सन्तोष सेनको रहर- अनि पुग्यो ‘प्रेमगीत- ३’ मुम्बई सहर

पालिका डायरी
१७ श्रावण २०७९, मंगलवार ११:२८
सन्तोष सेनको रहर- अनि पुग्यो ‘प्रेमगीत- ३’ मुम्बई सहर

बलिउड बजारमा नेपाली फिल्म ‘प्रेमगीत ३’ रिलिजको तयारीमा छ । भारतका हजारभन्दा बढी थिएटरमा लाखौं दर्शकलाई नेपाली फिल्मको परख गराउन तम्तयार छ फिल्म । सेप्टेम्बर २३ बाट रिलिज हुने फिल्मलाई भारतीय दर्शकले सप्रेम माया देलान् कि नदेलान्, त्यो हेर्नै बाँकी छ । तर, बलिउड फिल्मलाई सधैँ ‘वार्म वेलकम’ गरेका नेपाली दर्शकका लागि भने यो उत्सवमय क्षण हो ।

 

भारतका थिएटरहरूमा ‘प्रेमगीत’ आफ्नो गीत बोकेर कसरी पुग्यो ! निर्माता तथा निर्देशक सन्तोष सेनले कसरी फिल्मलाई मुम्बाइका थिएटरमा पुर्‍याए ! यसको अन्तरकुन्तर केलाउन २०७६, चैत २८ मा फर्कनुपर्ने हुन्छ ।

यदि कोरोनाले दुनियाँलाई त्राहीत्राही नबनाएको भए, ०७६, चैत २८ मा हलमा रिलिज भइसक्थ्यो । रिलिजका लागि तम्तयार फिल्म अचानक रोकियो । कोरोनाले ‘प्रेमगीत’ लाई मात्रै होइन, अन्य धेरै फिल्मलाई ठप्प पारिदिएको थियो । फिल्महरू मात्रै होइन, दुनियाँ नै ठप्प भएको थियो । मानिसहरू घरका साँघुरो कोठाहरूमा थुनिएका थिए । मान्छेहरूको सामिप्यताबाट मान्छेहरू नै अलग बनेका थिए ।

त्यो भयानक मानवीय दुःखका बीचमा ‘प्रेमगीत ३’ रोकिनु उस्तो आश्चर्यजनक थिएन । तर, संसारभरका हजारौं फिल्म र निर्माताहरू तनावमा गएका थिए । तनावमा जानेहरूको एक प्रतिनिधि थिए, निर्माता सन्तोष सेन ।

रिलिजका लागि ठिक्क परेको फिल्म रोकिँदै गर्दा सेनले सोचेका थिए, ‘अवस्था सामान्य भएपछि फेरि हलमा लगाउनु त छँदैछ ।’

 

फिल्मको पोस्ट प्रोडक्सको कामलाई थाति राखेर टिभीमा रिमोट चलाउँदै गर्दा उनको नजर भारतीय टिभी च्यानलमा रोकियो । कोरोनाको त्रास र हल्लाले आफ्नो फिल्म नै बिर्सिसकेका सेनले पुराना साउथ फिल्महरू हेरे । प्रोडक्सन भ्यालु कमजोर भएका फिल्महरू हेर्दैगर्दा सेनको दिमागमा हरियो बत्ती बल्यो, ‘यस्तो क्वालिटी नभएका फिल्महरू त भारतको टिभीमा आउँछन् भने मेरो फिल्मलाई यी टिभीमा प्रसारण गर्न किन प्रयास नगर्ने !’

यसो हुँदा संसारभरका दर्शकले नेपाली फिल्मको स्वाद चाख्ने नै भए, साथै नेपाली फिल्म नै नहेरेका दर्शकसम्म फिल्म पुग्ने भयो । सेनको दिमागमा च्वास्स पसेको सोचको भ्रूण हुर्कँदै गयो । अन्ततः सेन ठोस निर्णयमा पुगे, ‘कमसेकम स्याटेलाइट रिलिज भयो भने पनि हुन्छ । एकपटक त प्रयास गरिहेर्छु ।’

रिमोट घुमाउँदै गर्दा जन्मेको सोचलाई आकार दिन निर्णय लिएर मात्रै केही हुनेवाला थिएन । मुम्बईको गल्ली चाहर्नुपर्ने चुनौती सामुन्ने खडा थियो । लाखौं सपनाहरूको सहर, लाखौं असफलताहरूको सहरमा पुगेर फिल्मको स्याटेलाइट रिलिजबारे डिल गर्नु सानो सहरबाट गएका सेनका लागि खुद्रा विषय थिएन । तैपनि अजनवी सहरमा एकपटक कोसिस गरिरहेर्ने ध्येयले नायक प्रदीप खड्का र सेन मुम्बई हान्निए ।

अर्का निर्देशक छेतेन गुरुङ परलोक भइसकेका थिए । अपरिचित र अन्जान मान्छेहरूको सहरमा फिल्म बोकेर गएका सेन र खड्कासित कुनै क्लु थिएन कि कहाँ कसरी पुग्ने ! कसलाई भेटेर डिल गर्ने ! अलमलै अलमलबीच पुगेका सेन र खड्काको दिमागमा आशाको मसिनो सलेदो चाहिँ सल्किइरहेको थियो ।

सन्तोष र खड्काको मुम्बईसम्मको त्यो सफरलाई कुनै फिल्मजस्तो मान्ने हो भने त्यसको मध्यान्तर र क्लाइमेक्स बाँकी नै थियो । भर्खरै ओपनिङ सिन सकिएको थियो ।

टिभीमा फिल्म रिलिज गर्ने अनिश्चित चाह बोकेर मुम्बई पुगेका सेनले एजेन्ट भेट्टाए । उनीहरूलाई फिल्म स्क्रिनिङ गराउनुपर्ने अभिभारा आइपर्‍यो । वितरकलाई देखाउनुपर्ने भयो । फिल्मको दृश्यपानपछि उनीहरूले निक्र्यौल गर्ने थिए, ‘फिल्म चलाउने वा नचलाउने !’

नायक खड्का ‘प्रकाश’ फिल्मको सुटका लागि नेपाल फिरिसकेका थिए । एकातिर सेन र उनका भाइ, अर्कातिर १० जनाको जम्बो टिम छ । दुई पत्रकार पनि छन् । उनीहरू एक एक सिन टिपोट गरिरहेका छन्, कुन कुन मुद्दा छन्, केके कुराले दर्शकलाई खिचिराख्न सक्छ । ‘भुलभुलैया’ जस्ता फिल्म वितरण गरेको मधु इन्टरटेनमेन्टका प्रतिनिधिले फिल्म हेर्न सुरू गरे ।

उनीहरू फिल्म हेरिरहेका थिए, सेन उनीहरूलाई हेरिरहेका थिए । उनीहरूले के भन्लान् ! यदि उनीहरूलाई बोर लाग्यो भने बीचमै रोकेर पुग्यो भन्लान् कि ! छेवैको बान्द्रामा किनारसँग ठोक्किइरहने छालभन्दा ज्यादा हलचल भइरहेका थिए सेन । के थाहा, ‘हम ने देखा, बन्द कर दिजिए’ पो भन्लान् कि !

तैपनि जसोतसो उनीहरूले मध्यान्तरसम्म फिल्म हेरे । मध्यान्तर भयो । फिल्मको क्लाइमेक्स त बाँकी नै थियो । सेनको मनमा उठिरहेको छालजस्तो डरको पनि क्लाइमेक्स बाँकी नै थियो । उनीहरूले गर्ने एक निर्णयले मात्रै सेनलाई शान्त बनाउन सक्थ्यो । मध्यान्तरपछि एक प्राविधिकले मधु इन्टरटेनमेन्टका प्रतिनिधिहरूलाई ‘टी ब्रेक’ लिने कि भनेर सोधे ।

तर, उनीहरूले फिल्म नै निरन्तर हेर्ने बताए । यसले सेनलाई थोरै उत्साहित बनाइदियो । उनीहरू लगातार फोन काटेर फिल्म हेरिरहेका थिए । जब क्लाइमेक्स आयो, उनीहरूको आँखामा पनि आँसु आयो । त्यो सुन्दर क्षणबारे सेन भन्छन्, ‘मैले त फिल्म पचासौं पटक हेरिसकेको थिएँ । उनीहरूको अनुहार हेर्नु थियो मलाई । उनीहरूको आँखामा आँसु देखेपछि लाग्यो, फिल्म मन पराए ।’

यसपछि फिल्मको पोस्ट प्रोडक्सनको काम सुरू भयो । चर्चित कलाकारलाई ल्याएर भ्वइस ओभर गर्न लगाए सेनले । अन्ततः अहिले भारत–नेपाल र संसारभर एकैपटक रिलिजको तरखरमा छ फिल्म ।

टिभीमा फिल्म लगाउन पाए हुन्थ्यो भनेर पुगेका सेनको कथामा यस्तो ट्वीस्ट आयो कि अहिले थिएटरमै रिलिज हुन आँटेको छ ‘प्रेमगीत- ३’ । नेपाल प्रेसको कार्यालयमा सेन अनुहार उज्यालो बनाएर भन्छन्, ‘अहिले त मलाई लागिरहेको छ कि मैले ५० वर्षपछि पाउने सफलता अहिले पाइरहेको छु । त्यहाँको प्रोडक्सन हाउसले हिन्दी भाषामा डब गरेर विश्वभर रिलिज गर्दैछ । मलाई त लाग्छ, हामीमा पनि केही दम रहेछ ।’

दम भएको फिल्म बनाउनेबारे सेन र छेतेन गुरुङको पाँच-सात वर्षअघि नै गफगाफ भएको थियो । छेतेनले भनेका थिए, ‘म पिरियड ड्रामा बनाउँछु । बाइसे, चौबीसे राज्यको कथामा बनाउँछु ।’

त्यतिखेरको छेतेन-सन्तोष संवाद अहिले यस्तो चुनौती मोल्नका लागि रै’छ जस्तो लाग्छ सेनलाई । सेन उत्साह पोख्छन्, ‘विदेशी फिल्मले जस्तो विषय उठान गरेर क्वालिटीको फिल्म बनाउँछौं भनेर चुनौती मोलेका थियौं । अहिले मेरो टिमको मिहेनतले यसरी रिलिज गर्न पायौं ।’

 

‘प्रेमगीत ३’ पिरियड ड्रामा भए पनि यो नित्तान्त काल्पनिक कथा भएको बताउँछन् सेन । लोमान्थाङ लोकेसन हन्टिङमा जाँदा सेनहरूले थाहा पाए, कुनै समय त्यहाँ विष्ट राजाले शासन गर्थे । हिमाली भेगको राज्यमा एक गाउँबाट अर्को गाउँ निकै पर हुन्थ्यो । हिँडेर पनि एक दिन, दुई दिन लाग्थ्यो । जाडो याममा विष्ट राजालाई जनताले करस्वरूप अनाज बुझाउनुपर्थ्यो । उक्त अनाजले राजाले सेनाहरू पाल्थे । सेनाहरूले छिमेकी राज्यबाट हुनसक्ने आक्रमणबाट गाउँलेलाई जोगाउँथे ।

सेनले फिल्ममा त्यही समयको कथालाई क्यास गरेका छन् । साथै हिमालय वरिपरिको कथा भएकाले पनि मधु इन्टरटेनमेन्टलाई मन परेको आँकलन गर्छन् सेन ।

हिमालयको कथा, हिमालमै सुट गर्नुपर्ने । सेन सम्झिन्छन्, ‘हामी सुटमा जाँदा स्थानीयबासी जाडो थेग्न नसकेर तल बेँसी झरेका थिए । खाद्यन्न सबै बोकेर झरेका थिए । तर, हाम्रो डेढ सयजनाको युनिट भने सुटका लागि उक्लिरहेको थियो । उनीहरूले हामीलाई बहुलाएको भने । बानी नभएको मान्छेहरू त्यस्तो जाडोमा टिक्न सक्दैन भने । तर, हामी भने टिकेर फिल्म खिच्ने आँट लिएर गएका थियौं ।’

जाडो यस्तो थियो कि ट्वाइलेटमा पानी उमालेर लानुपर्थ्यो । तातो पानीले नुहाउँदा एकैछिनमा कपालमा बाँकी रहेको पानी वरफ बनिहाल्थ्यो । तैपनि सेनहरूले १२० दिन जति सुट गरे । प्राय फिल्महरू बढीमा ५०-६० दिन मात्रै सुट हुन्छन् । यस्तो दुःख गरेर फिल्म बनाउन किन परेको सेनलाई ? सेनको फिल्मसँगको लगाव र झुकाव के हो ?

सेन सुनाउँछन्, ‘पहिलो त म मीठो दर्शक हो । समयले मलाई यहाँ ल्याइपुर्‍यायो ।’

सेन ‘चंखे, शंखे पंखे’ नामक फिल्मबाट इन्भेस्टरको रूपमा उद्योगमा छिरे । फिल्म निर्माणबारे सामान्य ज्ञानसमेत नबटुली हाम फालेका सेनलाई थाहै थिएन, निर्माताको भूमिका के हो ! पैसा हाल्ने मान्छे नै निर्माता हो त ? पैसा हाल्दैमा निर्माता होइँदैन, फाइनान्सर मात्रै होइन्छ भनेर सेनले पहिलो फिल्मबाट बुझे ।

फिल्म असफल भयो, तर सेनले धेरैथोक सिके । फिल्मको गहिराइमा जान थाले । सेन भन्छन्, ‘पछि प्रेमगीत आउँदा निर्माता हुन लायकको बनेँ । निर्माता बन्नु मेरो चाहना थियो, अहिले त्यसमै लगाव छ ।’

उनले पहिलो फिल्मबाट पाँच सात लाख मात्रै पाएका थिए । तर, पैसा भने डेढ करोड डुबेको थियो । प्रायः नेपाली फिल्ममा लगानी गर्ने निर्माता एक फिल्ममा लगानी गरेर डुबेपछि फिल्म क्षेत्रबाटै लापत्ता हुन्छन् । सेन भन्छन्, ‘डेढ करोड त डुबाइसकेँ । अब एकपटक ट्राइ गर्नुपर्छ । सधैँ ब्याडलक नलाग्ला नि भनेर सोचेर प्रेमगीत बनाएँ !’

‘प्रेमगीत’ सफल मात्रै भएन, अघिल्लो फिल्ममा डुबेको लगानी समेत उठाउन सफल भयो । अहिले ‘प्रेमगीत’कै सिरिज बनाएर बलिउडसम्म पुगेका छन् सेन । यति खुसी र उल्लासको क्षणमा सेनले कसैलाई अत्याधिक ‘मिस’ गरिरहेका छन् भने उनी निर्देशक छेतेन नै हुन् ।

छेतेनलाई आफ्ना लागि ‘देउता’ भनिदिन्छन् सेन । सेनलाई निर्देशक बनाउने पनि छेतेन नै थिए । सेनले छेतेनलाई निर्देशकको बागडोर सम्हाल्ने प्रस्ताव गर्दा उनले भनेका थिए, ‘हजुरले निर्देशन गर्ने हो । म निर्माता भएर पूरा सपोर्ट गर्छु । प्री प्रोडक्सन, फिल्डदेखि पोस्ट प्रोडक्सनमा पनि सपोर्ट गर्छु ।’

तर, ठूलो क्यानभासको फिल्म भएकाले छेतेनले नै दाजुभाइ मिलेर निर्देशन गर्ने प्रस्ताव गरे । र दुवैले संयुक्त रूपमा निर्देशन गरे ।

अहिले रिलिजको संघारमा छेदेनलाई पल प्रतिपल सम्झिरहेका सेन भन्छन्, ‘विश्वभर नेपालीहरू छरिएर रहनुभएको छ । नेपाली फिल्म हिन्दीमा आउँदैछ, उहाँहरूले थिएटरमा गएर हेरिदिन अनुरोध छ । रिलिज गर्ने कम्पनीले नेपाली दर्शक रहेछ भनेर विश्वास गर्छ । र बाँकी नेपाली फिल्मलाई बलिउडको बाटो सहज हुँदै जान्छ ।’

 

प्रतिक्रिया