अहिलेसम्म उम्मेदवारले नटेकेको गाउँ

पालिका डायरी
२६ बैशाख २०७९
अहिलेसम्म उम्मेदवारले नटेकेको गाउँ

दोलखा / स्थानीय निर्वाचन आउन केही दिनमात्र बाँकी छ । उम्मेदवार र नेताहरु घरदैलो तथा आमसभामा व्यस्त छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट गाडीको पनि व्यवस्था गरेका छन् ।

निर्वाचनमा एक–दुई मतले पनि उम्मेदवारको भविष्य निर्धारण गर्छ । यतिमात्र नभएर स्थानीय निर्वाचनले नागरिकले आफ्नो सेवा प्रवाहको पहिलो खुड्किलो कस्तो रोज्छन्, त्यसको पनि चासो हुन्छ । उम्मेदवारहरु अनेकौं जुक्ति अपनाएर भए पनि आफ्नो पक्षमा मत तान्ने प्रयास गर्छन् । तर दोलखामा एउटा यस्तो गाउँ छ, जहाँ उम्मेदवारले आजसम्म पाइला टेकेका छैनन् । हरेक पटक त्यहाँ छुट्टै मतदान केन्द्र रहन्छ । हरेक निर्वाचनमा मतदान हुन्छ तर न मतदाताले उम्मेदवार चिन्छन् त न नेताले आफ्ना मतदाता नै ।

विगु गाउँपालिका–१ लप्ची चीनसँग सीमा जोडिएको दुर्गम बस्ती हो । यहाँ ३० घरपरिवारका ६५ जना मतदाता छन् । उम्मेदवार नचिने पनि मतदाताले मताधिकार प्रयोग गर्दै आएका छन् । यहाँको मतदान केन्द्र लुम्नाङ आधारभूत विद्यालय हो । विद्यालय भने कागजमा मात्रै छ ।
अधिकांश गाउँमै चौंरीपालन गरेर बस्छन् । काठमाडौंमा हुने केही नेताका आशिर्वाद लिएर गाउँ हिँडिसके । नेताहरुले काठमाडौं बस्ने तिनै व्यक्तिलाई सिंगो गाउँको भोट माग्छन् । स्थानीय कर्माहुसेर शेर्पाले अहिलेसम्म कुनै नेता गाउँ भोट माग्न नआए पनि आफूहरुले भोट दिने बताए । लामाबगरबाट लप्ची पुग्न २ दिन लाग्छ । लप्ची चीनको सिमाना हो । तर मतदान लुम्नाङमा हुन्छ । लुम्नाङ जाडो सिजनमा बस्ने गाउँ हो । अहिले गर्मी फिरेकाले चौंरी लिएर स्थानीय लुम्नाङको घर बन्द गरेर लप्ची पुगे । लुम्नाङ र लप्चीको यात्रा पनि एक दिनभर लाग्छ । लप्चीबाट लुम्नाङ भोट हाल्न आउन पनि एक दिनको यात्रा गर्नुपर्छ ।

विद्यालय भवन २०७२ को भूकम्पले भत्काएपछि बालबालिकालाई काठमाडौं लगेर पढाउन थालिएको छ । सीमामा बस्ने नागरिक पनि नेपाली नै हो भनेर मत खसाल्ने गरेको उनले सुनाए । भूकम्पपछि चीनतर्फको सीमानाका बन्द भएपछि झनै मर्कामा परेको उनले बताए ।
नाका बन्द भएयता लप्चीका बासिन्दा खाद्यान्न जोहोका लागि लामाबगर झर्ने गर्छन् । एक केजी नुनको एक सय रुपैयाँ भाडा तिरेर लप्ची ढुवानी गर्छन् । खाद्यान्न पनि सोही मूल्यमा ढुवानी हुने गरेको उनले बताए । खाद्यान्न जोहो गर्न लामाबगर झरेका उनले यो पटकको निर्वाचनमा त कोही भोट माग्न आउला भनेर प्रतीक्षामा बसेको बताए । “कोही त यो पाला हाम्रो गाउँमा भोट माग्न आउँछन् होला नि,” उनले भने, “सधैं उम्मेदवार नदेखी भद्रभलादमीको बैठक बसेर कहिलेसम्म भोट हाल्ने ?”

लाप्चीवासीको मुख्य किनमेलको बजार चीनको कुती हो । ३ वर्षदेखि त्यता जान नदिइएको शेर्पाले बताए । कसैले जबर्जस्ती गइहाले चिनियाँ पक्षले दुव्र्यवहार गरेर पठाउने गरेको उनले सुनाए । उक्त क्षेत्रका बासिन्दाको प्रमुख आम्दानीको स्रोत चौंरीपालन हो । मतपत्र लिएर सुरक्षाकर्मी र मतदान अधिकृत चुनाव गराउन चरिकोटबाट हिँडिसके । यो दोलखाको सबैभन्दा दुर्गममा रहेको मतदान केन्द्र हो ।

प्रतिक्रिया