मनहरीमा साझेदारी मञ्च बैठक सम्पन्न
हेटाैंडा / नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत मनहरी गाँउपालिकामा गठित साझेदारी मञ्चको बैठक गाँउपालिका अध्यक्ष श्री एकराज उप्रती ज्युको अध्यक्षतामा सम्पन्न भएको छ ।
मसिने तथा ज्यामिरे स्थानीय सभाबाट समाधान हुन नसकेका सामाजिक मुद्धाहरुलाई समाधान गर्न सकियोस भन्ने उद्धेश्यले गठन भएको साझेदारी मञ्चको बैठकमा मसिने स्थानीय सभाका सदस्य माधव गौतमले मसिने स्थानीय सभाबाट उठाईएको काठेपुलको सन्र्दभबाट हाल साविक हाँडिखोला अन्र्तगत बन्दै गरेको ५ वटा पक्की पुलको योजनाको निम्ती पालिकालाई धन्यवाद दिँदै मनहरी गाँउपालिका अन्र्तगतका सामुदायीक विद्यालयहरुले भोग्दै आएका शिक्षक व्यवस्थापन तथा विद्यालय व्यवस्थापनका पाटाहरुमा गाँउपालिकाको ध्यान जानु पर्ने बताए ।
साथै उक्त बैठकमा ज्यामिरे स्थानीय सभाका संयोजक केदार प्रसाद बर्तौलाले मनहरी गाँउपालिकाका जनताले आरक्षका बन्यजन्तुले आम कृषकका वालीनाली नष्ट गर्ने, वस्तुभाउको नास गर्ने गरेको र क्षतिपुर्ती पाउन नसकेकोमा पालिकाले यस विषयमा ध्यान दिनु पर्ने बताए । साथै राप्ती किनारका नम्मरी जग्गावालाले आफ्नो जग्गा समेत भोग चलन गर्नमा आरक्षले अवरोध गर्ने गरेको, विकास निर्माण कार्यका लागी गिटी वालुवा चाहिनेमा हाल सबै बन्द रहेको र उक्त कार्यले समग्र विकास निर्माण कार्य अवरुद्ध भएको, पारस्परिक जवाफदेहिता परियोजनाले संचालन गरेको स्थानीय सभा तथा साझेदारी मञ्च संचालन सम्बन्धी कार्यविधि निर्माण गरि पालिकाले अपनत्व लिनु पर्ने बताए ।
मनहरी गाँउपालिकाका कार्यकारी अधिकृत, सबै वडाका अध्यक्षहरु र कार्यपालिका सदस्यहरु समेत सहभागी रहेको उक्त बैठकमा गाँउपालिका अध्यक्षले मनहरीमा यस किसिमका समुदाय स्तरको मुद्धाहरु पालिका सम्म ल्याउन नागरिक फोरमको काम यस मञ्चले गरेको बताउँदै यस मञ्चमा उठान भएका धेरै विषयहरु कार्यन्वयनमा गएको, शिक्षामा सुधारका लागी प्रयत्न गरेको, आरक्षले मनहरीका जनतालाई दिएको दुखको समाधानका निमित्त संघिय कानुन संशोधन गर्नु पर्ने बताए । साथै उक्त कार्यक्रममा स्थानीय सभाका संयोजकले उठाएका साझेदारी मञ्च तथा स्थानीय सभा गठन तथा संचालन कार्यविधि निर्माण सन्र्दभमा पालिकाले विचार पुर्याउने उक्त कार्यविधि निर्माण गरेको खण्डमा जो सुकै प्रतिनिधि निर्वाचित भएको खण्डमा पनि नागरिक र नागरिक समाजसंग समन्वय र सहकार्य गर्नका लागी राम्रो हुने समेत बताए ।



