गुम्बाडाँडामा भक्तबहादुर श्रेष्ठको शालिक अनाबरण

पालिका डायरी
२७ पुष २०७८, १९:४४
गुम्बाडाँडामा भक्तबहादुर श्रेष्ठको शालिक अनाबरण

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ गुम्बाडाँडा स्थित स्यामप्रसाद स्मृति प्रतिष्ठान परिषरमा दुई दशकभन्दा बढी समय भूमिगत जीवन बिताएका भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’को अर्धकदको शालिक आज अनावरण गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले श्रेष्ठको शालिक अनावरण गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका महतले उहाँको देहबसान भएकै दिनमा शालिक अनावरण गर्न पाउदा अत्यन्त खुसी लागेको बताउनुभयो । भक्तबहादुरका आफुहरु चेला रहेको उहाँले बताउनुभयो । भक्तबहादुर एक निष्ठावान कम्युनिष्ट नेता रहेको बताउँदै मेयर महतले भन्नुभयो–‘भक्तबहादुरको यहाँ धेरै योगदान रहेको छ । यही योगदानको स्मरणमा पनि शालिक राखिएको मेयर महतले बताउनुभयो । २००७ सालदेखि मकवानपुरगढीमा स्वग्राम सुधार जनसंगठन परिषद् गठन गरेर गाउँको शोषण, अत्याचार र जातीय विभेदविरुद्धका काम अगाडि बढाएका श्रेष्ठको शालिक राखिएको हो ।

स्वर्गिय श्रेष्ठको शालिक निर्माण र फाउण्डेशन निर्माणका लागि हेटौंडा उपमहानगरपालिका र बागमती प्रदेश सरकारले सहयोग गरेको थियो । अझै यस क्षेत्रमा काम गर्नका लागि उपमहानगरपालिकाले सहयोग गर्ने मेयर महतको भनाई छ । विभिन्न धारामा विभाजित कम्युनिस्ट नेता मोहनविक्रम सिंह, मोहन वैध, निर्मल लामा, प्रचण्ड, सीपी गजुरेल, नारायणकाजी श्रेष्ठ, नेत्रविक्रम चन्द, ईश्वरी दाहाल, रामबहादुर थापालगायत सँगोलमा भएको बेलामै नेकपा चौथो महाधिवेशनको महामन्त्री थिए— भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’ ।

कार्यक्रममा हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँले भक्तबहादुरको शालिक आफ्नो वडामा राख्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । कार्यक्रममा गुम्बाडाँडा व्यावस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, बागमती प्रदेश पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्ठ, भक्तबहादुरका भतिज दिनेश श्रेष्ठ लगायतकाले उहाँका योगदानको चर्चा गर्नुभएको थियो ।

 

१९९० असोज ३ गते मकवानपुरगढीमा जन्मिएका श्रेष्ठको मृत्यु २०६८ पुस २७ गते भयो । दुई दशकभन्दा बढी समय भूमिगत जीवन बिताएका श्रेष्ठले २००७ सालदेखि मकवानपुरगढीमा स्वग्राम सुधार जनसंगठन परिषद् गठन गरेर गाउँको शोषण, अत्याचार र जातीय विभेदविरुद्धका काम अगाडि बढाएका थिए । परिषद्ले गाउँमा जुवातास खेल्न बन्द गरायो । गाउँलाई साक्षर बनाउन प्रौढ शिक्षा सञ्चालन गर्‍यो । साथै सानातिना झैझगडा मिलाउन र न्यायनिसाफका लागि पनि परिषद् लाग्यो । पुस्तकालय स्थापना गर्‍यो । यसरी परिषद्ले गाउँलेहरूको मन जित्न थाल्यो ।

परिषद्ले २०१० सालमा किसानको मोहियानी हक कायम गर्ने, पर्ती जमिन सुकुम्बासी र किसानहरूलाई वितरण गर्ने र छाक काटेर कर्जा नतिर्ने अभियान चलायो । यस अभियानले यस क्षेत्रका बासिन्दालाई जागरुक बनाउनुका साथै सामन्तहरूविरुद्ध घृणा उत्पन्न गरायो । श्रेष्ठकै अगुवाइमा २०१२ सालमा साबिकको हटिया गगटेमा सय बिघा जमिनमा बस्ती बसाउने काम भएको थियो । किसान आन्दोलनबाटै उनी कम्युनिस्ट पार्टीको महामन्त्री बन्न सफल भए ।

यसबाहेक, गाउँकै विद्यालयमा अंग्रेजी, गणित र नेपाली विषय पढाउँथे, उनी । उनको अक्षर अत्यन्त सुन्दर र पढाउने कला पनि राम्रो थियो । त्यति बेलाका उनका विद्यार्थी दिनेश श्रेष्ठ भन्छन्— ‘साहिँला बाले बुझ्ने गरी पढाउनुहुन्थ्यो ।’ उनलाई गाउँलेहरूले ‘माडसाब’ र ‘साहिँला बा’ भनेर सम्बोधन गर्थ्ये । २०११ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका श्रेष्ठ पटक–पटक गरी ८ वर्ष जेल परे । जब उनी चौथो महाधिवेशनको महामन्त्री बने तबदेखि पञ्चायती शासकले व्यापक खोजी गर्न थाल्यो । त्यही क्रममा २०४० सालमा पक्राउ पनि परे । त्यति बेला उनले लामै समय जेलमा बस्नुपरेको थियो । सरल जीवनशैलीका श्रेष्ठ व्यावहारिक र दूरदर्शी नेता थिए ।

हटियाका ८२ वर्षीया कृष्णप्रसाद नेपालले उनलाई सम्झँदै भन्छन्, ‘उनकै निर्देशन र शिक्षाबाट किसान र विभिन्न राजनीतिक आन्दोलन गरियो ।’ मकवानपुरको पूर्वी क्षेत्रमा वाम राजनीतिको जरो गाडेकै श्रेष्ठले हो । भद्रगोल जेलबाट दिएको प्रवेशिका परीक्षामा उनी प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । यसबाहेक श्रेष्ठको औपचारिक शिक्षा भने थिएन । अनैपचारिक लेख्न–पढ्न भने गरिरहे । उनीसँग वीरगन्ज जेलमा बसेका विरोध खतिवडा भन्छन्, ‘अरूले एक पन्ना पढ्दा श्रेष्ठ काका १० पाना पढिसक्थे, जेलमा सबै साथी सुतेपछि रातभरि पढ्ने–लेख्ने गर्थे ।’

यस्तै जाँगरका कारण श्रेष्ठले राजनीतिक, आर्थिक र सांस्कृतिक विषयमा अनेक पुस्तक लेखे । जेल बस्दा कार्ल मार्क्सको ‘पुँजी’ को नेपालीमा उल्था पनि गरेका थिए । अंग्रेजी र हिन्दी भाषामा उनको दखल थियो । केहीअघि मोहनविक्रम सिंहले कम्युनिस्ट आन्दोलनको शीर्ष नेताहरूमध्येका एक श्रेष्ठ भएको बताएका थिए । हुन पनि, उनका सहयात्री सिंहले शीर्ष भन्ने आधार छन्— एक त उनी कम्युनिस्ट आन्दोलनको सुरुआती चरणदेखि नै सक्रिय थिए, अर्को यसै आन्दोलनमा जीवन बिताए । साहित्यमा पनि उनको दखल थियो । बेलाबेलामा कविताबाट आफ्ना विचार सार्वजनिक गर्थे पनि ।

एकै गाउँमा जन्मेका सँगैसँगै समाज सुधार र राजनीतिकर्म गर्दै आएका बद्रीप्रसाद खतिवडाले श्रेष्ठले नेपाली वामपन्थी आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याए पनि । उनको उचित मूल्यांकन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । सरकारको नेतृत्वमा पटक–पटक वामपन्थीहरू पुगे तर उनका बारे चासोचिन्ता लिएनन् । उनको जीवन खुला किताबजस्तो थियो । परिवर्तनका लागि जीवन उत्सर्ग गरेका श्रेष्ठमा व्यक्तिगत लालसा अलिकति पनि थिएन । उनले राजनीतिलाई कमाईखाने भाँडो कहिल्यै बनाएनन् । ‘सादा जीवन र उच्च विचार’ को भावनाबाट अलिकति पनि विचलित नभई बाँचे । कथनी र करनीमा एउटै आदर्श सँगालेका श्रेष्ठ परिवर्तनकारीका निम्ति प्रेरणाको स्रोत हुन् । मृत्यु भएको एक दशकपछि उनको अर्धकदको सालिक जन्मेको गाउँनजिकै राखिने भएको छ । त्याग, समर्पण र संघर्षका त्रिवेणी हुन्— श्रेष्ठ । श्रेष्ठलाई पार्टीको घेरा र स्वार्थभन्दा माथि राखेर उनको आचरणको अनुकरण गर्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

हामिले यस समाचार जनपत्र बाट साभार गरेका हाैँ ।

प्रतिक्रिया