दोलखा र ललितपुर फुटबलतर्फ सेमीफाइनल प्रवेश, भलिबल खेलमा चितवन प्रथम

पालिका डायरी
३ चैत्र २०७८, २०:३७
फुटबलतर्फ

हेटौंडा / प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ आज भएको खेलमा दोलखा र ललितपुर विजयी भएका छन् । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलको पहिलो क्वाटरफाइनल खेलमा ललितपुर र रामेछापबीच भएको थियो । निर्धारित समयमा गोल नभएपछि ट्राइवेकरमा रामेछापलाई हराउदैं ललितपुर सेमीफाइनल प्रवेश गरेको छ । ललितपुरले ट्राइवेकरमा ४–१ गोलअन्तरले रामेछापलाई पराजित गरेको हो ।

त्यस्तै, दोस्रो खेल दोलखा र भक्तपुरबीच भएको थियो । भक्तपुरलाई ३–१ गोल अन्तरले दोलखाले सेमीफाइनल यात्रा तय गरेको छ । दोलखाका मिलन श्रेष्ठले ३७ मिनेटमा पहिलो गोल गरेका थिए । भक्तपुरका सनिश खड्गीले ४८ मिनेटमा दोलखादाई एक गोल फर्काएका थिए । खेलको दोस्रो हाफमा दोलखाका धिरज खत्रीले ६४ र सञ्जय जिरेलले ९२ मिनेटमा एक÷एक गोल गरेका थिए । गोल सँगै दोलखा सेमीफाइनल प्रवेश गराएका छन् । शुक्रबार दुई खेल हुनेछन् । पहिलो सेमीफाइनल खेल ललितपुर र धादिङबीच हुनेछ भने दोस्रो खेल दोलखा र मकवानपुरबीच हुने छ । खेल नकआउट चरणमा खेलाइएको छ ।

महिला पुरुष दुबै भलिबलमा चितवन प्रथम

चितवनको माडी खेल मैदानमा भएको महिला भलिबल तर्फ चितवन प्रथम भएको छ । विहीबार भएको फाइनल खेलमा रामेछापलाई सोझो सेटमा हराउदैं चितवन प्रथम भएको हो । चितवनले रामेछापलाई २५–१०,२५–१८,२५–११ मा हराएको थियो ।
पुरुष तर्फभने चितवन नै प्रथम भएको छ । आजै भएको फाइनल खेलमा सिन्धुलीलाई सोझो सेटमा हराउदैं प्रथम भएको हो । चितवनले सिन्धुलीलाई २५–२१, २५–२१, २५–१९ मा हराएको थियो । विजेता र उपविजेतालाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे लगायतका व्यक्तित्वहरुले मेडल, नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव सुर्यलाल भण्डारीले बताए । प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

पुरुष क्रिकेटतर्फ

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको जारी क्रिकेट खेलको पहिलो खेलमा सुपर ओभरमा दोलखालाई हराउदैं ललितपुर विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाउदैं १४९ रन बनाएको थियो । खेलमा दोलखाले पनि २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । बराबरी रन पश्चात सुपर ओभर अन्तरगत एक÷एक ओभर खेल्दा दोलखाले १३ रन र ललितपुरले १६ रन बनाउदैं ललितपुर विजयी भएको हो ।

त्यस्तै, दोस्रो खेलमा काभ्रे ९ विकेटले विजयी भएको छ । टस जितेर बलिङ रोजेको काभ्रेलाई सिन्धुपाल्चोकले ५ विकेट गुमाएर १५७ रन बनाएको थियो । काभ्रेले एक विकेट गुमाएर १२.१ ओभरमा १६१ रन बनाएकोे खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताउनुभयो । शुक्रबार दुई खेल हुनेछ । पहिलो खेल भक्तपुर र काभ्रे तथा दोस्रो खेल मकवानपुर र ललितपुरबीच हुने क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् ।

 

प्रतिक्रिया