दिन कटाउने ठाउँ फल्चा !

पालिका डायरी
२६ चैत्र २०७८
दिन कटाउने ठाउँ फल्चा !

सल्लाघारी तीनकुनेबाट भक्तपुरतर्फ लागेपछि दूधपाटी, ब्यासी हुँदै कमल विनायक नपुग्दैको अलि उकालो बाटो काटेपछि मूल बाटो पूर्वतर्फ नगइ पश्चिमतर्फ लागेपछि आइपुग्छ महालक्ष्मी मन्दिर । भक्तपुर वडा नं १० मा महालक्ष्मी मन्दिरको आडैमा रहेको छ महालक्ष्मी फल्चा ।

वर्ष ६५ का बाबुकाजी अवाले ढाकाटोपी लगाएर महालक्ष्मी फल्चामा आफ्ना छिमेकी तथा साथीभाइसँग रमाइलो गफिँदै हुनुहुन्छ । ‘घरमा के एक्लै बसिरहनु भनेर यहाँ फल्चामा आएको’ अवाले भन्नुहुन्छ, ‘घरमा एक्लै बस्दा मनमा अनेक कुरा आउँछन् । यहाँ आए सबैसँग भेट पनि हुन्छ अनि मन पनि भुलिन्छ।’

बाबुलालका छोराबुहारी सबै काममा जान्छन् । अनि उहाँलाई र स्कुल जाने नातिलाई पनि दिउँसोको खाजा बिहानै तयार हुन्छ । छोराबुहारी तथा नाति सबै आफ्ना काममा निस्केपछि उहाँ बिस्तारै खाना खाएर फल्चामा आउनुहुन्छ । कहिले मान्छे नहुँदा र अल्छी लाग्दा घरै पनि जानुहुन्छ ।

 

नाति स्कुलबाट आउँदा उहाँ फल्चामै भए साँचो लिन फल्चामै आउँछन् । अनि खाजा खाएर कतै खेल्न जाँदा फेरि हजुरबालाई साँचो दिएर जान्छन् ।

नाती जरेजुले भने आफ्नी नातिनी नै फल्चामा ल्याउनु भएको छ । उहाँ नातिनी हेर्दै तथा आफ्ना दौँतरीसँग गफिइ रहनु भएको छ । नातिनीलाई नेपाल भाषामा यता आउ, उता नजाउ, यसो नगर त्यसो नगर भनिरहनु भएको छ ।

‘अब बुढो भइयाे काम गर्न सकिँदैन । यसो यहाँ फल्चामा आएर नातिनी हेर्यो भने पनि केही काम त हुन्छ । घरको मान्छेले काम गर्न पाउँछन्’ जरेजु भन्नुहुन्छ ।

 

फल्चामा आउँदा उहाँको समय कट्छ, आफ्ना सुखदुःखका कुरा अरुसँग गर्न पाउँदा मन भुल्छ । नातिनी खेलाउने काम पनि हुन्छ । फल्चामा अरु पनि हुने हुँदा सबैले यसोउसो भन्दा नातिनी पनि सजिलै हेरिने तथा नातिनी पनि रमाउने भएका कारण पनि उहाँ फल्चामा आउनुहुन्छ । फल्चा उहाँको घरै अगाडि भएका कारण पनि उहाँलाई बुढेसकालमा समय बिताउन त्यति टाढा र कोही मान्छे खोज्न जानु पनि परेको छैन ।

नानी भोमी पनि महालक्ष्मी फल्चामा अरु दौँतरीसँग आफ्ना खेतबारीका कुरा गर्दै हुनुहुन्थ्यो । ‘छोराबुहारी खेतमा गएका छन् । म काम गर्न सक्दिनँ त्यही भएर यहाँ आएर बसेको’ भोमी भन्नुहुन्छ।

 

आफूले सक्ने बेलामा उहाँ पनि खेतबारीमा काम गर्नुहुन्थ्यो । उहाँको खेत थिमिमा छ । अहिले पनि उहाँका छोराबुहारी खेतमा तरकारी लगाउन जानु भएको छ । अहिले घाम चर्केर पानी नपरेकोमा उहाँको चिन्ता छ ।

रमेश दुवाल फल्चामा बसेर फोनमा कसैसँग कुरा गर्दै हुनुहुन्छ । ‘साथीसँग एउटा कामको विषयमा कुरा गरेको’ दुवाल भन्नुहुन्छ, ‘अहिले यसो एकछिन फुर्सद भएर यहाँ फल्चामा आएको ।उहाँको खास यही नै काम भनेर कुनै विशेष पेसा छैन । मिल्दा जे काम पनि गर्नुहुन्छ । खेतबाट तरकारी र खाने धान आउँछ । अहिले भने बढ्दो सहरीकरणले पानी नहुने तथा खेतमा आउने पानीमा पनि ढल मिसिएर आउने हुँदा उत्पादन त्यति राम्रो हुन नसकेकोमा उहाँको चिन्ता छ ।

 

भक्तपुरमा मेयर सुनिल प्रजापति आइसकेपछि फल्चा, ढुङ्गे धारा तथा पोखरी संरक्षण भएको खुशी देखिनु भएका दुवाल भन्नुहुन्छ, ‘अहिले धेरै काम भएको छ । हामी जस्तो मान्छे पनि फल्चामा बसेर बुढाबुढीसँग कुरा गर्दा रमाइलो लाग्छ।’

रजनी दुवाल आफ्नो सासुआमालाई बच्चा दिन फल्चामा आउने गर्नुहुन्छ। ‘आमाहरु यहीँ बसिरहनु हुन्छ अनि यसो बच्चा हेर्नलाई दिन आएको’ रजनी भन्नुहुन्छ, ‘यहाँ फल्चा हुँदा बुढाबुढीलाई सजिलो भएको छ । सबै आउँछन्, बस्छन् गफ गर्छन् रमाइलो छ ।’

उहाँ पनि यसो कहिलेकाहीँ अल्छी लाग्दा फल्चामा आउनुहुन्छ । यहाँ आउँदा धेरै मान्छे भेटिने तथा गफगाफ गर्दा मनको पिर भुलिने कारण पनि फल्चामा आउने गर्नुहुन्छ रजनी । भन्नुहुन्छ, ‘मेरो त बच्चा छ यसो यहाँ लिएर आयो उसले उसले गरेर सबैले हेरिदिन्छन् सजिलो हुन्छ ।’

फल्चामा केवल बुढाबुढी तथा प्रौढहरु मात्र आएर गफिने गरेको नभइ युवा तथा केटाकेटीहरु पनि आएर खेलिरहेको देखिन्छ । ‘फल्चा बुढाबुढीको लागि मात्र नभएर हामी जस्ता युवाका लागि पनि उपयुक्त छ । यसो साथीभाइसँग कामका तथा अन्य कुरा पनि हुन्छन्’ साथीभाइसँग गफिइ रहनु भएका नरेश श्रेष्ठ भन्नुहुन्छ, ‘साथीभाइसँग भेट्न कि त कतै रेस्टुरेन्ट जानुपर्यो कि अन्त कतै पसलमा जानु पर्यो । यहाँ बसेर गफ गर्दा पैसा तिर्नु परेन । जति बेर बसे पनि भयो।’

 

श्रेष्ठको कुरामा समर्थन जनाउँदै उहाँको साथी विजय दुवाल भन्नुहुन्छ, ‘यहाँ बसेर गफ गर्यो आनन्द छ । अब अहिले एउटा रेस्टुरेन्टमा बसेर गफ गर्दै कफी खायो भने पनि चार/पाँच सय खर्च हुन्छ । सँधै कहाँबाट ल्याउने’ उहाँले भन्नुभयो ।

आफ्ना स्कुले साथीसँग खेल्दै गरेका आर्यन दुवाल भन्नुहुन्छ, ‘हामी स्कुल छुट्टी भएपछि यहीँ आउँछौँ । यहीँ खेल्ने हो । सबै साथीहरु यहीँ आउँछन् ।’

उपत्यकाको मठ, मन्दिर, ढुङ्गेधारा, पाटी, पौवा, सत्तल, संरक्षण, मर्मत र जीर्णोद्वार नहुँदा कति पाताल भए, कति अझै मर्मत तथा जिर्णोद्वारको पर्खाइमा छन् । तर, यस सन्दर्भमा भक्तपुर भने फरक देखिएको छ । उसले आफ्ना ऐतिहासिक सम्पदा संरक्षण, मर्मत गरेर सुन्दर मात्र बनाएको छैन यसलाई आम्दानीको राम्रो स्रोत बनाएको छ । फल्चा (पाटी) जर्गेना गर्दा फल्चा मात्र संरक्षण हुने नभइ फल्चा संस्कृति समेत संरक्षण भएको देखिन्छ ।

फल्चा संस्कृति अर्थात फल्चा (पाटी)मा आफ्ना साथीभाइ, दौँतरी तथा अग्रजसँग बसेर बसिबियाँलो र अन्य पिर, मर्का तथा समस्याका बारेमा आफ्ना कुरा मन मिल्नेसँग राख्नु हो । यसले मन हल्का हुने तथा मानसिक समस्या पनि कम हुने देखिन्छ । अहिलेको भौतिक संसारमा सबैमा भागमभाग तथा दौडादौड छ । कसैलाई कसैको कुरा सुन्ने फुर्सद छैन । यसकारण पनि फल्चा संस्कृतिलाई मानसिक समस्या हुन नदिने एउटा महत्त्वपूर्ण कडीका रुपमा लिने गरिन्छ ।

उज्यालाे बाट

प्रतिक्रिया