म्यादी प्रहरी भर्ना : मधेश प्रदेशमा पाँचौं दिनसम्म तीन गुणा आवेदन

पालिका डायरी
११ चैत्र २०७८, १२:३९
म्यादी प्रहरी भर्ना : मधेश प्रदेशमा पाँचौं दिनसम्म तीन गुणा आवेदन

आसन्न स्थानीय तह निर्वाचनका लागि मधेश प्रदेशमा म्यादी प्रहरीमा मागभन्दा करिब तीन गुणा आवेदन परेको छ। प्रदेशका सबै जिल्ला प्रहरी कार्यालय अगाडी म्यादी प्रहरीमा भर्ना हुन युवायुवतीको भीड लागेको छ।

आवेदन खुलेको पाँचौं दिनसम्ममा मागको करिब तीन गुणा आवेदन परेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसएसपी योगबहादुर पालले जानकारी दिए। प्रदेशका आठ जिल्लाबाट कुल २१ हजार ६९८ जना माग गरिएकोमा पाँचौं दिनसम्म ५९ हजार ९९० जनाले आवेदन दर्ता गराएका छन्।

पहिलो दिन पाँच हजार २४१, दोस्रो दिन १२ हजार ५०, तेस्रो दिन १४ हजार ९८८, चौथो दिन १५ हजार ४९८ र पाँचौं दिन १२ हजार १२३ जनाले आवेदन दर्ता गराएको प्रवक्ता एसएसपी पालले जानकारी दिए।

 

म्यादी प्रहरीमा सवैभन्दा वढी आवेदन बारा जिल्लामा परेको छ। बारा जिल्लामा १० हजार २०७ जनाले आवेदन दर्ता गराएका छन्। यस्तै, सलार्हीमा नौ हजार १४९, सप्तरीमा आठ हजार ६१, धनुषामा सात हजार ९४८, महोत्तरीमा सात हजार २६०, रौतहटमा पाँच हजार ९७५ सिरहामा पाँच हजार ९१९ र पर्सामा सबैभन्दा कम पाँच हजार ३८१ जनाले आवेदन दर्ता गराएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सात हजार ४५५ महिलाको आवेदन
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका आठवटै जिल्लामा म्यादी प्रहरीमा भर्ना हुने महिलाको संख्या पनि उल्लेख्य छ। बारामा सबैभन्दा धेरै एक हजार ८६२ महिलाले आवेदन दिएका छन्। त्यस्तै सप्तरीमा एक हजार ३२१, सलार्हीमा ९४१, धनुषामा ७५३, सिरहामा ७४०, महोत्तरीमा ७२५, पर्सामा ५७८ र रौतहटमा ५३५ महिलाले आवेदन दर्ता गराएका एसएसपी पालले जानकारी दिए।

प्रतिक्रिया