भारत लैजाँदै गरेको साढे ८ करोड बढीको सुपारी बरामद, तस्करीको आशंका

पालिका डायरी
६ श्रावण २०७९
भारत लैजाँदै गरेको साढे ८ करोड बढीको सुपारी बरामद, तस्करीको आशंका

विराटनगर / विराटनगरहुँदै भारततर्फ लैजान लागिएको ठूलो परिणामको सुपारी प्रहरीले बिहीबार राति नियन्त्रणमा लिएको छ। आठवटा भारतीय ट्रकमा लोड गरिएको साढे आठ करोड रूपैयाँभन्दा बढीको सुपारी प्रहरीले विराटनगर महानगरपालिका–१८ बुधनगरबाट नियन्त्रणमा लिएको हो। बोरामा प्याक गरेर ट्रकमा लोड गरिएको सुपारी भारत लैजान लाग्दा नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

आठवटा ट्रकमा लोड गरिएको दुई हजार छ सय ७८ बोरा सुपारी प्रहरीले नियन्त्रणमा लिएको पुष्टि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गरेका छन्। उनका अनुसार सुपारी दुई लाख १९ हजार पाँच सय ९६ किलोग्राम छ। सुपारी नेपाली आठ करोड ६३ लाख ८१ हजार पाँच सय ६८ रूपैयाँ बराबरको छ। यसको भारतीय मूल्य पाँच करोड ३९ लाख ८८ हजार चार सय ८० रुपैयाँ हुन्छ।

एकैपटक ठूलो परिणाममा भारत लैजाने तयारी हुँदै गर्दा ट्रकसहित सुपारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले सुपारी लोड गरिएको युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका ट्रक नियन्त्रणमा लिएको हो।

प्रजिअ दाहालले तस्करी गरेर भारततर्फ लैजान लागिएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको बताए। उनका अनुसार सुपारीको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने दाहालको भनाइ छ।

प्रहरी स्रोतका अनुसार तेस्रो मुलुकबाट आयात गरिएको सुपारी नेपालकै उत्पादन देखाउँदै तस्करी गरेर भारततर्फ लैजाने गरिएको छ। ठूलो परिणामको सुपारी नेपालको उत्पादन नभएको र तेस्रो मुलुकबाट आयात गरेर भारत लैजान लागिएको हुनसक्ने भन्दै सीमा क्षेत्रका बासिन्दाले सूचना दिएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याएको हो।

भारतले नेपालबाहेकका मुलुकबाट सुपारीको आयातमा प्रतिबन्ध गरेको छ। तर इन्डोनेसिया, थाइल्यान्ड, मलेसियालगायतका मुलुकबाट नेपालमा आयात गरेर खुला सीमाको फाइदा उठाउँदै तस्करीमार्फत भारत पु¥याउने गरिएको स्रोतले बतायो। भारततर्फ तस्करी गर्नकै लागि बर्सेनि ठूलो परिणाममा सुपारी आयात हुने गरेको छ।

नियन्त्रणमा लिइएको सुपारी झापाका व्यापारीको रहेको हुनसक्ने प्रहरीको भनाइ छ। सुपारीका धनी भने प्रहरीको सम्पर्कमा आइसकेका छैनन्। भारततर्फ ठूलो परिणाममा सुपारीको निकासी हुने गरेको छ। त्यति धेरै परिणामको सुपारी नेपालमा भने उत्पादन हुँदैन।

प्रतिक्रिया