अपवाह फैलाउने होइन निष्पक्ष पत्रकारिता गरौं : प्रधामन्त्री देउवा

पालिका डायरी
६ श्रावण २०७९, १४:१३

हेटौंडा / प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिता निष्पक्ष भएमात्रै मुलुक र लोकतन्त्र बलियो बनाउने बताएका छन् । शुक्रबारबाट हेटौँडामा सुरु नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले निष्पक्ष पत्रकारिताका लागि आग्रह गरे ।

अपवाह फैलाउने समाचार लेख्ने क्रम बढेको बताउँदै उनले भने, ‘त्यसलाई कमजोर बनाउने निष्पक्ष पत्रकारिता अति नै आवश्यक छ ।’ उनले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका लागि भएको विभिन्न चरणको संर्घषमा प्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राजनीतिक स्थायित्वको विषयमा पत्रकारले सदैव कलम चलाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताए । ‘हामी आमनिर्वाचनको तयारीमा छौं । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।
नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रूपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुई हजार जना हेटौंडामा भेला भएका छन् । भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

नेतृत्वको विषयमा दुई खेमामा विभाजन भएर उम्मेदवारी घोषणा सुरु भइरहेको छ । महाधिवेशनमा सहभागी हुन कांग्रेसका शीर्ष नेतृत्व हेटौंडामा आएका छन् ।

प्रतिक्रिया