समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया ?

पालिका डायरी
२० मंसिर २०७९
सुनसरी-४ मा रोकिएको ठाउँबाटै मतगणना सुरु गर्ने सहमति

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना भोलि मंगलबार सकिने भएको छ। प्रत्यक्षतर्फको मतगणना भने आज नै सकिएको छ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ। सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नम्बर २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी छ।

मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट संख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ। त्यसका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन्।

समानुपातिकतर्फको निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ विधिबाट निर्वाचित हुने उम्मेदवारको प्रभाव परेको हुन्छ। त्यसैले समानुपातिक तर्फको निर्वाचनको लागि सबैभन्दा पहिला निर्वाचित हुने विधिवत् निर्वाचित हुनेको मत परिणामसहितको अन्तिम नतिजा आउनुपर्छ। अन्तिम नतिजा आएपछि समानुपातिकतर्फ आएको सदर मत निकालिन्छ।

यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको ३ प्रतिशतको अंकलाई थ्रेसहोल्ड बनाइन्छ। अहिले प्रतिनिधि सभाको निर्वाचनमा ४७ वटा दलहरुले भाग लिएका छन्। ३ प्रतिशतको अंकलाई थ्रेसहोल्ड अंक निकालेपछि प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका ४७ वटा दलहरुले समानुपातिक तर्फको निर्वाचनमा पाएको मत र थ्रेसहोल्डको अंकसँग तुलना गरिन्छ।

यस्तो तुलनामा थ्रेस होल्डको सीमा पार गरेका दलहरु र सीमा काट्न नसकेका दलहरु विभाजन गरिन्छ। थ्रेस होल्डको सीमा काट्न नसकेका दलहरु समानुपातिक तर्फको निर्वाचनमा विजयी संख्या पाउन अयोग्य हुँदै प्रक्रियाबाट बाहिरिन्छन्।

बाहिरिएका दलसँगै ती दलहरुले प्राप्त गरेको मतसमेत समानुपतिक निर्वाचनमा प्राप्त कुल सदर मतबाट घटाइन्छ। यसरी घटेर प्राप्त भएको मत यसपछि समानुपातिक तर्फको निर्वाचनमा विजयी संख्या पाउन योग्य हुन्छ। यसरी योग्य दल र मतको छनोट हुन्छ।

संघीय संसद्को प्रतिनिधि सभामा विभिन्न समूहको प्रतिनिधित्व हुनेगरी ११० सिट निर्धारण गरिएको छ। थ्रेसहोल्ड पार गरेका दलले पाएको समानुपातिकको मत अनुसार निर्वाचित सिट निकालिन्छ। यसपछि समानुपातिकतर्फको विजयी सिट निकाल्न सेन्ट लग विधि प्रयोग गरिन्छ।

प्रतिक्रिया