आज विश्व रेडियोग्राफी दिवस

पालिका डायरी
२२ कार्तिक २०७८, ०९:१८

 

हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको अविष्कार गरेका हुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स-रे अथवा विकिरण भनेर बुझ्दछौं र आधूनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । धेरैजनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रुपमा लिएको पाइन्छ, हामी अस्पताल जाँदा हाम्रो एक्स रे गर्ने रेडियोग्राफर देखि हाम्रो एक्स-रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधूनीक एक्स-रे उपकरणहरु सञ्चालन गर्ने प्राविधिकहरु यस प्रविधिको उदाहरणीय सारथी बनि सक्रिय छन् ।

आजको दिन विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा लिइन्छ । एक्स-रे ले हाम्रो शरीर भित्रका हड्डिहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउँदछ, फ्लोरोस्कोपीको माध्यमबाट पाचन प्रणालीभित्रका अङ्गहरुको तस्बिर खिचेर जाँच्न मिल्दछ भने एक आर आई ले हाम्रो शरीरका तन्तुहरुको 2D र 3D नक्शानै तयार गर्दछ । त्यस्तै एनजिओग्राफीका माध्यमबाट रक्तनलीहरुको सम्बन्धमा जानकारी दिनुकासाथै तिनीहरुमा सहज रक्तसञ्चार भए-नभएको कुरा पत्ता लाग्दछ ।

अल्ट्रासाउण्डबाट शरीर भित्रका अङ्गहरुकाबारेमा विना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्यस्थिति, शरिरहरूका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन प्रयोग गरिन्छ । साथै यसको गलत प्रयोगबाट गर्भमा रहेको बच्चा छोरा हो वा छोरी हो भन्ने पत्ता लगाएर छोरी रहेका गर्भहरुलाई गर्भपतन गराएर गर्भ तूहाउने चलन बढ्दैगएपछि दक्षिण एसियाका केही देशहरुमा लिङ्ग निर्धारणमा रोक पनि लगाइएको छ, नेपालमा पनि यो कार्य दण्डनीय छ ।

रेडिएशन थेरापीमार्फत् अबुर्द रोगी (क्यान्सर)का विरामीहरुलाई उपचारात्मक रूपमा प्रयोग पनि गरिन्छ । रेडिएशन थेरापीबाट विरामीको शरीरमा आयोडिन रेडिएशनका मात्राहरु प्रदान गरिन्छ र यस्ता उपचारात्मक पद्धतीले धेरैको जीवनरक्षा गर्न सफल भएको छ ।

यसो भन्दै गर्दा रेडियोग्राफीका सबै राम्रा पक्षहरूमात्र छन् भन्ने होइन यसका विभिन्न नकारात्मक पक्षहरु हामीले विर्सन हुँदैन । यसको नियमित सम्पर्कमा आउने जो कोहिलाई स्वास्थ्य समस्या समेत हुन सक्दछ । आजको दिन ति तमाम् रेडियोग्राफरहरुकालागि पनि सर्मपित छ जो दिनरात हाम्रो स्वास्थ्य उपचारकालागि आफू अत्यधिक रेडिएशन क्षेत्रमा उभिइरहेका हुन्छन् । रेडियोग्राफरहरुको स्वास्थ्यलाई ध्यानमा राखि स्वास्थ्य संस्थाहरूमा रेडिएशनको उचित ब्यवस्थापन गर्नु आवश्यक छ ।

आजका दिनमा कोभिड उपचारमा अहोरात्र तल्लिन सकल स्वास्थकर्मी र बिशेषत रेडियोग्राफर, रेडियोलोजीष्टहरुको पनि संझना अनि साधुवाद गर्न चाहन्छौं ।

पहिले पहिले डार्करुमको अध्याँरोमा धुलाइने एक्स -रे हरु अब डिजिटल रुपमा सम्प्रेशण हुन थालेका छन्, स्वास्थ्य उपचारमा रेडियोग्राफिको महत्व र भूमिका बढ्दै गएको छ तथापि यससम्बन्धि आवश्यक थप चेतना बढाउनुपर्छ ।

प्रतिक्रिया