कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी

पालिका डायरी
२५ मंसिर २०७९, १२:३८
कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी

कागेश्वरी मनोहरा नगरपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । नगरपालिका कार्यालय अघिल्तिरको सडक वर्षौंदेखि कालोपत्रे नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

चाबेल–साँखुसडक खण्डको थली क्षेत्रको सडकमा समस्या भएको स्थानीय गुनासो छ । यो क्षेत्र नगरपालिकाको ५ नम्बर वडाअन्तर्गत पर्दछ ।

यो क्षेत्रको सडक निर्माणको नाममा वर्षौं काम नभएको स्थानीयको भनाइ छ । स्थानीयहरू नगरपालिकाका मेयर उपेन्द्र कार्की र वडाध्यक्ष शंकर पाण्डेको विरोध गर्दै तालाबन्दीमा उत्रिएका हुन् ।

उनीहरूका अनुसार लामो समयदेखि सडक कालोपत्रे नहुँदा धुलोको समस्या समाधान नभएपछि आन्दोलन गर्नुपरेको राप्रपा नेतृ कुन्ती पोखरेलले जानकारी दिइन् ।

पोखरेलले बर्षौदेखिको समस्या समाधानका लागि नगरपालिकाले पहल नगरेका कारण तालाबन्दीमा उत्रिनु परेको बताइन् । पोखरेलले भनिन्, ‘नगरपालिकाले आफ्नो क्षेत्राधिकार नभएको भन्दै सडकको समस्या समाधान भएन । त्यही भएर स्थानीय तालाबन्दीमा उत्रिएका हुन् ।’

नगरपालिकाले भने उक्त सडक निर्माणको जिम्मा नगरपालिकाको नभई सडक विभागको जिम्मामा भएको बताउँदै आएको छ ।

प्रतिक्रिया