‘आयात बढेसँगै हुन्डी पनि फस्टायो’
काठमाडौँ / बढ्दो आयातसँगै अनौपचारिक रूपमा पैसा ओसारपसार गर्ने हुन्डीलगायत माध्यम फस्टाएको बैंकरहरूले बताएका छन् । यी माध्यममार्फत पैसा बाहिरिएकाले वित्तीय प्रणालीमा निक्षेप घटिरहेको उनीहरूको भनाइ छ । वित्तीय प्रणालीमा तरलता समस्या र समाधानका उपाय सम्बन्धमा शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको छलफलमा बैंकरहरूले यस्तो दाबी गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप घटिरहेको कारणबारे खोतल्दा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले हुन्डीमार्फत पैसा मुलुकबाट बाहिरिएको बताएका हुन् । ‘आयात बढ्दा न्यून बीजकीकरणमार्फत सामान आयात गर्ने क्रम बढेको र तीमध्ये धेरैजसो सामग्रीको भुक्तानी हुन्डीमार्फत हुने गरेको देखिन्छ,’ छलफलमा सहभागी एक प्रमुख कार्यकारी अधिकृतले भने, ‘यसरी धेरै पैसा (पुँजी) बाहिरिएको सुन्नमा आएको छ ।’
नेपालमा यस्तो प्रवृत्ति नयाँ नभई वर्षौंदेखि चल्दै आएकाले त्यसलाई तत्काल रोक्न नसके नियन्त्रणको प्रयास थाल्नुपर्ने ती अधिकारीको भनाइ छ । ‘अहिले हरेक दिन बैंकमा निक्षेप घट्नुको कारण यही हो,’ ती अधिकारीले थपे, ‘नत्र निक्षेप घट्नुपर्ने कुनै कारण छैन ।’ राजस्व छल्नका लागि व्यापारीले सामानको मूल्य कम देखाउने र बाँकी पैसा हुन्डीमार्फत पठाउने क्रमले निषेधाज्ञापछि तीव्रता पाएको ती अधिकारीको दाबी छ । ‘सरकारले नीतिगत व्यवस्थामार्फत त्यस्ता गतिविधि नियन्त्रण गर्नुपर्छ,’ उनले भने ।
आयातलगायत बाह्य क्षेत्र खुला हुँदा नेपालमा हुन्डीलगायत पैसा पठाउने अनौपचारिक माध्यम सक्रिय हुनु स्वाभाविक भएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । विदेश जाँदा मानिसले साथमा लैजान पाउने विदेशी मुद्राले उनीहरूको आवश्यकता पूरा गर्न नसक्ने वा आफूले लान चाहेको रकम लैजान कानुनले नदिने भएकाले यस्ता गतिविधि बढ्दै गएको उनको भनाइ छ ।
‘नेपालको संरचना नै त्यस्तै छ, बाह्य क्षेत्रसँगको सम्बन्ध बढेसँगै यस्ता गतिविधि बढिहाल्छन्,’ थापाले भने, ‘खासगरी अध्ययन, भ्रमण, न्यून बीजकीकरण, बहुमूल्य धातुको गैरकानुनी ओसारपसारलगायतमा हुन्डीको प्रयोग बढेको देखिन्छ ।’ यस्ता गतिविधि तत्कालै रोक्न अप्ठ्यारो हुने भएकाले चरणबद्ध रूपमा सुधार गर्दै जानुपर्ने उनको सुझाव थियो । नेपालको पुँजीगत खाता पूर्ण परिवर्त्य नभएको अवस्थामा यस्ता गतिविधि धेरै हुने उनले बताए ।
पछिल्ला सातामा बैंक तथा वित्तीय संस्थामा निक्षेप घटिरहनु, निषेधाज्ञा खुलेपछि पनि रेमिट्यान्स आप्रवाहमा कमी आउनुलगायत तथ्यले पनि हुन्डीमार्फत पुँजी पलायन भएको पुष्टि हुने जानकारहरूको भनाइ छ ।
रेमिट्यान्स पाउने (नेपाल) र पठाउने (विदेशी राष्ट्र) देशमा निषेधाज्ञा हुँदाको महिनाको तुलनामा निषेधाज्ञा खुलेका महिनामा रेमिट्यान्स घट्ने गरेको राष्ट्र बैंकका प्रतिवेदनहरूले पनि देखाएका छन् ।
निषेधाज्ञा खुलेको समयमा केही रेमिट्यान्स कम्पनीहरूले विदेशमा संकलन गरेको विदेशी मुद्रा नेपालमा नल्याएर उतै राख्ने गरेको पनि राष्ट्र बैंकले भेटाएको छ । मानिस आउने क्रम बढेकाले सुनलगायत जिन्सी ल्याउने क्रम बढेको, हुन्डीमार्फत पैसा आउन थालेकोलगायत कारण बैंकिङ प्रणालीबाट आउने रेमिट्यान्स घटेको जानकारहरूको भनाइ छ ।
बैंकरहरूले अर्थमन्त्री शर्मासँग रोजगारीका लागि विदेश जाने कामदारले अनिवार्य रूपमा बैंक खातामार्फत पैसा पठाउने व्यवस्था गर्न पनि माग गरेका छन् । उक्त व्यवस्था अनिवार्य नभएकाले धेरै राष्ट्रबाट नेपालीहरूले हुन्डीमार्फत रेमिट्यान्स पठाउने गरेको तथ्यका आधारमा बैंकरहरूले यस्तो सुझाएका हुन् ।
राष्ट्र बैंकले सार्वजनिक गर्ने मासिक तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह र सुनको आयातबीच प्रत्यक्ष सम्बन्ध देखिन्छ । अवैध रूपमा धेरै सुन भित्रिएका दिनमा रेमिट्यान्स आप्रवाह घट्ने र यस्ता घटनामा कमी आएका बेला रेमिट्यान्स आप्रवाहमा सुधार हुने गरेको पाइन्छ ।
गत जेठ र साउनमा औसतभन्दा कम रेमिट्यान्स भित्रियो । त्यसअघि निषेधाज्ञाका बेला भने रेमिट्यान्स बढेको थियो । हुन्डी कारोबारीको व्यापकता र सुनलगायत बहुमूल्य धातुको अवैध कारोबारको असर रेमिट्यान्समा पर्न थालेको राष्ट्र बैंककै अधिकारीहरूकै विश्लेषण छ ।
अवैध रूपमा सुनको कारोबार बढ्न थालेपछि रेमिट्यान्स आप्रवाह घट्ने राष्ट्र बैंकका एक अधिकारीले बताए । ‘सुनको अवैध कारोबार बढ्नु मात्रै रेमिट्यान्स घट्नुको कारण त होइन, एक महत्त्वपूर्ण कारण भने हो,’ ती अधिकारीले भने । रोजगारीका लागि विदेश गएका नेपालीले घर फर्किंदा सुनलगायत बहुमूल्य जिन्सी पनि साथै लिएर आउने र उक्त सुनको अवैध कारोबार हुँदै आएको जानकारहरू बताउँछन् । यो पनि रेमिट्यान्स घट्ने कारण भएको उनीहरूको भनाइ छ । ‘केही हदसम्म सुनको अवैध कारोबार भएको पनि सुन्न पाइन्छ,’ ती अधिकारीले भने, ‘यसको अर्थ सुनको अवैध कारोबार र रेमिट्यान्स आप्रवाहको उल्टो सम्बन्ध देखिन्छ ।’