विद्युतीय कार ल्याउँदै महिन्द्रा, सिङ्गल चार्जमा ४५६ किमिसम्म गुड्ने

पालिका डायरी
१७ मंसिर २०७९
विद्युतीय कार ल्याउँदै महिन्द्रा, सिङ्गल चार्जमा ४५६ किमिसम्म गुड्ने

भारतीय अटाे निर्माता महिन्द्रा एन्ड महिन्द्रा (एम एन्ड एम) ले पूर्ण रूपमा बिजुलीबाट गुड्ने कार ल्याउने भएकाे छ । कम्पनीले आउँदो जनवरी महिनामा ‘एक्सयूभी४००’ माेडलकाे कार बजारमा ल्याउन लागेकाे हाे ।

एक पटकको फुल चार्जमा ४५६ किलोमिटरसम्म गुड्नसक्ने याे कार बेस, ईपी र ईएल गरी तीन फरक भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा एसयूभी फन, फास्ट र फियरलेस मोड रहेका छन् ।

कम्पनीका अनुसार कारमा ३९.४ किलाे वाट आवर क्षमताकाे ब्याट्री दिइएको छ, जसलाई ५० किलोवाटको फास्ट चार्जरले ५० मिनेटभित्र शुन्यदेखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । त्यस्तै यो कारले १५० हर्ज पावर र ३१० एनएमको टर्क उत्पादन गर्ने बताइएकाे छ भने अधिकतम १५० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्छ ।

सुरक्षा सतर्कताका लागि यसमा ६ ओटा एयरब्याग राखिएको छ । साथै अगाडि र पछाडिको पाङ्ग्रामा डिस्कब्रेक दिइएकाे छ । त्यस्तै ७ इन्चको टचस्क्रिनसहित कनेक्टेड कार टेक्नोलोजी फिचर छ ।

यो कारको मूल्यबारे कम्पनीले यकिन जानकारी नदिएपनि भारतीय मिडियाहरूले १८ देखि २० लाख भारूसम्म पर्ने अनुमान गरेका छन् ।

भारतीय बजारमा सर्वाधिक बिक्री हुने टाटा मोटर्स अन्तर्गतको नेक्सन इभीलाई यसले चुनौती दिने अनुमान गरिएको छ । नेपालमा महिन्द्रा ब्रान्डका सवारीसाधन अग्नि ग्रुपले भित्र्याउने गरेको छ । हाल कम्पनीले नेपाली बजारमा इटूओ, इभेरियो लगायतका विद्युतीय कारको बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया