व्यापार घाटा पौने १६ खर्ब

पालिका डायरी
८ असार २०७९, ११:२०
व्यापार घाटा पौने १६ खर्ब

आयातीत वस्तुको आकार बढ्दा मुलुकमा व्यापार घाटा चुलिँदै गएको छ। चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख पुगेको हो। आयात १७ खर्ब ६३ अर्ब पुग्दा निर्यात १ खर्ब ८५ अर्बमात्रै भएकाले २५ प्रतिशतले व्यापारघाटा वृद्धि भएको हो।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको जेठसम्म आयातको आकार बढेर १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख पुगेको छ। यो गत वर्षभन्दा २७.५ प्रतिशतले बढी हो। गत जेठसम्म यस्तो आयात १३ खर्ब ८३ अर्ब ३६ लाख रुपैयाँ थियो।

आयात बढ्दा दिनप्रतिदिन विदेशी मुद्रा सञ्चितिमा परेको दबाब चुनौतीका रूपमा देखिएको छ। अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्य, डलरको भाउ बढ्दा मूल्यवृद्धि चर्किएको पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन्। अब आयातीत वस्तुको परिमाण उही भए पनि कुल रकम चुलिँदा समग्रमा आयातको आकार ठूलो देखिन्छ। यसको मूल्यवृद्धिको मार सबैले खेप्नु परेको छ। सरकारले आयात नियन्त्रणका उपाय अपनाए पनि कम हुन सकेको छैन। विदेशी वस्तु आयात रोक्दा पनि व्यापार घाटा निरन्तर बढिरहेको छ। आपूर्ति मन्त्रालयले १० प्रकारका वस्तु ल्याउन पूर्णरूपमा बन्देज गरेको छ। राष्ट्र बैंकले त्यसअघि नै ४० वटा वस्तु आयात गर्दा शतप्रतिशत र६ वटा वस्तु आयात गर्न एलसी खोल्दा ५० प्रतिशतको मार्जिनको व्यवस्था गरेकोे थियो।

अझ अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा भन्सार दर, अन्तःशुल्कलगायतका शुल्क हेरफेर हुँदा पनि आयात भने समग्रमा नियन्त्रण हुन सकेन। अर्थविद् रामेश्वर खनाल पेट्रोलियम पदार्थको मूल्य बढेकाले पनि आयातको आकार बढेको बताउँछन्। ‘सरकारले आयात नियन्त्रण गर्ने भने पनि तुरन्तै गरेन। कडाइको हल्ला चल्नासाथ धेरै एलसी खुले। त्यसको भुक्तानी जेठमा गयो,’ उनले भने, ‘सो अवधिमा व्यवसायीले चाहिनेभन्दा बढी परिमाणमा स्टक गरेकाले पनि ११ महिनामा व्यापार घाटा बढेको हो।’ उनका अनुसार स्थिति सुदृढ हुने लक्षण छैन। साउनसम्म पनि आयात नियन्त्रण हुन नसके कडाइ गर्नुपर्ने अवस्था आउने उनको तर्क छ।

आयात बढ्नुको अर्को कारण नेपालमा परनिर्भरता बढ्नुले पनि हो। भएका अधिकांश उद्योग पनि चलेका छैनन्। अधिकांश उद्योग आयातीत वस्तुबाट सञ्चालन हुने भएकाले अहिले आयातमा कडाइ हुँदा व्यवसायी मारमा परेको निजी क्षेत्रको भनाइ छ।

तथ्यांकले स्वदेशमै उत्पादन हुने कृषि उपजको आयातसमेत उच्च हुँदै गएको देखाएको छ। ११ महिनामा निर्यात भने १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँको मात्रै भएको छ। गत वर्ष सोही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँको भएको थियो।

निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको छ। तर, निर्यात बढे पनि त्यसबाट नेपाललाई खासै फाइदा पुग्न सकेको छैन। आयातको हिस्सा अधिक हुँदा मुलुकको व्यापार घाटा चुलिँदै गएको विज्ञहरू बताउँछन्। स्वदेशमा उत्पादन हुन नसक्दा व्यापारघाटा दिनप्रतिदिन बढ्दै गएको हो। यद्यपि देशभित्रै कृषिजन्य वस्तु उत्पादनमा जोड दिए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा उत्पादकत्व भने बढ्न सकेको छैन।

प्रतिक्रिया