अमेरिकाबाट मात्रै ४ करोडको चामल आयात

पालिका डायरी
२८ कार्तिक २०७८, २०:२२
अमेरिकाबाट मात्रै ४ करोडको चामल आयात

 

काठमाडौं/  नेपालमा कृषि प्रधान देश भनिएपनि वर्षेनी अर्बाैको कृषि सामग्राी आयात हुने गरेको छ । हाम्रो भान्सामा प्रयोग हुने र हामी आफैंले उत्पादन गर्न सक्ने कृषिजन्य उत्पादनमा समेत परनिर्भरता बढ्दो छ । आत्मनिर्भरताको नारा लगाउने हामीले भान्सामा प्रयोग हुने जिरादेखि चामल, मकै, कोदो र धान मात्र होइन, पराल समेत अन्य देशबाट आयात गर्छाै । नेपालीका लागि अन्तर्राष्ट्रिय बजारको दायरा यति फराकिलो भएको छ कि कुनै राजनीतिक, आर्थिक र कुटनीतिक सम्बन्ध नभएका मुलुकबाट समेत अरबौंका चीजवस्तु आयात हुने गरेका छन् ।

असोज मसान्तसम्म भारत ६ अर्ब, अमेरिका ४ करोड र चीनबाट ३५ लाख बढीको चामल आयात भएको छ । नेपालमा फल्ने धानको बीउ भारत, मलेसिया, फिलिपिन्स, बंगलादेश, अमेरिकाबाट ल्याउनुपर्ने बाध्यता छ । असोज मसान्तसम्ममा भारतबाट मात्रै २ करोडको धान बीउ भित्रिएको छ । यस अवधिमा चिउरा भारतबाट ४० करोड ४१ लाखको चिउरा नेपालीको घरघरमा पुगेको छ । हामीले भुटेर खाने मकै दक्षिण अफ्रिका, टर्कि, क्यानाडा, ब्राजिल, अर्जेन्टिना र भारतबाट आउँछ । ४ अर्ब ६५ करोडको मकै भारतबाट मात्रै भित्रिएको छ । त्यसबाहेक दक्षिण अफ्रिका १० करोड, अर्जेन्टिना ५८ करोड, ब्राजिललाई मकै किनेबापत २ करोड रुपैयाँ बुझाएका छौं ।

नेपालीका घर घरमा स्वास्थ्य सजगता अपनाउँदै रोटी खाने चलन बढेको छ । रोटी पकाउने गहुँबापात भारत १८ करोड, जर्मनी ४ करोड ७२, नेदरल्याण्ड डेढ करोड र बेलायतलाई १९ लाख बुझाइएको छ । नेपालमा कोदोको अधिकांश प्रयोग मदिरा उत्पादनमा हुन्छ । त्यही कोदोका लागि भारत र चीनले हामीबाट ३० करोड लगेका छन् । काजकस्तान र भारतबाट २९ करोड खर्चिएर तोरीको बीउ ल्याइएको छ । त्यो तोरीको बीउको उत्पादनले नेपालीको चुलो कति सुरक्षित हुन्छ भन्ने तथ्यांक भेटिदैन ।

पत्याउनुहुन्छ, तीन महिनामा भारतबाट ११ करोड रकमको जौ भित्रिएको छ । ग्वाटेमालाबाट ल्याइएको सुकुमेल खरिदमा १ करोड ४३ लाख खर्च भएको छ । सुकुमेल किन्न भारतलाई ९ करोड बुझाइएको छ । सुप भारत र भियतनामबाट आयात हुने गरेको छ । यस्तै मरिच भारत, ब्राजिल, म्यानमार र भियतनामबाट आयात हुने गरेको छ । केराउ अर्जेन्टिना, ईटाली, भारत, युक्रेन, अष्ट्रेलिया, क्यानाडा लगायका देशबाट नेपाल भित्रिन्छ भने लसुन चीन र भारतबाट भित्रने गरेको छ ।

हरियो तरकारी भारतबाट नेपाल आउँछ । सिमि लेबनानबाट आयात गरिन्छ । भन्सार विभागकै तथ्यांक अनुुसार गोलभेँडा भारत, बंगलादेश, ईन्डोनेसियाबाट आईपुग्छ । सरकारले दूधमा आत्मनिर्भरको दावी गरेपनि विभागको तथ्यांकले दूध अमेरिकाबाट झिकाइएको देखाउँछ । नेपाली बजारमा चल्ने बटरको श्रोत डेनमार्क हो । पाउडर दुध कुवेत, न्युजिल्यान्ड, ओमन, कतार, बहराईन, जापान, अमेरिका लगायतका देशबाट नेपाल भित्रिने गरेको छ । मह भारत, युनाईटेड अरब ईमिरेट््सबाट आयात हु्ने गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा तरकारी, तथा हरियो तरकारी मात्रै १ अर्ब ३८ करोडको आयात भएको छ भने १९ करोडको दुग्धजन्य वस्तु आयात हुँदा १ अर्ब बढीको फलफूल ल्याइएको छ ।

प्रतिक्रिया