँदा अनलाईन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाईन, हाईपर नेटवर्किङ, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्वन्धित वेभसाइट, एप, अनलाईन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी र त्यस्तो वेवसाइट, एप वा अनलाईन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’, सूचनामा भनिएको छ।

प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

 

प्रतिक्रिया