मुस्ताङको हिमपहिरोमा भागदौड हुँदा ११ जना घाइते, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

पालिका डायरी
२८ कार्तिक २०७८, २०:०९

 

काठमाडौं/ हिमालपारीको जिल्ला मुस्ताङको थासाङमा भीषण हिमपहिरो गएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार मध्याह्नतिर थासाङ गाउँपालिका धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो ।

हिम पहिरोका कारण थासाङ गाउँपालिकाको वडा नम्बर २ को कोवाङ, लार्जुङ, नाउरिकोट, बोक्सी खोलालगायतमा बसोबास गरेका स्थानीयको भागदौड चलेको थियो । भाग दौडका क्रममा कोवाङमा अवस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय गरी ११ जना घाइते भएका थिए । घाइतेहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

अहिले विद्यार्थी र शिक्षकलगायतलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । यस्तै, हिम पहिरो खसेका कारण बेनी–जोमसोम सडक यातायात समेत अवरुद्ध भएको थियो । हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको छ । केही वर्षअघि सो क्षेत्रमा हिमपहिरो खस्दा थासाङ क्षेत्रमा भौतिक तथा मानवीय क्षति भएको थियो ।

खर्कको चरनक्षेत्रमा रहेका ठूलो संख्यामा याक, चौरी समेत मरेका थिए ।

प्रतिक्रिया