कोरोना संक्रमणको उच्च जोखिममा ‘वीरगञ्ज’

पालिका डायरी
२८ पुष २०७८, ०७:४४
कोरोना संक्रमणको उच्च जोखिममा ‘वीरगञ्ज’

कोरोना संक्रमणको हटस्पट बनेको वीरगञ्ज पुनः कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । नेपाल–भारत खुल्ला सिमाना भएको कारण भारतबाट आउनेहरुमा बढी संक्रमण पुष्टि भएसँगै वीरगञ्ज पुनः कोरोनाको उच्च जोखिममा परेको हो ।

वीरगञ्ज रक्सौल नाकामा सञ्चालित हेल्थ डेक्समा भारतबाट आउने यात्रुहरुमा विगत एक सातादेखि संक्रमितहरुको संख्या तीब्र रुपमा बढ्न थालेको छ । पुसको पहिलो सातादेखि सीमामा भइरहेको यात्रुहरुको परीक्षणको क्रममा प्रतिदिन २ देखि ३ जनासम्म संक्रमितहरु फेला परिरहेका छन् ।

त्यसोत, गत विहीबार दुई सय ७० जनाको परीक्षण गर्दा एकै दिन ६ जनामा संक्रमण भेटिएको थियो । त्यसैगरी शुक्रबार गरिएको ४ सय जना यात्रुहरुको परीक्षण गर्ने क्रममा ११ जनामा संक्रमण पुष्टि भएको थियो, भने सोमबार ३ सय ५० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको तथ्याङ्कले पनि दिन प्रतिदिन संक्रमितहरुको संख्या बढ्दै गइरहेको देखाएको छ । विगत एक हप्तादेखि कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बढ्दै गएको अवस्था छ । कोलकताबाट आउने यात्रुहरुमा बढी कोरोना पुष्टि भइरहेको छ, भने संक्रमितहरु ९ वर्षदेखि ७४ वर्ष उमेर समूहका रहेका छन् ।

हालसम्म फेला परेका सबै संक्रमितहरुमध्ये अधिकांशमा लक्षण नदेखिने र केहीमा सामान्य लक्षण देखिने गरेको छ । लक्षण नभएका कारण अस्पताल भन्दा होम आइसोलेशनमा पठाउने गरिएको नारायणी अस्पतालका कोभिड संयोजक डा.उदयनारायण सिंहले जानकारी दिए ।

यो साता मात्रै नयाँ १७ जना संक्रमितहरु थपिएका छन् । भारतमा बढिरहेको कोरोना संक्रमणको लहरले सीमा क्षेत्रमा सतर्कता अपनाइएन भने भोलिका दिनमा वीरगञ्ज पुनः कोरोना संक्रमणको हटस्पट बन्नसक्ने खतरा बढेको उनको भनाइ छ ।

संक्रमण पुष्टि हुनेहरुमा अधिकांश भारतबाट आएका यात्रुहरु रहेका छन् । जसमध्ये पनि अधिकांशले खोप लगाइसकेका व्यक्तिहरु रहेका छन् । संक्रमण पुष्टि भएकाहरुमा सामान्य लक्षण भएकोले अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको कारण उनीहरुलाई होम आइसोलेशनमै पठाइएको डा. सिंहले जानकारी दिए ।

भारतीय बजार गएर फर्किनेहरुमा पनि कोरोना पुष्टि

दैनिक उपभोग्य सामान किनमेल गर्न भारतीय सीमावर्ती बजार रक्सौल गएर फर्किनेहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । यस अघिसम्म भारतबाट लामो यात्रा गरेर नेपाल प्रवेश गर्नेहरुको मात्र एन्टिजेन परीक्षण गरिँदै आएको थियो । वीरगन्ज रक्सौल ओहर–दोहर गर्नेहरुमा पनि कोरोना परीक्षण गर्दा संक्रमण देखिन थालेको बताइएको छ । यस हप्ता गरिएको परीक्षणको क्रममा संक्रमण पुष्टि हुनेहरुमा अधिकांश बारा र पर्साका स्थानीयहरु रहेका छन् ।

सोमबार गरिएको एन्टिजेन परीक्षणको क्रममा संक्रमण पुष्टि भएका २२ जनामध्ये रौतहटका १ जना, काठमाडौंका १ जना, जितपुर सिमराका १ जना तथा वीरगन्ज महानगरका १९ जना रहेका छन् । त्यस्तै आइतबार गरिएको परीक्षणको क्रममा फेला परेका संक्रमितहरुमध्ये वीरगन्ज महानगरका ३ जना, पर्सागढी नगरपालिकाका १ जना, बाराको निजगढ नगरपालिका–११ रतनपुरीका १ जना र मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका १ जना रहेका छन् ।

यसैगरि शनिबार पनि ४ सय जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये ४ जना भारतीय र बाँकी ९ जना नेपाली रहेका छन् । शुक्रबार भने १ सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै भारतीय रहेको र कामको सिलसिलामा वीरगन्ज आएका थिए ।

एक साता पहिलेसम्म संक्रमण पुष्टि हुनेहरु भारतका नागरिकहरु रहेका थिए, भने अहिले रक्सौल बजारमा दैनिक किनमेल गरेर फर्किने नेपालीहरुमै प्रायः संक्रमण पुष्टि हुन थालेको छ । यस तथ्याङ्कलाई हेर्दा वीरगन्जलगायत यस क्षेत्रका नागरिकहरुमा पनि संक्रमणको दर फैलिन थालेको बुझ्न सकिन्छ ।

दैनिक ५ हजार बढीको आवागमन, परीक्षण ५ सयसम्म मात्रै !

एक हप्तादेखि वीरगन्ज भन्सार क्षेत्रमा सञ्चालित हेल्थ डेक्समा एन्टिजेन परीक्षणको क्रममा संक्रमितहरुको संख्या थपिन थालेपछि विगत तीन दिनदेखि परीक्षणको दायरालाई बढाइएको छ । परीक्षणको दायरा बढाइएता पनि दैनिक ५ हजार भन्दा बढी भारतीय तथा नेपाली नागरिकहरु आवागमन गर्ने स्थानमा ४ देखि ५ सय जनाको मात्रै परीक्षण गर्ने गरिएको सीमा क्षेत्रमा सञ्चालित हेल्थ डेक्सकी चिकित्सक डा. अनिषा महतोले जानकारी दिइा् ।

 

गत हप्तासम्म डेढ देखि २ सय जनाको एन्टिजेन परीक्षण गर्दै आएकोमा हाल दैनिक ४ देखि ५ सय जनाको एन्टिजेन परीक्षण गर्ने गरिएको छ तर, त्यो पनि प्रयाप्त छैन । खुल्ला सिमाना भएको कारण दैनिक हजारौं आवतजावत गर्नेहरु सबै जनाको परीक्षण गर्ने सम्भव नरहेको डा. महतोेले बताइन् ।

उनले भनेकी छन्, ‘भारतबाट मात्रै आउने सबैलाई परीक्षण गर्ने हो भने दैनिक २ देखि ३ हजार जनाको परीक्षण गर्नुपर्ने हुन्छ । जुन एउटा हेल्थ डेक्सले थेग्न सक्दैन । जनशक्तिले भ्याए र सकेसम्म चेकजाँच कार्यलाई तीब्रता दिइएको छ ।’

त्यस्तै सुरक्षाकर्मीले ट्याम्पो, ई–रिक्सा, रिक्सा, टांगा र साना सवारी साधन रोक्न खोजेपनि छक्याएर उनीहरु गाडी हुँइक्याएर भाग्ने गरेका छन् । जसको लागि नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संख्या थप्नुपर्ने देखिन्छ ।

संक्रमितहरुलाई व्यवस्थापन गर्न पनि समस्या

परीक्षणको क्रममा संक्रमण पुष्टि भएकाहरुलाई व्यवस्थापन गर्नका लागि पनि समस्या भएको छ । एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएका भारतीय नागरिकहरुलाई नाकामा खटिएका भारतीय सुरक्षकर्मीको सहयोगमा भारततर्फ नै पठाउने गरिएको छ । तर, उक्त संक्रमितहरु चोर बाटो भएर पुनः नेपाल प्रवेश गर्ने गरेकाले पनि बारा र पर्साका स्थानीयहरुमा पनि संक्रमण पुष्टि हुन थालेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को नियम अनुसार नाकामा संक्रमण पुष्टि भएका नेपाली संक्रमितलाई सम्बन्धित पालिकासँग समन्वय गरेर सुरक्षाकर्मीको सहयोगमा नाकाबाट छुट्टै गाडी रिजर्भ गरेर पठाउनुपर्ने हुन्छ । तर, रिजर्भ गरिएको गाडीको भाडा खर्च तिर्न संक्रमितले नमान्ने गरेको कारण समस्या भइरहेको बताइएको छ ।

परीक्षणको दायरा बढाउन डीसीसीएमसीको निर्णय

आइतबार साँझ बसेको डीसीसीएमसीको बैठकले वीरगन्ज नाकामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बैठकले पूर्व तयारी गर्ने निर्देशन अनुसार थप अझै विभिन्न निकायहरुसँग छलफल गर्नुपर्ने निर्णय भएको छ । समग्रमा भन्दा सीमा क्षेत्रमा निर्माणाधीन होल्डिङ्ग सेन्टरलाई तयार पार्ने, नारायणी अस्प्तालमा अक्सिजनको साथसाथै बेडहरुलाई पूर्व निर्धारण गरेर तयारी अवस्थामा राख्ने, जनशक्ति आवश्यक्तालाई अनुमोदन गर्दै जाने तथा सम्पूर्ण पालिकाहरुले आआफ्नो आइसोलेशन तयार गर्नुपर्ने निर्णय गरिएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सिंहको भनाइ छ ।

पूर्व तयारीको क्रममा पहिलो र दोश्रो महामारीको अनुभवलाई मध्यनजर गर्र्दै नारायणी अस्पताललाई पूर्ण रुपमा तयारी अवस्थामा राखिएको उनको भनाइ छ । नारायणी अस्पतालमा २ वटा अक्सिजन प्लान्ट जडान गरिएकोमा १ वटा सञ्चालनमा रहेको र अर्को सञ्चालनको तयारी अवस्थामा रहेको भन्दै डा. सिंहले अस्पतालको १ सय १० बेडमा अक्सिजन लाइन विस्तार गरि सकिएको बताए ।

आईसीयू, एचडीयू बेडहरु पनि बढाइएको छ । जम्मा ७४ बेडहरु तयारी अवस्थामा रहेको र औजारीकरणहरु पनि पर्याप्त मात्रामा रहेको भन्दै डा. सिंहले जनशक्तिको विषयमा मन्त्रालयसँग समन्वय भइरहेको बताइन् ।

नाकामा परीक्षणको दायरा बढाउन प्रजिअको निर्देशन

यता वीरगन्ज नाकामा थप कडाइ गर्न र कोरोना परीक्षणको दायरा अझै बढाउन प्रजिअ उमेश ढकालले निर्देशन दिएका छन् । तीन चार दिनदेखि नाकामा संक्रमितहरुको सख्या बढ्दै गएपछि डीसीसीएमसीका संयोजक समेत रहेको प्रजिअले नाकामा परीक्षणको दायरा अझ बढाउन निर्देशन दिएका हुन् ।

सोमबार अपरान्ह नाकाको स्थलगत अनुमगन गर्दै प्रजिअ ढकालले परीक्षणको दायरा बढाउन नाकामा खटिएका स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया