काठमाडौं महानगरले आजबाट एक हप्ता फोहोर नउठाउने

पालिका डायरी
८ पुष २०७९
काठमाडौं महानगरले आजबाट एक हप्ता फोहोर नउठाउने

काठमाडौं / काठमाडौं महानगरपालिकाले आजबाट एक हप्ता फोहोर व्यवस्थापनको काम प्रभावित हुने जनाएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम एक हप्ता रोकिने जानकारी दिएको हो ।

यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेको छ ।

सहरी विकास मन्त्रालयले फोहरका गाडी आवतजावत् गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकालाई केही दिन फोहरका गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागिएको हो ।

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए ।

सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न महानगरले अपिल गरेको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया