हातमा फोन नम्बर टिपेर ११ वर्षीय युक्रेनी बालकको ११ सय किलोमिटर यात्रा

पालिका डायरी
२७ फाल्गुन २०७८
हातमा फोन नम्बर टिपेर ११ वर्षीय युक्रेनी बालकको ११ सय किलोमिटर यात्रा

११ वर्षीय यी युक्रेनी बालक युद्धबाट जोगाउन उनकै आमाले प्लास्टिक झोलामा उनका खेलौना राखेर अर्को देश पठाएकी छन् ।

बालकको हातमा आफन्तको सम्पर्क नम्बर लेखिएको छ । कहाँ जाने, के गर्ने अत्तोपत्तो छैन । रुन्छन्, कराउँछन्, भक्कानिन्छन्, बाटो विराउँछन्, भावुक बन्छन् अनि टोलाउँदै बाटो नाप्छन् ।

बाटोले जता डोर्‍याउँछ, उतै बहकिनु उनको नियति बनेको छ । युक्रेनका धेरै बालबालिकाले खेपेको अवस्था हो यो । खुकुरीको धारमा राखेर भए पनि अभिभावकले ज्यान जोगाउन अन्तिम उपायका रूपमा आफ्ना सन्ततिलाई अर्को मुलुकमा पठाउँदैछन् ।

निर्दोष ती बालक रुँदै ११ सय २५ किलाेमिटर टाढा स्लोभाकिया पुगेको दृश्यले सबको ध्यान केन्द्रित गरेको छ । बालबालिका मात्र हैन, लठ्ठीको सहारामा जीवन डोर्‍याइरहेका वृद्धवृद्धाको हालत थप कारुणिक बन्दै गएको छ । नागरिकका घर आगोको लप्काले खाएको छ ।

लाखौं युक्रेनी शरणार्थी भएर निर्जन मुलुकमा बाँडिएका छन् । एउटै परिवारका सदस्य को कहाँ छन्, पत्तो छैन । यद्यपि सत्ता र शक्तिको घमण्ड सेलाउने छाँटकाँट अझै देखिँदैन । बरु युद्धको भोक बालबालिका अस्पतालमाथि आक्रमण गर्ने तहसम्म पुगेको छ ।

कठै, कुनै स्वार्थ नजोडिएको यो समुदायलाई युद्धको तारो किन बनाइएको हो ? यो घाउको खाटा कहिले बस्ने हो ? प्रश्न थुप्रै छन्, उत्तर छैन । रुसी फौजको निरन्तर हमलाबीच मानवीय संकट झनझन् गहिरिँदै गएको छ ।

युक्रेनी नागरिकको हालत पनि अफगानिस्तानका जनताको जस्तै बन्न पुगेको छ । फरक यति हो कि युक्रेनी अभिभावकहरूलाई खानकै लागि सन्तान बेच्नुपरेको छैन । तर, आफना ज्यान जोगाउन सन्तानलाई छिमेकी देशमा शरण लिन पठाएको दृश्यले भने जो कोहीको मन कटक्क खान्छ ।

ओछ्यानमा थला परिसकेका वृद्धवृद्धा ज्यान घिसारेरै भए पनि ज्यान बचाउन लालायित देखिन्छन् । जताततै गोलाबारीको मुस्लो छ । ज्यान लिनेहरूको बिगबिगी छ तर मानवताको दीप बलेको कतै देखिन्न ।

आकाशभरि काल बनेर गोलचक्कर लगाइरहेका बायुयान र पृथ्वीमा उभिएर एकमुठी सासको भिख मागिरहेका नागरिकको पुकारबीचको समन्वय विन्दु अहिलेसम्म फेला परेको छैन ।

प्रतिक्रिया