एसिड पीडितको दुखेसो ः दशक लाग्यो तर पनि सरकारले दिएन क्षतिपुर्ति

पालिका डायरी
११ श्रावण २०७९, १९:४७
एसिड पीडितको दुखेसो

सुनिता बिष्ट

हेटौंडा / हेटौंडाकी बिन्दवासिनी कंसाकार एसिड आक्रमण पीडित हुन् । एसिड आक्रमण भएको झण्डै दशक बित्नै लाग्दा पनि कंसाकारले सरकारले दिने भनेको क्षतिपुर्ति पाउन सकेकी छैनन् । ९ बर्ष पहिले एसिड आक्रमणमा परेकी कंसाकार अझै पनि सरकारकोे क्षतिपुतिको आशामा छिन् । तर एसिड पीडितको पीडा सरकारले अझै पनि सुन्न नसकेको उनको गुनासो छ ।
लगभग ३ बर्ष अघि जिल्ला अदालत मकवानपुरको फैसला अनुसार उपचारमा खर्च भएको क्षतिपुर्ति स्वरुप सरकारले राज्यकोष अनुसारको रकम क्षतिपुर्ति दिने निर्णय गरेको थियो । तर हालसम्म पनि क्षतिपुर्तिको नामको अत्तोपत्तो नभएको कंसाकारले बताइन् ।

एसिडले पोलिएको छालाको उपचार गर्नको लागि अदालतमा सोही समयमा उपचारको लागि खर्च भएको १ करोड १४ लाख ८५ हजार रुपैंया खर्चको बिल समेत पेश गरेकी उनलाई राज्यले १ रुपैंया पनि क्षतिपुर्ति नदिएको उनको गुनासो छ । सरकारले एसिड पिडितलाई उपचारको लागि भनेर दिने घोषणा गरिएको राहत रकम नपाउँदा भने दुख लागेको बताउँछिन् ।
एसिड छ्यापेर भागेका भारतीय नागरिक दिलिपराज केशरी र एसिडका कारण अनुहार मात्रै होइन जिन्दगी नै बिग्रेपछि न्यायको पर्खाइमा रहेकी बिन्दबासिनीको घाउको दुखाई निको हुन त लामो लाग्यो । तर केशरीलाई प्रक्राउ गरेर कानुनको दायरामा उभाइएपछि भने भित्री मनको पीडा निकै हलु·ो भएको उनको भनाइ छ ।
नियम बनाउने तर कार्यान्वयनमा ध्यान नदिने सरकारप्रति मन दुखेको बताउँदै कंसाकारले भनिन् ः ‘उपचारको लागि करोडौं रुपैंया खर्च गर्दा समेत सरकारबाट १ रुपैंया पनि सहयोग प्राप्त हुन सकेको छैन । एसिड पिडितको न्यायको लागि बोलेका बाचाहरु पूरा भैदिए हामी जस्ता पिडितहरुलाई आत्माबिश्वास थप बढ्न सक्छ । जीवन जिउन थप उर्जा मिल्छ । यस बिषयमा सरोकारवाला निकायको भने ध्यान जान जरुरी छ ।’

यसरी घटेको थियो घटना
सानैदेखि आफ्नो बुुवाको व्यवसायमा रुचि राख्ने उनी ९ बर्ष पहिले आफ्नै पसलमा बसिरहेकी थिइन् । उनको बुवाको आफ्नै घरमा भाँडाकुँडाको व्यवसाय छ । कक्षा १२ मा अध्ययनरत उनी फुर्सदको समयमा बुवासँगै पसलमा हुन्थिन् । २० बर्षको उमेरकी कंसाकारको आफ्नै पसलमा बसिरहेकै अवस्थामा उनीमाथी २०७० वैशाख ९ गते एसिड आक्रमण भयो ।
फूपूका छोराको मिल्ने साथीको रूपमा परिचय भएको भारतीय नागरिक दिलिपराज केशरीसँग बिन्दबासिनीको पहिलो भेट उनै फूपूको छोराको विवाहमा भएको थियो । त्यसपछि कहिलेकाहीँ फाट्टफुट्ट भेट भइरहने केशरी फूपूको घरमा बारम्बर आइरहन्थ्यो । केटीहरूसँग बढी नजिकिन खोज्ने स्वभावको केशरी त्यसपछि हेटौँडाको मेनरोडमा अवस्थित बिन्दबासिनीको पसलमा पनि आउन थाल्यो । कलेज जाँदा, ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउन थाल्यो ।
अनावश्यक फोन गर्न थाल्यो । फोनबाटै प्रेम प्रस्ताव राख्न भ्याएको केशरीले एक दिन त विन्दवासिनीलाई विवाहको प्रस्ताव समेत राख्यो । केशरीलाई विन्दवासिनीले आफु ऊसँग विवाह गर्न नसक्ने कुरा बताउँदै सम्झाउने प्रयास गरिन तर, उसले आफुलाई त्यसैगरी प्रस्तुत गर्दै थियो ।
२०७० वैशाख ९ गते आमाबुबाको विवाह भएको दिनलाई भव्य बनाउने तयारी हुँदै थियो । त्यतिबेला एकाएक पसल अगाडि केशरी देखा प¥यो, विन्दवासिनीले नदेखेझैँ गरिन् । महको सानो भाँडोमा एसिड लिएर आएका केशरीले बिर्को खोलेर उनको अनुहारमा छ्यापेर केशरी त्यहाँबाट भाग्यो । विन्दवासिनीको चिच्याहट सुनेर बुबा, आमा, दाइ आत्तिँदै आए । छोरीको अनुहारमा कसैले तेजाब खन्याइ दिएको थाहा पाएका बाबुले रुँदै कराउँदै पानी खन्याउन थाले । त्यो पल सम्झँदा अहिले पनि अत्यास लाग्ने बिन्दबासिनी सुनाउँछिन् ।
एक भारतीय नागरिकको विवाहको प्रस्ताव अस्वीकार गर्दा ९ वर्ष अघि तेजाव आक्रमणमा परी शारीरिक एवं मानसिक चोटले गम्भिर बनेकी विन्दवासिनी न्याय प्राप्तिको लडाइँमा अनवरत लडिरहिन् । अन्ततः दुई बर्ष अघि उनको पीडाले न्याय त पायो । अपराधीलाई प्रहरीको कठघरामा उभाइयो । तर एसिड पिडित कंसाकारलाई सरकारले उपचारको लागि कुनै क्षतिपुर्तिको व्यवस्थापन भने अझै पनि गरेको छैन ।

प्रतिक्रिया
binda