भ्याक्सिनको आशमा कृषक : सरकारको ध्यान नपुग्दा एक जनाकै ६० बाख्राको गर्भ पतन

पालिका डायरी
२९ असार २०७९

हेटौंडा /  हेटौंडा १९ नेवारपानीका एक व्यवसायिक किसान उसमान वाइबाको खोरमा रहेको बाख्राहरु लगभग ६० वटा तुहिए । १ देखि डेढ महिनाको बीचमा यतिधेरै बाख्राहरु तुहिए पछि कुन रोगको कारण यस्तो भएको हो भन्ने पत्ता लगाउन वाइबाले पशु चिकित्सकहरुको सल्लाह लिए । हेटौंडा उपमहानगरपालिकाको कृषि बिषेशज्ञको टोली नै गएर रोग पत्ता लगाएर उपचार गर्ने निधो भयो । सोही अनुसार परामर्श तथा उपचार पनि भयो तर रोगले छोइसकेको बाख्राहरुको बच्चा भने सकुशल जन्मन सकेन । झण्डै डेढ सय भन्दा धेरै बाख्रा रहेका उसमानको खोरका ६० वटा बाख्रा तुहियो ।

केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोशालाले यो बुस्रेलोसिस रोग भएको पुष्टि गरेका पशु विज्ञहरु बताउँछन् । बाख्राहरुमा लाग्ने यो रोगको रोकथामका लागि पीपीआर रोग विरुद्ध जस्तैगरी खोप लगाउन मिल्छ । छिमेकी मुलुक भारतमा यस् रोग विरुद्धको खोप तयार भएको छ तर नेपाल सरकारले बुस्रेलोसिस खोपलाई मान्यता नदिदाँ लाखौंको घाटा व्यहोर्नु परेको कृषक वाइबा बताउँछन् । अघिल्लो बर्षदेखि यस्ता रोगको सामना गर्दै घाटा व्यहोर्दै आएका उनलाई सरकारको ध्यान किसान तर्फ पनि परोस् भन्ने लागेको बताउँछन् ।

एउटा बाख्राले बच्चा जन्माउन ५ महिना लगाउने बताउँदै उनले भने, ‘यो अवधिसम्म बाख्राको पेटमा बच्चा बस्दै बसेको छैन । ३ देखि ४ महिनाको बीचमै बच्चा खेर जाने समस्याहरु देखा परिरहेको छ । मेरो डेढ बर्षको बीचमा ६० वटा बाख्रा तुहियो । जातको बच्चाहरु जन्मन्थ्यो । हामी व्यवसायिक किसानहरुका लागि अझै पनि नेपाल सरकारले केहि गर्न सकेको छैन जस्तो लाग्छ । रोग पत्ता लागेको छ तर उपचार नभएपछि मेरो खोरका बाख्राहरु मात्रै होइन । यहिँ वरिपरीका थुप्रै साथीहरुले पालेका बाख्राहरु पनि तुहिएको छ ।’

यता हेटौंडा उपमहानगरपालिका कृषि तथा पशुपन्छी विकास महाशाखा प्रमुख कमल अधिकारी यो रोग विरुद्धको खोप ल्याउनको लागि पहल भैरहेको तर सफलता पाउन नसकेको बताउँछन् । केहि बर्ष अगाडि देखि भाइरल रोगको रुपमा देखा परेको बुस्रेलोसिस रोगले बाख्रालाई मात्रै असर गर्ने नभएर गाई भैंसी तथा मान्छेमा समेत सर्ने प्रकारको रोग भएको अधिकारी बताउँछन् ।

नेपालमा हालसम्म यो भ्याक्सिनको उपलब्धता नहुँदा मान्छेमा समेत यो रोग सरेको बताउँदै शाखा प्रमुख अधिकारीले भने, ‘हेटौंडा उपमहानगरपालिकामा मात्रै १ हजार भन्दा धेरै बाख्रा, गाई तथा भैंसीमा बुस्रोलेसिस रोगको संक्रमण पुष्टि भएको छ । मान्छेमा पनि महिलाहरुको हकमा ६ देखि ८ महिनामा गर्व तुहिने समस्या देखा पर्ने गरेको पाइएको छ भने पुरुषहरुमा सन्तान उत्पादन क्षमता कम रहने देखिएको पाइएको छ । समस्या जटिल छ । तर समाधानको एउटै उपाय भ्याक्सिन मात्रै हो । जुन ल्याउन सरकारले सकेकै छैन ।’ यद्यपी रोकथामका लागि पहल गरिरहेका उनले बताए ।

के हो बुस्रेलोसिस रोग ?
ब्रुसेल्ला जातिका जिवाणुको संक्रमणबाट विभिन्न जातीका पशुमा गर्भ पतन हुने, अण्डकोष सुन्निने र दुख्ने, जोनीृ सुन्निने, प्रजनन्मा ह्रास आउने र ज्वरो आउने समेतका लक्षण देखाउने रोगलाई बु्रसेलोसिस भनिन्छ । मानिसमा देखिने ब्रुसेलोसिस रोगलाई माल्टा फिवर, अन्डुलेन्ट फिवर पनि भनिन्छ । नेपालमा खास गरी पश्चिमञ्चल क्षेत्रतिर भेडी गोठमा काम गर्नेलाई यो रोग लाग्दा ‘‘कुचे भएको’’ वा ‘‘भेडीगोठको रागले छोएको’’ भन्ने गरेको पाइन्छ ।बु्रसेल्ला जिवाणुका धेरै प्रजाति हुन्छन् र ती प्रजातिहरुले पशुको जात अनुसार संक्रमण गर्ने गर्दछन् र साथै यिनीहरुले मानिसमा पनि संक्रमण गर्न सक्ने क्षमता राख्छ ।

मानिसमा यो रोगको प्रसारण कसरी ?
कांचो दुध पिउनेहरुलाई यो रोग सर्ने सबै भन्दा बढी जोखिम देखिएको छ । यसका अतिरिक्त भेडी गोठमा बस्ने, भेडी गोठाला, गाई भैंसी तथा सुंगुर, बंगुरको स्याहार सुसार गर्ने मानिसहरुमा पनि यो रोग छिटो सर्न सक्छ । कहिले कांही प्रायोगशालामा काम गर्ने व्यक्तिहरु, कृत्रिम गर्भाधान कार्य गर्ने वा पशु उपचारमा संलग्न भेटेरिनरीयन तथा भेटेरीनरी प्राविधिकहरुमा पनि यो रोग सर्ने गरेको पाइएको छ ।

हालसम्म भेटिएका रोगीहरुमा यो रोग रोगी जनावरको सिधा सम्पर्क वा म्युकस झिल्लि वा छालामा भएको घाउ चोटमा संक्रमित जनावरको पाठेघरबाट निस्कने श्राव वा विर्यको सिधा सम्पर्क हुंदा सर्ने गरेको पाइएको छ । यसै कारणले पशुपालक कृषक, भेटेरिनरियन तथा पशु स्वास्थ्य प्राविधिकहरु र पशु वध गर्ने मानिसहरुमा यो रोग सर्ने जोखिम बढी हुन्छ ।

 

प्रतिक्रिया