फेवा फाँटमा सामुहिक गहुँ खेती
पोखरा / एक बाली धान लगाएपछि बाँझो रहने पोखराको फेवा फाँटमा यस वर्ष गहुँ झुल्ने भएको छ। असारमा पोखरेली जेठोबुढो धान रोपेर मंसिरमा धान भित्र्याएपछि यहाँको फाँट बाँझै रहन्थे।
दाइँ गरेर धान भित्र्याएपछि स्थानीय किसानले फेवा फाँटलाई गाई, भैंसी चराउने चरन क्षेत्रको रुपमा प्रयोग गर्थे। एक खेती गर्दै आएका किसानले पोखरा महानगरपालिकाको पहल, बिउँ बिजन र जग्गा तयार गर्न ५० प्रतिशत अनुदान दिएर किसानलाई खेती गर्न प्रेरित गरेपछि बाँझो फाँट खनजोत गरेर किसानले गहुँ छरेका छन्। फेवा फाँटको चंखपुर क्षेत्रको २ सय रोपनी क्षेत्रमा यस वर्ष स्थानीय किसानले सामूहिक रुपमा हिउँदे बाली गहुँ लगाएका हुन्। सामूहिक खेतीमा १२० जना किसान सहभागी छन्।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा, पोखरा १८ वडा कार्यालय र भावना सामुदायिक कृषि सहकारी संस्थाको संयुक्त साझेदारीमा चंखपुरमा गहुँबाली कार्यक्रम सुरु भएको सहकारीका अध्यक्ष बलराम कोइरालाले बताए। ‘हामीले बाँझो जमिनमा गहुँ लगाउने बारेमा सोचेका पनि थिएनौं, कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनहर कडरिया र पोखरा १८ का वडा अध्यक्षको पहलमा यो सम्भव भएको हो’, उनले भने।
फेवा फाँटका गौतम जातको गहुँको बिउँ छरिएको छ। पोखरा महानगरपालिका ७ को गैरीखेतमा गत वर्ष यो जातको धानको बिउँ परीक्षण गर्दा राम्रो उत्पादन भएपछि फेवा फाँटमा यही जातको १ हजार किलो बिउँ प्रयोगमा ल्याइएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए।
धान बाली लगाएपछि बाँझो रहने पोखराका फाँटबाट केही न केही खेती गरेर उत्पादन लिनुपर्छ भन्ने सन्देश दिन र किसानलाई उत्पादन संगा जोड्न पोखरा महानगरपालिकाले बिउँ, जमिन तयार पार्न लगायतमा किसानलाई अनुदान दिन ११ लाख रुपैयाँ छुट्याएर अभियान थालेको कडरियाले जानकारी दिए। गहुँ, उवा, फापर लगायतका खाद्यन्नमा परनिर्भरता बढ्दै गएकोले पनि यो अभियान सुरु गरिएको उनले बताए।
कहाँको जमिनमा के उत्पादन हुन सक्छ माटो परीक्षण गरेर त्यसै अनुसार किसानलाई गहुँ, तोरी, उवा, आलु, फापर लगायतका बिउँ, खानजोत लगायतमा महानगरपालिकाले अनुदान दिएको कृषि तथा पशु विकास महाशाखा प्रमुख कडरियाले बताए। ४ ठाउँमा गहुँको क्लस्टर, ३ ठाउँमा तोरी, २ ठाउँमा फापरको क्लस्टर, १ ठाउँमा उवाको क्लस्टर छनोट भएर ५० प्रतिशत अनुदानमा बिउँ लगायत आवश्यक सामाग्री किसानलाई उपलब्ध गराइएको कडरियाले जानकारी दिए। बाँझो जमिनमा उत्पादन हुँदा किसान खाद्यन्नमा आत्मनिर्भर हुनेमात्र होइन हरियाली, वातावरणमैत्री वातावरण बन्ने पनि उनले बताए।
कोभिडपछि किसानमा उत्पादन गर्नुपर्छ भन्ने भावना बढेको अवस्थामा महानगरपालिकाले जमिन बाँझो नराखौं अभियान सुरु गरेको पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए। यसैले वडाले गहुँ बालीका लागि १ लाख रुपैयाँ छुट्याएको पनि उनले जानकारी दिए। जमिनमा जति सकिन्छ उत्पादन लिने हो बाँझो नराखौं भन्ने उद्देश्यले महानगरपालिकाले यो कार्यक्रम ल्याइएको उनले बताए। बाली संरक्षणका लागि छाडा चौपाया नियन्त्रणका लागि कान्जी हाउस निर्माण पनि गरिने वडा अध्यक्ष थापाले बताए।
फेवा बाँध भत्केपछि २०३३ सालदेखि २०३७ सालसम्म गहुँ खेती गरेकोमा बढी चिसो भएर उत्पादन कम भएपछि गहुँ खती गर्न छाडिएको अवस्थामा पुनः गहुँ खेती सुरु हुँदा खुसी लागेको स्थानीय ७९ वर्षीय किसान बलराम तिमिल्सिना बताए। बाँझो जमिनमा गहुँ खेती लगाउन थालिएपछि पुरानो पुस्ता खुसी भएका छन्।