अर्थतन्त्रका चुनौतीपूर्ण विषयमा प्रधानमन्त्री देउवा मौन

पालिका डायरी
१० माघ २०७८, ०७:४२
संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशीलः प्रधानमन्त्री

सरकारले ६ महिना पुरा गरेपछि राष्ट्रका नाममा प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक क्षेत्रमा अपेक्षित सुधार भएको दाबी गर्नुभयो । त्यतिमात्र होइन आफूले सरकारको नेतृत्व लिएपछि निर्यातमा वृद्धि भएको भन्दै यो वर्ष अघिल्लो वर्षभन्दा आर्थिक वृद्धिद्धर माथि रहने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको दाबीलाई वर्तमान सूचकहरुले आधारहीन आत्मरति रहेको पुष्टि गर्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अर्थतन्त्रमा थपिएको चुनौती र विद्यमान समस्याको ढाकछोप प्रयास गर्नुभयो । तर प्रधानमन्त्री देउवाको भनाईमा अर्थतन्त्रमा थपिएको चुनौती विश्लेषण भने गरिएको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ५ महिनाको अन्त्यसम्म अधिकाशं आर्थिक सूचक चुनौतीपूर्ण अवस्थामा पुगेका छन् । तरलता अभाव नै छ, कर्जा प्रवाह अझै बढिरहेको छ तर उत्पादन बढेको छैन । भन्सार विभागकै ६ महिनाको अवधीमा व्यापार घाटा मात्रै ८ खर्ब ८० अर्ब पुगेको छ । मंसिर मसान्तसम्मकै तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चिती असारयता मंसिर मसान्तसम्म १४.७ प्रतिशतले घटेर १२ खर्ब १४ अर्ब ३ करोड कायम भएको छ । यो साढे ७ महिनाको मात्रै वस्तु तथा सेवा आयात धान्ने अवस्थामा पुगेको छ । यता शोधनान्तर स्थिति पनि १ खर्ब ९५ अर्ब पुगेको छ । यो क्रमिक रुपमा ओरालो लागिरहेको छ भने चालु खाता घाटा ३ खर्ब माथि पुगिसकेको छ ।

यस्तै सार्वजनिक खर्चमा यो सरकार पनि सफल देखिएको छैन । आधा वर्ष सकिसक्दा समेत सरकारले १३.९६ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । आर्थिक सूचक संकटोन्मुख दिशामा रहँदा आर्थिक अवस्था सकरात्मक दिशामा रहेको प्रधानमन्त्री देउवाको भनाई आधारहिन भएको जानकारहरु बताउँछन् । प्रधानमन्त्रीलाई सूचना तोडमोड गरि सहि सूचना नदिई मुलुकको अर्थतन्त्रबारे गुमराहमा राखिएको हुन सक्ने विश्लेषण गर्नुहुन्छ, पुर्व अर्थसचिव रामेश्वर खनाल ।

प्रधानमन्त्री देउवा अर्थतन्त्रका चुनौतीपूर्ण अवस्थाका विषयमा मौन रहनुभएको छ । नागरिकलाई विश्वासमा लिनका लागि भएपनि प्रधानमन्त्रीले सत्य बोलिदिनुपर्थाे तर प्रधानमन्त्रीकै भाषणमा सत्यता देखिएन । वास्तविकता भन्दा पनि आत्मरतीमा रमाउने प्रवृत्ति तथ्य र तथ्याकंमा गर्न नहुने खनाल बताउनुहुन्छ ।

मंसिर मसान्तसम्ममा मुल्यवृद्धि मौद्रिक नीतिमा तोकिएको ६.५ प्रतिशत भन्दा माथी अर्थात ७.११ प्रतिशत पुगेको छ । यो अवधीमा ३.९ प्रतिशत मात्रै आर्थिक वृद्धिद्धर हासिल हुने विश्व बैंकले बताएको छ । जबकी चालु आर्थिक वर्षको बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिद्धर हासिल भएको उल्लेख छ ।

प्रतिक्रिया