छानबिन समितिले पाएन जेठ महिनाको सिसिटिभी फुटेज

पालिका डायरी
२ श्रावण २०७९, ०९:४५

काठमाडौँ / बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानबिन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज उपलब्ध गराको छैन ।

संसदीय समितिले पटक पटक जेठ महिनाको सिसिटिभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सिसिटिभी फुटेज दिन नसकेको हो। ‘जेठ महिनाको सिसिटिभी फुटेज मागेका थियौं तर उहाँहरूले असार महिनाको दिनुभयो,’ समिति सदस्य सरला यादवले भनिन्, ‘जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर समितिलाई अझै दिइएको छैन, हामीले पुनः पत्र पठाएर माग जेठको सिसिटिभी फुटेज माग गरेका छौं ।’ उनका अनुसार जेठ महिनाको सिसिटिभी फुटेज दिनका लागि अर्थ मन्त्रालयका सचिवदेखि कर्मचारीले आनाकानी गरिरहेका छन् ।

सिसिटिभी फुटेज दिन नमानेका सचिव, सहसचिवहरुले १४ जेठको बजेट निर्माण क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई भने अस्वीकार गर्दै आएका छन् ।

‘सिसिटिभी फुटेज नदिए पनि हामीले लिएको बयानमा उहाँहरूले अनधिकृत व्यक्ति आएको विषयलाई नकार्दै आउनु भएको छ,’ सांसद यादवले भनिन्, ‘सिसिटिभी फुटेज नै नभएपछि अनुसन्धान गर्न समितिलाई अप्ठ्यारो परिरहेको छ ।’ उनका अनुसार समितिले सो बारेमा आवश्यक निर्णय लिनका लागि आज पनि छलफल गर्नेछ ।

प्रतिक्रिया