देशकै कान्छा पालिका प्रमुख भन्छन्, ‘मेरो पहिलो प्राथमिकता कृषि’

पालिका डायरी
७ जेष्ठ २०७९, १४:५८
देशकै कान्छा पालिका प्रमुख भन्छन्, ‘मेरो पहिलो प्राथमिकता कृषि’

पर्साको कालीकामाइ गाँउपालिकाको अध्यक्षमा नवनिर्वाचित सम्भवत देशकै सबैभन्दा कान्छा पालिका प्रमुख हुन् बशीष्ट प्रसाद गुप्ता।

गाँउपालिका प्रमुखमा निर्वाचित हुँदा उनको उमेर २१ वर्ष २ महिना मात्रै पुगेको छ। भारतको देहरादुनस्थित द इण्डियन पब्लिक स्कुलबाट मेट्रिक र पटनाबाट बिबिए अध्ययन गरेका गुप्ता पालिका प्रमुखमा निर्वाचित भएपछि देशभरको उनको चर्चा छ। गुप्ता भन्छन्, ‘मेरो परिवार पहिले देखि नै राजनीतिमा थियो, मलाई पनि राजनीति गरुँ नेता बनु भन्ने चाहना थियो तर यति चाँडै नेता बन्छु भनेर सोचेको थिइन, जनताले भरोसा गरेर मलाई नेता बनाइ दिए।

गुप्ताकी आमा लालसादेवी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाबाट पालिका अध्यक्षमा चुनाव लडेकी थिइन्। तर दुर्भाग्यवश उनी ११९ मतले पराजित भएकी थिइन्। उनै लालसाका छोरा गुप्ता सौभाग्यवश अहिले त्यहिँ दलबाट निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार अजय पटेल कुर्मीभन्दा ११७ मत अन्तरले पालिका प्रमुखमा निर्वाचित हुन पुगेका छन्।

नवनिर्वाचित कान्छा पालिका प्रमुख गुप्ता भन्छन्,‘मेरी आमा यसभन्दा पहिले चुनाव लड्दा कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रका एजेण्डा लिएर जनताकोबीचमा जानु भएको थियो तर दुर्भाग्यवश उहाँले त्यसबेला जित्न सक्नुभएन अहिले म जितेको छु, म मेरी आमाका तीनै भिजनहरु पूरा गर्छु।’

गुप्ता आफ्नो पहिलो प्राथमिकता कृषि र किसानका समस्या सामधान गर्ने रहेको बताउछन्। आफ्नो पालिकाका बहुसंख्यक जनता किसान रहेका कारण किसानका लागि सहज रुपमा बीउबीजन, मल र सिंचाईको सुविधा उपलब्ध गराउने उनी बताउछन्। ‘यहाँका किसान धेरै समस्या र पीडामा छन्, मैले सबैभन्दा पहिले उनीहरुका लागि काम गर्छु, कृषिमा पालिकालाई नमुना पालिका बनाउछु।’ उनको दोश्रो प्राथमिकता सडक र नाला रहेको छ। पालिकाका हरेक गाँउ र टोलमा पक्की सडक र नाला निर्माण गर्ने गुप्ता बताउछन्। गुप्ता भन्छन्,‘यहाँ पानीको निकास नै छैन, थोरै वर्षा भयो भने गाँउ जलमग्न बन्छ, सडक हिलाम्ये हुन्छ, पानीको निकासका लागि पक्की नाला बनाउछु।’ तेश्रो प्राथमिकता स्वास्थ्य क्षेत्रको सुधार रहेको गुप्ता बताउछन्। गुप्ता भन्छन् ‘यहाँ ३/४ वटा स्वास्थ्य केन्द्र त छन् तर बिरामीले सामान्य उपचार पनि पाउदैँनन्, त्यसैले हरेक स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टर राखेर नि:शुल्क उपचार सेवा दिने प्रबन्ध मिलाउछु, ल्याब पनि सन्चालन गराउछु।’ गुप्ताको चौथो प्रामिकतामा युवा र खेलकुद परेको छ। आफैं पनि युवा भएका कारण युवा र खेलकुद क्षेत्रमा आफ्नो रुची रहेको उनी बताउछन्। उनी भन्छन्,‘म आफैं पनि क्रिकेट खेलाडी हुँ, युवाको चाहना अनुसार खेल मैदान बनाउँछु, पालिकामा एउटा क्रिकेट नेट बनाउछु, जिम हल खोल्ने छु।’

जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्याक्तिहरुको सामाजिक सुरक्षाभत्ता वितरणका लागि पालिकामा कर्मचारी नियुक्त गरेर लक्षित वर्गको घरघरमै पुगेर बृद्धभत्ता वितरण गर्ने व्यवस्था मिलाउने पनि गुप्ता बताउछन्।

गुप्ता भन्छन्,‘मैले यी जे-जे काम गर्छु भनेको छु, त्यसका लागि ५ वर्षको समय प्रयाप्त छ। बजेट पनि पुग्छ यदि इच्छाशक्ति हुने हो भने यी सबै योजना र काम सहजै पुरा गर्न सकिन्छ। म मा त्यो इच्छाशक्ति छ त्यसैले म गरेर देखाउछु।’

प्रतिक्रिया