हायातबाट बरामद ‘युरेनियम’ जस्तो पदार्थ परीक्षणका लागि नाष्ट र भू-गर्भ विभागमा पठाइने

पालिका डायरी
४ फाल्गुन २०७८, २०:०७
हायातबाट बरामद ‘युरेनियम’ जस्तो पदार्थ परीक्षणका लागि नाष्ट र भू-गर्भ विभागमा पठाइने

प्रहरीले सोमबार साँझ हायात होटलको पार्किङबाट बरामद भएको ‘युरेनियम’ जस्तो पदार्थ परीक्षणका लागि नाष्ट र भू-गर्भ विभागमा पठाउने भएको छ।

सोमबार साँझ हायात होटलको कार पार्किङ गर्ने स्थानबाट प्रहरीले दुई किलो आठ सय ग्राम ‘युरेनियम’ जस्तो पदार्थसहित आठ जनालाई पक्राउ गरेको थियो।

महानगरीय प्रहरी वृत्त बौद्धले विशेष ब्युरोको सहायतामा उक्त परिमाणको ‘युरेनियम’ धातुसहित कांग्रेस ललितपुरका नेता नवराज महतलगायत नेपाली तथा भारतीय व्यक्तिलाई पक्राउ गरेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बरामद धातु परीक्षणका लागि नाष्ट र भू-गर्भ विभागमा पठाउने तयारी भइरहेको बताए।

‘प्रारम्भमा युरेनियम भन्ने कुरा आए पनि परीक्षण नगरिकन यकिन गर्न नसकिएकाले परीक्षणका लागि नाष्ट र भू-गर्भ विभागको ल्याबमा पठाउने तयारी हाम्रो छ,’ गिरीले सेतोपाटीसँग भने, ‘भोलि वा पर्सीसम्ममा परीक्षण गर्न पठाउँछौं, रिपोर्ट आएपछि त्यसको सत्यता थाहा हुन्छ।’

युरेनियम अत्यन्तै दुर्लभ र बहुमूल्य धातु हो। बिनाइजाजत त्यसको कारोबार तथा बिक्री वैध मानिँदैन।

काठमाडौं महानगरपालिका-६ बौद्धस्थित हायात रिजेन्सी होटेल कम्पाउन्डको कार पार्किङ क्षेत्रबाट प्रहरीले सो धातु बरामद गर्दै आठ जनालाई नियन्त्रणमा लिएको थियो।

धातु प्रतिकिलो ३५ करोड रुपैयाँमा ‘डिल’ भइरहेको बेला प्रहरीले कांग्रेस नेता महतसहितलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ घर भई काठमाडौं ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, सिरहा वरियापारपट्टी गाउँपालिका-१ घर भई ठमेल बस्ने ५५ वर्षीय जिवछ नारायण यादव र महोत्तरी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी छन्।

यस्तै, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर छन्।

बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई युरेनियम संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा विशेष ब्युरोको टोली हायातमा पुगेको थियो।

विशेष ब्युरोले महानगरीय प्रहरी वृत्त बौद्धसँगको समन्वयमा हायातको पार्किङस्थलमा राखेको बा ५ च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थसहित भूपेन्द्र र नवराजलाई पक्राउ गरेको थियो।

उनीहरूसँगको सोधपुछका क्रममा उक्त पदार्थ भारतबाट ल्याई प्रतिकेजी ३५ करोड रुपैयाँ मूल्यमा बिक्री गर्न लागेको खुलेपछि अन्य ६ जना व्यक्तिहरूलाई पक्राउ गरेको थियो।

प्रहरीले उक्त कार, बा २६ प १६२८ नम्बरको मोटरसाइकल, भूपेन्द्रको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको १ थान परिचय पत्र र विभिन्न कम्पनीको ९ थान मोबाइल समेत बरामद गरेको थियो।

जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत सात दिन म्याद थपको अनुमति लिएर पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।

के हो युरेनियम?

युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो।

युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५। प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ।

एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ।

एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ। तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ।

नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ। युरेनियम ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा उपयोग हुन्छ।

युरेनियम सुनको भाउभन्दा चार हजार ५ सय गुणा बढी छ भन्ने दाबी गरिन्छ।

प्रतिक्रिया