सौर्य ऊर्जाले उज्यालियो पोखरीगाउँ

पालिका डायरी
२१ मंसिर २०७९

जुम्ला / वर्षौंदेखि मनभित्रै उज्यालो सपना गुम्साएर राखेका जुम्ला तिला ७ का मुनबहादुर रोकाया सौर्य ऊर्जाले गाउँ नै झिलीमिली बनेपछि दंग छन् । कहिल्यै पनि बिजुली सपना पूरा नहुने पीडा साँचेर बसेका रोकाया अहिले रातदिन सौर्य ऊर्जाको बिजुली बाल्छन् ।

‘सल्लाको दियालोको भरमा अन्धकार रात काटिन्थ्यो । उज्यालो भनेकै दियालो सम्झेका थियौं । तर सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि वर्षौं देखिएको बिजुली बाल्ने धोको पूरा भएको अनुभूति गर्न थालेका छौं,’ उनले भने, ‘यो गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ ।’

पोखरी गाउँकै धनबहादुर रोकायाले सौर्य ऊर्जाले ऊर्जा दिएको बताए । उनले भने, ‘गाउँ त २४ सैं घण्टा झिलीमिली भयो । त्योसँगै वर्षौंदेखि दियालोले कालो बनिसकेका मनमा समेत उज्यालो अनुभूति गरायो । योभन्दा खुसीको क्षण के हुन सक्छ र ? ‘पोखरी गाउँमा न बिजुली निकाल्ने खोला नै थियो । न त घरै पिच्छे सोलार किनेर बिजुली बाल्ने सपना पूरा गर्ने पैसा नै आउँथ्यो,’ धनबहादुरले भने, ‘गाउँको हुनेखानेले बालेको सोलार बिजुली हेरेर चित्त बुझाइन्थ्यो । मोबाइल चार्ज पनि पनि उसैकोमा दिइन्थ्यो ।’

पोखरी गाउँमा ६० घर छन् । गाउँ नजिकै अर्को गोठीबस्ती छ । वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन् । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पुर्‍याइएको छ । सबै गरेर १ सय २० घरमा बिजुली बालिएको छ ।

प्रतिक्रिया