काठमाडाैँ- करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ। अब निचोड निकाल्नेतिर केन्द्रित हुने समिति सदस्यहरूले बताएका छन्।

अनधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी पश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले विशेष समिति गठन गरेको थियो।

समितिलाई कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन दिने कार्यादेश सभामुखले दिएका थिए। समितिले गत मंगलबारबाट मात्रै कार्यप्रारम्भ गरेको थियो। ६ दिनसम्म समितिले अर्थमन्त्रालयका विभिन्न तहका कर्मचारीहरूसँग छलफल गरेको छ।

छानविन समितिमा समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन्।

मानबहादुर विश्वकर्मा समितिमा पछि मिसिएका सदस्य हुन्। सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा विश्वकर्मा गएका हुन्।

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार आइतबार अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग पनि सोधपुछ भयो। आइतबार नै सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ भयो।

उनका अनुसार भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशहरू र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग सोधपुछ भएको थियो।

आइतबार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सिसिटिभीसँग सम्बन्धित काम गर्ने आईटीको इन्जिनियरसँग छलफल गरिएको हाे। त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो। राजश्व सचिवसँगको सोधपुछपछि अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग छलफल सकाएको हो।

अब समितिले आन्तरिक छलफल गर्ने तयारी गरेको छ। यसका लागि सोमबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ। समिति सदस्यहरूका अनुसार निवर्तमान अर्थमन्त्री शर्मालाई नै बोलाएर छलफल गर्ने कार्यसूची पनि छ।