आयुर्वेद उपचारमा आकर्षण बढ्दै, औषधि नहुँदा भने सकस

पालिका डायरी
१७ श्रावण २०७९, १५:३१

सुनिता बिष्ट

हेटौडा / मकवानपुरमा पछिल्लो समय आयुर्वेद स्वास्थ्य उपचारमा बिरामीको अकर्षण बढेको छ । रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो । खास गरेर आयुर्वेदिक उपचारमा मानिसहरुको कमै ध्यान जाने गरेको भए पनि यहाँ भने उपचारमा स्थानीयवासीको चाप बढेको छ । दैनिक रुपमा ६० देखि ८० जनासम्म बिरामी आयुर्वेदिक उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । बिरामीको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ । उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेकताप गर्दै रोगअनुसारको उपचार पद्धति अपनाइएको कार्यालयको भनाइ छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका कविराज डा.नितेश गिरी बताउँछन् ।

एक बर्षमा ९ हजार बढीको सेवा
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा गत आर्थिक बर्ष २०७८÷०७९ मा ९ हजार १ सय ११ बिरामीले आयुर्वेद उपचारको सेवा लिएको केन्द्रको तथ्यांक छ । ४ हजार ५ सय १५ महिला र ४ हजार ४ सय ९५ पुरुषले सेवा लिएको केन्द्रका सूचना अधिकारी अशोक कुमार झा ले जानकारी दिए । आ.व.को पहिलो महिना साउनमा ५ सय ३९ महिला र ४ सय ७४ पुरुष गरी १ हजार १३ जनाले उपचारको सेवा लिएका छन् । त्यस्तै भदौ महिनामा ५ सय ५५ महिला र ५ सय ९३ पुरुष गरी १ हजार ८८, असोजमा ३ सय ८७ महिला र ३ सय ५१ पुरुष गरी ७ सय ३८, कार्तिकमा ३ सय ८० महिला र ५ सय ५ पुरुष गरी ८ सय ८५ ले उपचार गराएका छन् ।
यस्तै मंसिरमा ३ सय ७५ महिला र ३ सय ५१ पुरुष गरी ७ सय २६ ले उपचार गराएका छन् भने पुसमा ४ सय ५ महिला र ४ सय ८९ पुरुष गरी ८ सय ९४, माघ २ सय ७७ महिला र २ सय ८२ पुरुष गरी ५ सय ५९, फाल्गुनमा ३ सय ८ महिला र ३ सय १३ पुरुष गरी ६ सय २१ र चैत्रमा ४ सय २० महिला र ३ सय ५२ पुरुष गरी ७ सय ७२ जनाले उपचारको सेवा लिएको तथ्यांक छ । त्यस्तै बैशाख महिनामा ३सय ५५ महिला र २ सय ८४ पुरुष गरी ६ सय ९, जेष्ठमा ३ सय ३१ म्हिला र ३ सय ७६ पुरुष गरी ७ सय ७ र आर्थिक बर्षको अन्त्य अर्थात असार महिनामा ३ सय ६८ महिला र २ सय ९७ पुरुष गरी ६ सय ६ जनाले उपचारको सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको तथ्यांक छ ।

औषधि अभाव
मानिसहरुको आयुर्वेद औषधि तर्फ केन्द्रित भएता पनि औषधि उपलब्ध नहुँदा भने स्वास्थ्य केन्द्रले चुनौती खेप्न परेको छ । बिषेशगरी ग्याष्ट्रिक, पायल्स, अल्सर तथा बाथ सम्बन्धि रोगका बिरामीहरुलाई दिइने औषधिहरु सकिएको लामो समयसम्म पनि स्वास्थ्य आपूर्ति केन्द्र बागमती प्रदेशले उपल्ध गराउन नसक्दा सेवकग्राहीहरु मरमा परेका छन् । दैनिक ८० को हाराहारीमा उपचार गराउन आउने बिरामीको संख्या घट्दै गएर हालको अवस्थामा ३० देखि ३५ को हाराहारीमा मात्रै बिरामी आउने गरेको हो । एकपटक आएपछि औषधि छैन भन्ने थाहा पाएपछि लामो समय सम्म नआउने प्रमुख कारण बनेको केन्द्रले जनाएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । पछिल््लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । साथै यसको उपचार गराउने बिरामीका संख्या वृद्धि भए पनि औषधि अभावले स्वास्थ्य सेवा प्रभावित हुन पुगेको केन्द्रका सूचना अधिकारी अशोक कुमार झा बताउँछन् । स्वास्थ्य केन्द्रमा उपचार तथा परामर्श लिनेका संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आवश्यकता अनुसार सेवाग्राहीलाई औषधि उपलब्ध गराउन नसकिएको बताइएको छ ।

जनशक्तिको अभाव
आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि जनशक्तिको अभावका कारण कार्यसम्पादनमा सकस भएको कर्मच्ँरीहरु बताउँछन् । केहि समय अघि सम्म ६ जनाले काम गर्दै आइरहेको अवस्थामा लेखा शाखाको कर्मचारीको सरुवा भएपछि स्वास्थ्य केन्द्र हाल ५ जनाले (कार्यालय सहयोगी बाहेक) मात्रै धानिरहेका छन् । बिरामीलाई दिनुपर्ने सेवा देखि औषधि उपचार सम्म सिमित कर्मचारीले धान्नुपर्ने अवस्था रहेको सूचना अधिकारी झा बताउँछन् । ‘सूचना शाखा हेर्नेले अरु थुप्रै कामहरु पनि हेर्न परिरहेको छ । मान्छे थोरै काम धेरै हुनाले हामीलाई काम गर्न पनि उत्तिकै समस्या छ , उनले भने ।’ ‘मैले मात्रै होइन बाँकी ५ जना साथीहरुको हाल पनि उस्तै छ । उपचारमा मात्रै ध्यान लगाएर काम गर्न पाउने स्थिती छैन, उनले भने, ‘कर्मचारीको अभाव छ भन्ने प्रदेश सरकारलाई थाहा छ । तर पनि व्यवस्थापन हुन सकेको छैन । स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रले पनि यसमा ध्यान दिए हुन्थ्यो भन्ने चाहना पनि हो ।

प्रतिक्रिया