बञ्चरेडाँडामा सीसीटीभी जडान, मेयर बालेनद्धारा निगरानी

पालिका डायरी
२१ मंसिर २०७९
बञ्चरेडाँडामा सीसीटीभी जडान, मेयर बालेनद्धारा निगरानी

काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनको निगरानी गर्न स्यानिटरी ल्याण्डफिल साइटमा सीसीटीभी जडान सुरु भएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा सीसीटीभी जडान सुरु गरिएको हो ।

महानगर कृषि तथा वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार फोहोर व्यवस्थापनमा गुनासो आउन थालेपछि सिसिटिभी जडान सुरु गरिएको बताइन् । उनका अनुसार ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा भइरहेको सम्पूर्ण गतिविधिबारे महानगरबाटै निगरानी गर्न सकिनेछ । मेयर बालेनले राष्ट्रिय सभागृहस्थित आफ्नै कार्यकक्षबाट निगरानी गर्नेछन् । “आवश्यकता अनुसार टेकु ट्रान्सफर स्टेसनमा सीसीटीभी जडान गरिसकेका छौँ । हाल बञ्चरेडाँडामा जडान भइरहेको छ,” उनले भनिन् ।

उनका अनुसार बञ्चरेडाँडा सीसीटीभी जडान भइसकेपछि मेयरसहित नगरप्रहरी बल, वातावरण विभागले निगरानी गर्नेछन् । विभागीय प्रमुख राई भन्छिन, “पहिलेदेखि पटक–पटक बञ्चरेडाँडामा समस्या आउने गरेको यथावत नै छ । ल्याण्डफिल साइटमा भइरहेको गतिविधिलाई महानगरको निगरानीमा ल्याउनको लागि यो प्रविधि जडान गरिरहेका हौँ ।”

महानगरका अनुसार जडान गर्ने बजेट सुचना प्रविधि विभागबाट छुट्याइएको छ । उपत्यकाको फोहोर व्यवस्थापनमा अहिले कुनै पनि समस्या नआएको उनले बताइन् । “फोहोर व्यवस्थापनमा अहिले कुनै पनि समस्या आएको छैन । दैनिक २०० बढी टिप फोहोर बञ्चरेडाँडामा पुग्छ,” उनले भनिन् ।

विगत १७ वर्षदेखि ल्याण्डफिल साइटमा उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर विसर्जन हुदै आएको छ । प्रभावित क्षेत्र धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिका स्थानीयले सरकारसमक्ष विभिन्न माग राख्दै आएका छन् । सरकारले ०६२ जेठमा तीन वर्षभित्र बञ्चरेडाँडामा अत्याधुनिक ल्याण्डफिल साइट निर्माणका लागि १ हजार ७९० रोपनी जग्गा अधिग्रहण गरेको थियो । जापान सहयोग नियोग (जाइका) को २ अर्ब १० करोड सहयोग खर्चमा ल्याण्डफिल साइत निर्माण भएको थियो ।

महानगरभित्र उत्पादन हुने ६०० मेट्रिक टन फोहोर आफ्नै क्षेत्रमा व्यवस्थापन गर्ने योजना बालेनको छ । अत्याधिनिक फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि महानगरले ६५ करोड बजेट छुट्याएको छ । कुहिने र नकुहिने फोहोर वर्गीकरण, फोहोरबाट मोहोर बनाउने बालेनको चुनावी प्रतिवद्धता छ । उपत्यकाको फोहोरको दिर्घकालीन व्यवस्थापनका लागि जमिन खोज्ने र सरोकारवाला निकायसँग छलफल भइरहेको महानगरले जनाएको छ ।

 

प्रतिक्रिया