ढलेको सीमास्तम्भमा लुगा धुन्छन् भारतीय नागरिक, २ वर्षमा पनि भएन उठाउने पहल

पालिका डायरी
१३ पुष २०७८, १२:३४
ढलेको सीमास्तम्भमा लुगा धुन्छन् भारतीय नागरिक, २ वर्षमा पनि भएन उठाउने पहल

 

झापा । राज्यको अस्तित्वसंग जोडिएको झापाको गौरीगञ्ज गाउँपालिका अन्तर्गत पर्ने नेपाल-भारत सीमास्तम्भ ढलेको दुई वर्ष बितिसक्दा समेत अझै त्यसलाई उठाउन पहल भएको छैन ।

राज्यको सम्बन्धीत निकायको बेवस्थाका कारण भारतसँग सीमा जोडिएको गौरीगञ्ज गाउँपालिका वडा नम्बर- ४ बाह्रसुदी स्थित गौरिया खोलाको १४९-२४ नम्बरको सीमा स्तम्भ अझै जस्ताको तेस्तै रहेको छ । सीमाकै अस्तित्वसँग जोडिएको अति संवेदनशील सीमास्तम्भ जस्तो विषयमा पनि राज्य र सम्बन्धीत निकायले बेवास्ता गर्दा सो ढलेको सीमास्तम्भ भारतीय नागरिकहरुको कपडा धुने ठाँउ भएको छ ।बाह्रसुदीमा रहेको १४९ शृङ्खलाको २४ नम्बर सीमास्तम्भ २०७६ सालको बर्खा याममा गौरिया खोलाको बाढीले ढलेको थियो । बाढीले ढलेको सीमास्तम्भ गत वर्षा यामको बाढीले झन् पुरिएको छ ।

पानीको सतहमाथि सीमास्तम्भको अलिकति मात्र भाग देखिन्छ । त्यसमाथि बसेर भारतीय नागरिकले लुगा धुने काम गर्दै आएका छन् । ढलेको सीमास्तम्भ बालुवाले पुरिँदै गएको हुँदा यसको तत्काल मर्मतसम्भार गर्न आवश्यक देखिएको छ ।सो स्थानको नजिक नेपालतिर मुसहर बस्तीका रुपमा चिनिएको बाह्रसुदी गाउँ छ भने भारततिर किशनगञ्ज जिल्लाको खनियावाद छ । एक किलोमिटर उत्तरमा नेपाल र भारत दुवैतर्फका सुरक्षा पोस्ट छन् ।

बाढीले सीमास्तम्भ ढालेका बेला नै दुवै देशका प्रशासनलाई जानकारी गराएको जनाउदै स्थानीय भन्छन् त्यसबेला दुवै देशका सीमा सुरक्षा हेर्ने सुरक्षाकर्मी र प्रशासनका अधिकारी ढलेको सीमास्तम्भको निरीक्षणमा आएको तर, अझै सम्मपनि त्यसको कुनै पनि पहल भएन । सीमा जस्तो संवेदनशील विषयमा दुवै देशको प्रशासनिक निकायले समयमै ध्यान नपुर्याउनु दुःखत भएको जानकारहरु बताउछन् ।

नेपाल तथा भारतबीचको सीमा खुला र सहज छ । दुवै देशका बासिन्दाको आवतजावत निर्वाध चल्ने गरेको छ । किनमेलका लागि नेपाली भारततिर जाने गरेका छन् । तथापि सीमास्तम्भमा बसेर लुगा धुने कार्यले भने सीमाको संवेदनशीलतालाई बेवास्ता गरेको जस्तो भान हुने गरेको स्थानीय बताउछन् ।

सरकारी तथ्याङ्कअनुसार झापामा ९८८ सीमास्तम्भ रहेका छन् । तीमध्ये ६० वटा विभिन्न कारणले ढलेका छन् । दुई सयभन्दा बढी मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार कोरोनाका कारण दुई वर्षदेखि सीमामा ढलेका तथा नदीले बगाएका पिलरको मर्मतसम्भार हुन नसकेको बताए । साथै उनले यसको मर्मतसम्भारका लागि ‘फिल्ड सर्भे टिम’ रहे पनि कोभिडका कारण काम गर्न नसकेको बताउँदै गृह मन्त्रालयको ध्यानाकर्षण गराएको जनाए । उनले भने, ‘भारत र नेपालका उच्च अधिकारीको बैठक र छलफलपछि मात्र ढलेका सीमा पिलरको मर्मतसम्भार गर्ने कार्य अघि बढाउन सकिने हुँदा सोको पहल भइरहेको छ ।’ तर, सीमास्तम्भा भारतीय नागरिकले लुगा धुने कार्य नभएको बताए ।

यसरी सीमास्तम्भ संगै राज्यले सीमाको रक्षक बनेर वर्षौंदेखि बसोबास गर्दै आएका बाह्रसुदीबासी र सीमा रक्षाका लागि सीमा क्षेत्रमा डटेर बसेका थुप्रै नेपाली नागरिकलाई सम्मान गर्दै प्राथमिकतामा राखी आवश्यक साथ, सहयोग र समन्वय गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया