सर्लाहीमा दुई पक्षबीच विवाद हुँदा जसपाका प्रमुख सचेतक साह घाइते
सर्लाहीमा बाटो विस्तार गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नम्बर १ का सांसद समेत रहनुभएका प्रमोद साह घाइते हुनुभएको छ ।
आज (शनिबार) बिहान ईश्वरपुर नगरपालिका–६ बयलबास बजारमा बाटोको विषयमा दुई पक्षबीच झडप हुँदा उहाँ घाइते हुनुभएको हो । उहाँकाे टाउकोमा चोट लागेकाे र स्थानीय मेडिकलमा सामान्य उपचारपछि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
उहाँका सुरक्षा गार्डमाथिसमेत कुटपिट भएको स्थानीयले बताएका छन् । गार्डको पेस्तोल पनि खोसिएको छ । बिहान बाटोछेउमा रहेको फुलजोर युवा क्लबको भवन भत्काइएको इलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नम्बर १ का सांसद समेत रहनुभएका प्रमोद साहले उक्त भवन त्यही ठाउँमा नभएर अन्यत्र बनाउनुपर्ने भनेपछि युवाहरू आक्रोसित भएको प्रहरीले जनाएको छ । भवन त्यही ठाउँमा बनाउने वा सार्ने विषयमा युवाहरू विभाजित हुँदा झडप सुरू भएकोथियो ।
अहिले त्याहाँकाे स्थिति सामान्य रहेको प्रहरीले जनाएकाे छ ।