महिला नेतृमाथि उपेक्षा : बागमती प्रदेश सभामा पाँचजना मात्रै प्रत्यक्ष निर्वाचित

पालिका डायरी
१९ मंसिर २०७९
महिला नेतृमाथि उपेक्षा : बागमती प्रदेश सभामा पाँचजना मात्रै प्रत्यक्ष निर्वाचित

निर्वाचनको बेला प्रचारप्रसारदेखि मतदाता भेटघाटका लागि पुरुषको तुलनामा महिलाको जमघट धेरै हुन्छ । तर प्रमुख राजनीतिक दलहरूले समेत प्रत्यक्ष निर्वाचनमा महिलालाई उम्मेदवार बनाउने सम्बन्धमा गरिने उपेक्षा रोकिएको छैन । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ठूला राजनीतिक पार्टीहरूले महिलालाई टिकट दिने कार्यमा उपेक्षा गरेका हुन् । फलस्वरूप बागमती प्रदेशमा अघिल्लो निर्वाचनको तुलनामा प्रत्यक्ष तर्फबाट निर्वाचित हुने महिला सांसदको संख्यामा कमी आएको छ ।

अघिल्लो निर्वाचनमा बागमतीमा ६६ वटा निर्वाचन क्षेत्रका लागि ३२ राजनीतिक दल र स्वतन्त्रबाट प्रत्यक्षतर्फ ६३३ जनाले उम्मेदवारी दिएका थिए । जसमा १२ प्रतिशत अर्थात् ७२ जना महिलाको उम्मेदवारी परेको थियो । ६६ जना निर्वाचित हुँदा ५ जना अर्थात् ७ प्रतिशत मात्रै परे । एमालेबाट ४६ जनाले उम्मेदवारी दिएकोमा ३ जना अर्थात् ६ प्रतिशत मात्रै महिला थिए ।

एमालेबाट ४० जना निर्वाचित हुँदा २ जना अर्थात् ६६ प्रतिशत महिला सफल भए । माओवादी केन्द्रबाट २१ जनाले उम्मेदवारी दिँदा ३ जना अर्थात् १४ प्रतिशत मात्रै महिला परेका थिए । माओवादीबाट १५ जना निर्वाचित हुँदा ३ जनै महिला सफल भए ।

कांग्रेसबाट ६४ जनाले उम्मेदवारी दिँदा २ जना अर्थात् ३ प्रतिशत मात्रै महिला परे । ७ जना महिला निर्वाचित हुँदा भर्खरै सम्पन्न निर्वाचनमा हालसम्म ५ जना महिलाले मात्रै प्रत्यक्ष तर्फबाट निर्वाचित भएका छन् ।

संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर, त्यो व्यवस्था राजनीतिक दलहरूले लत्त्याउँदै प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारलाई १० प्रतिशत सम्म पनि पुर्‍याउन सकेका छैनन् । प्रमुख राजनीतिक पार्टीहरूले संविधानले तोकेको समावेशिताको विषयलाई नै कुण्ठित गरेका छन् ।

सडकदेखि सदनसम्म प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्ने चर्को दबाब दिने महिला नेतृहरूको आवाज निर्वाचनका बेला कुण्ठित भइरहेका छन् । लोकतन्त्रात्मक राज्य व्यवस्थामा पुरानै पितृसत्तात्मक शैली हाबी हुनु व्यवस्थामाथिकै प्रहार भएको जानकारहरूको बुझाइ छ । अहिलेको अवस्थामा पुरुषको तुलनामा प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवार कम हुनु लज्जास्पद भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

पाँच जना निर्वाचित
हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मकवानपुर–२ को प्रदेश ‘क’ बाट माओवादी केन्द्रकी कुमारी मोक्तान १९ हजार ८७३ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले १९ हजार ५५१ मत ल्याए। मोक्तान २०७४ मा पनि प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन् ।

काठमाडौं–१० प्रदेश ‘ख’ बाट एकीकृत समाजवादीकी रमा आले मगर ५ हजार ८१८ मत प्राप्त गर्दै विजयी भइन् । उनका प्रतिस्पर्धी एमालेका रामशरण आले मगरले ५ हजार १८८ मत ल्याएर पराजित भए । रमा २०७४ मा पनि प्रदेश सभाको सांसद हुन् । नुवाकोट–१ को प्रदेश ‘क’ बाट माओवादी केन्द्रकी राधिका तामाङले १६ हजार १६९ मतसहित जित हात पारेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेका सुशील कुमार खड्काले ११ हजार ३५० मतमा चित्त बुझाए । तामाङ यसअघि बागमती प्रदेशको उपसभामुख थिइन् ।

त्यस्तै, सिन्धुपाल्चोक–१ को प्रदेश ‘क’ बाट नेपाली कांग्रेसकी मनीषा खड्का १४ हजार ६५२ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले १३ हजार ४९० मत ल्याएर पराजित भए । काठमाडौं–६ को प्रदेश ‘क’ बाट हरिप्रभा खड्गीले ४ हजार ६५६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका निरेशलाल सिंह महर्जन ३ हजार ९३६ मतान्तरले पराजित भए । खड्गी २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएकी थिइन् ।

बागमती प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फका ६६ मध्ये हालसम्मको नतिजाको आधारमा ५ जना मात्रै महिला निर्वाचित भएका छन् । प्रत्यक्ष तर्फ महिलालाई राजनीतिक दलले नपत्याउने प्रमुख कारणले महिलाहरू सत्ताका पुग्नबाट वञ्चित भइरहन परेको परिदृश्यहरू छरप्रस्ट छन् । प्रत्यक्षमा महिलालाई टिकट नदिने र संसद सञ्चालनको लागि समानुपातिकमा नाम राखिदिने प्रवृत्तिको अन्त्य हुन नसक्नुले महिला माथि उपेक्षा भइरहेको मकवानपुरका महिला अधिकारकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया
bagamati pradesh