सुन्तला खेतीमा अर्घाखाँचीका कृषक आकर्षित, सिजनको आम्दानी २४ करोड भन्दा धेरै

पालिका डायरी
३० पुष २०७८, १८:२३

व्यावसायिक रूपमा सुन्तला खेती गर्नेको संख्या बढ्दै गएपछि यस वर्ष अर्घाखाँचीमा २४ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ ।

मनग्य आम्दानी हुने थालेसँगै यहाँका स्थानीयले अन्य खेती छाडेर सुन्तला खेतीमा आकर्षित भएका छन् । जिल्लाको पाणिनी गाउँपालिकाको पणेना, पोखराथोक, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ, खन, साकिन्धारालगायतका ठाउँका कृषकको मुख्य स्रोत सुन्तला खेती हो ।

विशेष गरी पाणिनी गाउँपालिका–१ को पणेनाको गाउँमा अन्य खेतीभन्दा सुन्तला खेती बढी गरिन्छ । २०७२ देखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आउनुभएका पणेनाका नारायण पौडेलले गतवर्ष ७ लाखको सुन्तला बिक्री गर्नुभएको थियो । यस वर्ष त्योभन्दा पनि बढ्ने उहाँ बताउनुहुन्छ ।

पाणिनी गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडे्ल अनुसार गाउँपालिकामा मात्र यसवर्ष करिव ७ करोडको सुन्तला उत्पादन भएको छ । गाउँपालिकाले शीत भण्डार बनाएपछि कृषकले शीत भण्डारमा भण्डारण समेत गर्ने गरेका छन् ।

जिल्लाको ४ सय ९४ हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकोमा ५ हजार ६ सय ८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा १५ प्रतिशले सुन्तला उत्पादनमा कमी आएको बताएको छ । जिल्लाभरमा यो वर्ष २४ करोड १४ लाखको मुल्यको सुन्तलाको कारोबार हुने कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सुचना अधिकारी महेन्द्र ओझाले जानकारी दिनुभयो ।

जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी रुपन्देही, पाल्पा, कपिलवस्तु लगायतका अन्य शहरहरूमा निर्यात हुने गरेको छ । यहाँका सुन्तला प्रतिकेजी ५० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ ।

सुन्तलामा लाग्ने विभिन्न रोगहरूको अध्ययन र अनुसन्धान समाधान निकाल्न कृषकहरूले माग गरेका छन् । कृषकका गुनासो र माग सम्बोधन गर्नसके जिल्लावासीको आम्दानीको मुख्य श्रोत नै सुन्तला खेती बन्न्सक्छ । तर, खेतीमा देखिएका समस्या समाधानमा भने सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया