आज दही चिउरा खाने दिन / राष्ट्रिय धान दिवस

पालिका डायरी
१५ असार २०७९
दही चिउरा खाने दिन / राष्ट्रिय धान दिवस

राष्ट्रिय धान दिवसको पृष्ठभूमि
विसं २०६१ असार १५ गते देखि नेपालमा राष्ट्रिय धान दिवस औपचारिक रूपमा मनाउन थालिएको हो । तर सदियौँ देखि असारको १५ लाई दही चिउरा खाने, धान रोप्ने अनि रोपाई लाई उल्लासका रूपमा सामूहिक रूपमा मनाउने चलन थियो । यस वर्ष १९औँ धान दिवसका रूपमा नेपाल भरि मनाँइदैछ । कृषकहरूको मनोबल उच्च राख्दै कृषि पेसाको समस्या र मुद्धाहरु उपर चिन्तन गर्न यस दिवसको बेग्लै महत्त्व छ ।

रोपाई खेतमा नै गएर दही च्यूरा खाने चलन भएकाले पनि युगौयुगान्तर देखि असार १५ लाई रोपाई को मध्यका रूपमा दही चिउरा खाने दिन पनि भनिएको हो ।

धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महिना कृषि कार्यका लागि विशिष्ट छ । असारको १५ लागेपछि बादलहरू पूर्णरुपले परिपक्व भएर पानीका धाराहरू बर्साउँदछन्, माटोहरू पानीमा रुझेर हिलोको स्वरुप कमलो हुन्छ अनि तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरू रोप्दछौ । यस कारणले पनि होला असारको १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मानिन्छ है । सकेसम्म आज एकफेर धानको बिरुवा अनि हिलोसँग पौँठे जोरी खेलेर हेरौँ, नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट छ है ।

तराईको रोपाई
हिलोसँग खेल्दै, पानीसँग पौँठे जोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेत भित्र छुपु छुपु धान रोप्न छिरेका खेतालाहरूको खाजा पनि खेतमै ल्याइदिइने चलन छ । तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई भनिन्छ, सामान्यतया जल खाईमा गहुँको पिठोको मोटो रोटी र नुन तेल खोर्सानी अचार आदी लगिदिने चलन छ । तराईतिर खेतका मालिक आफैँ धान रोपाईमा खेत आई पुगे भने सबै जना खेतालाले जग्गाधनीलाई हिलो छ्यापेर भगाउने चलन छ ।

असार महिनाको साहित्यिक महत्त्व
आषाढ महिनाको सामाजिक र आर्थिक मात्र नभईकन साहित्यिक महत्त्व पनि उत्तिकै रहेको छ । आषाढे महिनामा पानी पर्‍यो रुझाउने, आषाढे मासमा धान रोपेझैँ खेतमा लगायतका विभिन्न रोमाञ्चक र जनमानसमा प्रचलित गीतहरू पुस्तौँ देखी आषाढको सेरोफेरोमा लेखिएका र गाइएका छन् तथापि पहिले पहिले जस्तो रोपाईका गीतहरू खेतमा लाम लागेर धान रोप्दै सामूहिक रूपमा गीत गाउँदै गरिने धेरै कम मात्र पाइन्छ । यस्ता गीतहरू धान रोप्दै गाइने भएकाले सरल र सुस्तरी गाइन्छ, जसले गर्दा काम गर्ने खेतालाहरूले थकान बिर्सेर धेरै बेरसम्म रमाइलो गर्दै काम गर्न सक्दछन् ।

यस्ता रोपाईहरुको मध्यमा पर्ने आषाढे पन्ध्र एउटा व्यस्तताबिच थकाई मारिने चाड हो, दही चिउरा , आँप लगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने भएका लेनै होला आषाढे पन्ध्रलाई दही चिउरा खाने दिन पनि भनिन्छ । घरमा दुहुनो गाई या भैँसीको दूध आफैले जोरन हाली जमाएर बनाएको दही अनि ढिकी या ओखलमा कुटेको धानको चिउरा लाई सरो वरी बोता या दुना टपरीमा राखी दहीको तरल पदार्थ टपरी बाट नझरोस् भन्दै सन्तुलन मिलाएर खाएको दही चिउराले संसार बिर्साउँदछ ।

आषाढेको झरीले धानको रोपाईं राम्रो होस, त्यो झरीको पानीले हाम्रो दुःख कष्ट पनि बगाओस् अनि धानको बिउँ सँगै एक अर्कासँग माया प्रेम र सद्भावको पनि बीजारोपण गर्न सकौँ, माया बढिरहोस् । घरका छानाहरू पानीका थोपाले बजिरहँदा आशाको सन्देश अनि मायाको प्रवाह होस्, चुहिने छानाहरू टालिँदै जाउन् अनि तुहिने सपनाहरू जागृत हुँदै जाउन् ।

नेपालमा धान खेती
हुन त नेपालको कुल धान खेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध रहेको तथ्याकंले बताउँदछ तर आकाशे पानी अनि रसिलो माटोका कारणले अन्य भूमि पनि धान खेतको प्रतिकुलनै भने छैनन् । अब राष्ट्रिय धान दिवसमा नेपाली हरूमा कृषीकर्म प्रतिको एउटा अठोटको खाँचो छ।

छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौँला
बनाई कुलो लगाई पानी आएर गोडौँला

अब जीवन धान्ने कृषि हैन व्यवसाहीक कृषि गर्ने दिन आएको छ, चामल आयात हैन निर्यातमा उच्च कोटीको देश भनेर नेपाल चिनिने समय आएको छ । इतिहास पल्टाएर हेर्दा १९७० को दशक अघि नेपाल विश्वका थोरै मात्र चामलका निर्यातकर्ता देशहरूमा गनिने पाइन्छ भने गएका केही दशकमा हामी सर्वाधिक आयातकर्ता भएका छौँ । हामी आयात धेरै र निर्यात कम भएकाले व्यापार घाटा सहन गरिरहेकाछौँ र बेलैमा कृषी कर्ममा ध्यान नदिने हो भने यसको परिणाम भविष्यका पुस्ताले भोग्नेछन् । दुई छाक खान र केही मानो बाँड्न सबै नेपालीलाई पुगोस् ।

प्रतिक्रिया